रुकुम पूर्वको तसेरामा खुला फुटबल प्रतियोगिता हुने भएको छ । गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते देखि पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १० को तकसेरामा मगर युनिटी खुला फुटबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा देशभरका फुटबल खेलाडीहरूले भाग लिन पाउने आयोजक मगर युनिटी क्लबले जनाएको छ । महिला र पुरुष तर्फ प्रतिस्पर्धा हुने छ । पुरुष तर्फको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उप विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका किस्मत घर्ती मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार सेमिफाइनलमा पुग्ने २ टोलीले समान १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । महिला तर्फको विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउँदा उप विजेताले २५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने उहाँले बताउनुभयो । सेमिफाइनलका २ टिमले समान १० हजार पुरस्कार पाउने उहाँको भनाई छ ।
व्यक्तिगत इभेन्टमा खेलाडी समेत पुरस्कृत गरिने आयोजकको भनाई छ । उत्कृष्ट खेलाडीले ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्दा टप स्कोरर, वेस्ट गोलकिपर र इमर्जिङ प्लेयरले जनही २ हजार ५ सय नगद, ट्रफि, मेडल र प्रमाण पत्र पाउने आयोजक समितिका सञ्जय बुढा मगरले जानकारी गराउनुभयो ।
महिला तर्फ दर्ता शुल्क ५ हजार ५ सय र पुरुष तर्फ ११ हजार तोकिएको छ । जिल्लाको फुटबल विकासका लागि टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । जिल्लामा फुटबलको क्रेज भए पनि पर्याप्त मात्रामा प्रतियोगिताहरू नहुँदा खेलाडी उत्पादनमा समस्या छ भने भएका खेलाडीहरू पनि निराश छन् ।






-1759842583.jpg)