राजधानी काठमाडौँमा वैशाख १० गतेबाट १९ गतेसम्म सञ्चालन भएको १० औँ प्रधानमन्त्री कप भलिबलमा पुरुष तर्फको विजेता रुकुम पश्चिमले खर्च विवरण सार्वजनिक गरेको छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले आज उक्त प्रतियोगितामा सहभागी हुँदा भएको खर्चको विवरण सार्वजनिक गरेको हो । उक्त प्रतियोगितामा रुकुम पश्चिम टिमको खर्च झन्डै ३२ लाख देखिएको छ ।
रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अनुसार प्रतियोगितामा सहभागिताका लागि टिमको खर्च ३१ लाख ८७ हजार ७ सय ८० रुपैयाँ आएको छ । खेलाडी पारिश्रमिक, खाना तथा बस्न, खेल पोसाक लगायत गरी सम्पूर्ण खर्च यति रहेको रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तथा प्रशिक्षक तेजविक्रम बुढाले जानकारी दिनुभयो ।
सबैभन्दा बढी खर्च विदेशी खेलाडीका लागि भएको छ । केन्द्रले दिएको जानकारी अनुसार विदेशी खेलाडी हवाई भाडामा ७ लाख, विदेशी खेलाडीको पारिश्रमिक ६ लाख, विदेशी खेलाडीको होटेल खर्च ४ लाख, सपिङमा १ लाख गरी १८ लाख खर्च भएको छ ।
कुल खर्च मध्ये १३ लाख ५६ हजार ७ सय ८० रुपैयाँ तिर्न बाँकी रहेको अध्यक्ष बुढाले जानकारी गराउनुभयो । प्रतियोगितामा सहभागी हुनका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट १० लाख ८१ हजार सहयोग संकलन भएको छ । त्यस्तै पुरस्कार बापत कर कट्टी भएर ७ लाख ५० हजार प्राप्त भएको अध्यक्ष बुढाले बताउनुभयो ।
संकलित सहयोग र पुरस्कारबाट सम्पूर्ण खर्च व्यवस्थापन गर्न सम्भव नभएकोले केन्द्रलाई यस प्रतियोगिताबाट साढे १३ लाख ऋण थपिएको उहाँको भनाई छ । तीन जना पाकिस्तानी खेलाडी अफाक खान, अदनान खान र फहद राजा सम्मिलित रुकुम पश्चिमले प्रधानमन्त्री कपको सर्वाधिक सफल टिम टिपटप हेल्प नेपाललाई पराजित गर्दै ऐतिहासिक उपाधि हात पार्न सफल भएको थियो ।
साथै रुकुम पश्चिम यसै वर्ष उज्बेकिस्तानमा हुने काभा क्लब भलिबल च्याम्पियनसिपका लागि छनोट समेत भएको छ ।






-1759842583.jpg)