मुसिकोट १० मा मानसिक स्वास्थ्य र आँखा शिविरबाट ५७ जना लाभान्वित

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १० चुनमा एकदिने निःशुल्क मानसिक स्वास्थ्य तथा आँखा उपचार शिविर र क्लिनिकल सुपरभिजन कार्यक्रम सम्पन्न भएको छ । शिविरबाट ५७ जना लाभान्वित भएका छन् । सीएमसी नेपालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा २६ जनाले मानसिक स्वास्थ्य परीक्षण गराएका थिए ।

परीक्षणपछि २४ जनालाई निःशुल्क मानसिक स्वास्थ्यसम्बन्धी औषधि उपलब्ध गराइएको  वडा अध्यक्ष धनबहादुर खड्का `बसन्त´ ले जानकारी दिनुभयो  । उहाँका अनुसार आँखा उपचार केन्द्र सल्लेको प्राविधिकमा सहयोगमा ३१ जनाको आँखा परीक्षण गरिएको छ । परीक्षणका क्रममा १९ जनालाई निःशुल्क चस्मा र २६ जनालाई औषधि उपलब्ध गराइएको छ ।  आँखा परीक्षणका क्रममा ७ जनामा मोतीबिन्दुको समस्या देखिएकालाई आगामी मंसिर ८ गते आँखा उपचार केन्द्र सल्लेमा सञ्चालन हुने आँखा उपचार शिविरमा शल्यक्रिया गराउन सुझाव दिइएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख  प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो । 

शिविरमा कर्णाली प्रदेश अस्पताल, सुर्खेतका मानसिक रोग विशेषज्ञ डा.विवेक रेग्मी, मनोविज्ञ दीपक शर्मा, मनोविज्ञ तथा सीएमसी नेपालकी परियोजना संयोजक जागृति थापा र मनोरोग उपचारसम्बन्धी नर्ससहितको टोलीले मानसिक स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेको थियो।

शिविर सफल बनाउन सहयोग गर्ने मुसिकोट नगरपालिकाको स्वास्थ्य शाखा, सीएमसी नेपाल, आँखा उपचार केन्द्र सल्ले तथा सामी परियोजना मुसिकोटप्रति  वडा कार्यालयले आभार व्यक्त गरेको छ। स्थानीय नागरिकलाई मानसिक स्वास्थ्य तथा आँखासम्बन्धी समस्या पहिचान, उपचार र आवश्यक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update