Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम प्रधानमन्त्री कप भलिबलको फाइनलमा 

रुकुम पश्चिम काठमाडौँमा जारी १० औँ संस्करणको प्रधानमन्त्री कप भलिबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै रुकुम पश्चिमले फाइनलको यात्रा तय गरेको हो । 

रुकुम पश्चिम ३¬–१ को सेटमा विजयी भयो । पहिलो सेट २२–२५ र ३०–२८ ले रुकुम पश्चिमले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट भने २५–१६ ले आफ्नो पक्षमा पार्दै नेपाल पुलिसले खेलमा फर्किने संकेत गरेको थियो । तर चौथो सेटमा रुकुम पश्चिम २५–१६ को सहज अवस्थामा विजयी हुँदै फाइनल पुगेको हो । 

फाइनलमा रुकुम पश्चिमले टिप टप हेल्प नेपालसंग प्रतिस्पर्धा गर्ने छ । टिप टप हेल्प नेपाल अपराजित रहँदै अङ्क तालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो भने टिप टप हेल्प नेपालसँगै लिग चरणको खेल गुमाएको रुकुम पश्चिम अङ्क तालिकाको दोस्रो स्थानमा रहेर फाइनल पुग्न सफल भएको हो । 

भोली हुने फाइनल प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ । दुवै टिममा ३–३ जना पाकिस्तानी खेलाडी रहेका छन् । त्यस्तै स्वदेशी खेलाडी पनि सन्तुलित छन् । जसका कारण फाइनल कडा हुने भलिबल प्रेमीहरूको विश्वास छ । 

गत पुसमा भएको नवौँ एनभिए कपमा पनि उपाधिको लक्ष सहित सहभागी बनेको रुकुम पश्चिम सेमिफाइनलमा रोकिएको थियो । तर यस पटक भने फाइनल पुग्ने सपना साकार भएको छ भने उपाधि जित्न मात्र एक कदम पछाडि रहेको छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले प्रतियोगितामा भाग लिएको हो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update