रुकुम पश्चिमको १६ औँ राष्ट्रपति रनिङ शिल्डमा भलिबल तर्फ छात्र, छात्रा दुवैमा आठबिसकोट नगरपालिका प्रथम भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ३ को धैरेनीचौर खेल मैदानमा भएको खेलमा छात्र, छात्रा दुवै तर्फ आठबिसकोट नगरपालिका प्रथम भएको हो ।
उसले छात्र तर्फ आइतबार भएको फाइनलमा बाँफिकोट गाउँपालिकालाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्यो । फाइनलमा पराजित बाँफिकोट गाउँपालिका दोस्रो बन्दा चौरजहारी नगरपालिका तेस्रो भयो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा उसले सानीभेरी गाउँपालिकालाई पराजित गरेको भलिबल रेफ्रि तेज बुढाले जानकारी दिनुभयो ।
छात्रा तर्फ आठबिसकोट नगरपालिकाले बाँफिकोट गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्यो । बाँफिकोट गाउँपालिका छात्रा तर्फ पनि दोस्रो बन्दा सानीभेरी गाउँपालिका तेस्रो बन्यो । उसले मुसिकोट नगरपालिकालाई पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको बुढाको भनाई छ ।
भलिबलमा जिल्लाका ६ वटै पालिकाको सहभागिता रहेको थियाे । यसैबिच शिल्ड अन्तर्गत विभिन्न विधामा प्रतिस्पर्धा भइरहेको आयोजक सामाजिक विकास कार्यालयका प्रशासकीय अधिकृत ध्रुवकुमार बाँठाले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य इभेन्टका खेल सकिएको र अब कबड्डी मात्र बाँकी रहेको छ ।
शुक्रवारबाट सुरु भएको शिल्ड आइतबार नै सकिने उहाँले बताउनुभयो ।







-1759842583.jpg)