Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रधानमन्त्री कप विजेता रुकुम पश्चिमबाट खेलेका पाकिस्तानी खेलाडी स्वदेश फिर्ता

काठमाडौँमा सम्पन्न दशौँ प्रधानमन्त्री कप भलिबलको विजेता रुकुम पश्चिमबाट खेलेका पाकिस्तानी खेलाडी स्वदेश फर्किएका छन् । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले तीन जना पाकिस्तानी खेलाडीलाई टोलीमा अनुबन्ध गरेको थियो । 

रुकुम पश्चिमबाट खेलेका अफाक खान, फहद राजा र अदनान खान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएको रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष एवं प्रशिक्षक तेज बुढाले जानकारी दिनुभयो । 

उक्त टोलीलाई विमानस्थलमै पुगेर रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले धन्यवाद ज्ञापन गर्दै दोसल्लाले बिदाइ गरेको हो । प्रशिक्षक बुढा, व्यवस्थापक यमन बाँठा लगायत रुकुम पश्चिमको टिमले उनीहरूलाई बिदाइ गरेको हो ।  त्यसअघि रुकुम पश्चिमका प्रतिनिधि सभा सदस्य गाेपाल शर्मा अनलले समेत खेलाडीस‌ँग भेट गर्दै बिदाइ गर्नुभएको थियो ।

स्वदेश फर्किने क्रममा तीनै जना पाकिस्तानी खेलाडीले नेपालमा आएर खेल्न पाउँदा र च्याम्पियन बन्दा निकै खुसी लागेको भन्दै सुखद अनुभव सहित स्वदेश फिर्ता हुन लागेको बताएका थिए । उनीहरूले नेपालमा पाएको सत्कार र सम्मान तथा यस प्रतियोगितामा हासिल गरेको सफलतालाई सम्झिरहने बताएको प्रशिक्षक बुढाले जानकारी गराउनुभयो । 

उनीहरू तीनै जना खुसी साथ बिदाइ भएर गएको उहाँको भनाई रहेको छ । तीन जना पाकिस्तानी खेलाडी सहित मैदान उत्रिएको रुकुम पश्चिमले वैशाख १९ गते भएको फाइनलमा यस प्रतियोगिताको सबैभन्दा सफल टिम टिप टप हेल्प नेपाललाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेर इतिहास कायम गरेको थियो । 

यो सँगै रुकुम पश्चिम काभा अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपका लागि समेत छनोट भएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update