Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट २ ले महिला स्वास्थ्य स्वयं सेविकालाई मासिक रिचार्ज खर्च दिने

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले भोली साउन १ गतेबाट लागु हुने गरी महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मासिक रिचार्ज खर्चको व्यवस्था गरेको छ । वडाले वडामा कार्यरत सबै महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई मासिक ४ सयका दरले रिजार्च कार्डको व्यवस्था गरेको हो ।

वडाध्यक्ष प्रकाश खत्रीका अनुसार वडामा रहेका ७ जना महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई प्रतिव्यक्ति मासिक ४ सयका दरले रिचार्ज खर्चको व्यवस्था गरिएको छ । यसका लागि वडाको समपूरक कोषबाट १ वर्षका लागि ३३ हजार ६ सय रुपैयाँको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

यस कार्यले महिला स्वास्थ्य स्वयं सेविकालाई थप प्रोत्साहन हुने वडाले विश्वास लिएको छ । रकम सानो भएपनि यसले सरकारको दायित्व बोध हुने उहाँको भनाई छ । एक दमै सानो सेवा सुविधामा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई थप राम्रोसंग काम गर्न यस कार्यक्रमले प्रोत्साहन गर्ने वडाको विश्वास छ ।

रिचार्ज खर्चको समेत समस्यामा महिला स्वास्थ्य स्वयंसेविकाहरुको काममा पर्न सक्ने असहज अवस्थालाई मध्यनजर गर्दै यस्तो कार्यक्रम बनाइएको वडाध्यक्ष खत्रीले बताउनुभयो । अब महिला स्वास्थ्य स्वयंसेविकाहरुले रिचार्ज खर्चको समस्या भोग्नु नपर्ने विश्वास गरिएको छ ।

यस वडाले भोली देखि नै लागु हुने गरी बच्चा जन्मिएको ३५ दिन भित्र जन्मदर्ता गरेमा एक क्यारेट अन्डा र एक लिटर तेल निःशुल्क दिने कार्यक्रम ल्याएको छ । यसले आमा र नवजात शिशुको स्वास्थ्य अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update