रुकुम पश्चिमको १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड आठबिसकोट नगरपालिकाले जितेको छ । मुसिकोट नगरपालिका वडा नम्बर ३ को धैरेनीचौर खेल मैदानमा भएको शिल्ड आठबिसकोट नगरपालिकाले जितेको हो । गत संस्करणको शिल्ड मुसिकोट नगरपालिकाले जितेको थियो भने यस पटक मुसिकोटमै आयोजना भएको शिल्डमा १६ स्वर्ण पदक सहित आठबिसकोटले कब्जा जमाएको हो ।
आठबिसकोटले १६ स्वर्ण, १५ रजत र १७ कांस्य गरी कुल ४८ पदक जितेको आयोजक सामाजिक विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ । गत संस्करणको विजेता मुसिकोट नगरपालिका भने यस पटक दोस्रो स्थानमा खुम्चियो । उसले १२ स्वर्ण, १४ रजत र ९ कांस्य सहित ३५ पदक प्राप्त गरेको कार्यालयका प्रशासकीय अधिकृत ध्रुवकुमार बाँठाले जानकारी दिनुभयो ।
कुल २९ पदक जितेको त्रिवेणी गाउँपालिका तेस्रो भयो । उसले ९ स्वर्ण, ५ रजत र १५ कांस्य पदक प्राप्त गरेको बाँठाको भनाई छ । शिल्डमा सानीभेरी गाउँपालिका चौथो, बाँफिकोट गाउँपालिका पाँचौँ र चौरजहारी नगरपालिका छैटौँ भए । सानीभेरीले ८ स्वर्ण, ७ रजत र ११ कांस्य सहित २६ पदक, बाँफिकोटले ५ स्वर्ण, ४ रजत र ३ कांस्य गरी १२ पदक र चौरजहारीले ४ स्वर्ण, ९ रजत र ९ कांस्य गरी समग्रमा २२ पदक प्राप्त गरेको प्रशासकीय अधिकृत बाँठाले जानकारी गराउनुभयो ।
५४ स्वर्ण, ५४ रजत र ६४ कांस्य गरी कुल १ सय ७२ पदकका लागि प्रतिस्पर्धा भएको थियो । मुसिकोट नगरपालिकाको समन्वय र सामाजिक विकास कार्यालयको आयोजनामा शुक्रवारबाट सुरु भएको शिल्डमा शिल्डमा छात्र छात्रा भलिबल, कबड्डी, सट फुट, ज्याभलिङ थ्रो, त्रिपलजम्प, हाइजम्प, लङजम्प, १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटर दौड तथा विभिन्न दुरीको रिले दौड र मार्सलआर्ट तर्फ तेक्वान्दो र करातेका विभिन्न विधामा विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । शिल्डमा जिल्लाका ६ वटै पालिकाका ५ सय बढी विद्यार्थी खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।








-1759842583.jpg)