Kakhara सबैको खबर सम्पूर्ण खबर
जथाभाबी टाँगिएका खानेपानीका पाइप हटाउन मुसिकोट १ को निर्देशन

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ ले खानेपानीका पाइप व्यवस्थापनका लागि वडावासीलाई अनुरोध गरेको छ । बिहिबार एक सूचना जारी गर्दै वडाले खानेपानीका पाइप व्यवस्थित रूपमा राख्न र अव्यवस्थित पाइप हटाउन वडावासीलाई अनुरोध गरेको छ । 

वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जारी गरेको सूचनामा वडाका विभिन्न ठाउँमा अव्यवस्थित रूपमा खानेपानीका पाइप राखिएका कारण विद्युत् लाइन विस्तारमा समस्या भइरहेको भन्दै यसले वडा कार्यालयकाे गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । 

वडाले विद्युत्को लाइन तथा अन्य विद्युतीय संरचना भन्दा माथिबाट खानेपानीका पाइप राखिएकोले विद्युतीय जोखिम रहेको बताएको छ । त्यस्तै बिद्युत् लाइन बिस्तारमा समेत यसले समस्या पारिरहेको भन्दै वडाले यस्ता पाइप आजको मितिबाट ७ दिनभित्र हटाई व्यवस्थापन गर्न भनेको छ । 

खलङ्गा बजार क्षेत्र लगायत विभिन्न स्थानहरूमा व्यक्तिगत तथा संस्थागत रूपमा जथाभाबी बिछ्याएका खानेपानी पाइप लाइनहरूका कारण नेपाल विद्युत् प्राधिकरणबाट वितरित विद्युत् लाइन तथा विद्युत् संरचना माथिबाट खानेपानी पाइप रही अवरोध सिर्जना हुनुका साथै विद्युतीय दुर्घटनाको जोखिम समेत बढेको पाइएकोले यस तर्फ वडा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ, वडाले भनेको छ । 

वडा क्षेत्र भित्र विद्युत् लाइन विस्तारमा अवरोध पुग्ने गरी जडान गरिएका व्यक्तिगत तथा संस्थागत खानेपानीका पाइप लाइनहरू सूचना जारी भएको मितिले ७ दिन भित्र सम्बन्धित व्यक्ति वा संस्थाले हटाइ वा व्यवस्थित गरी विद्युत् लाइनमा कुनै पनि किसिमको अवरोध नहुने अवस्था सुनिश्चित गर्न वडाले आग्रह गरेको छ । 

तोकिएको समयावधि भित्र उक्त पाइप लाइनहरू नहटाइए वा व्यवस्थित नगरे प्रचलित कानुन बमोजिम कानुनी कारबाही अगाडि बढाइने वडाध्यक्ष चन्दले जारी गरेको सूचना मार्फत चेतावनी समेत दिइएको छ । विशेष गरी खलङ्गा बजारमा जथाभाबी खानेपानीको पाइप टाँगिएका कारण समस्या भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update