Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट २ मा ३५ दिनभित्र जन्म दर्ता गरे अन्डा र तेल पाइने 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ ले बच्चाको पोषणमा जोड दिएको छ । वडाले साउन १ गते देखि ३५ दिन भित्र जन्म दर्ता गरे अन्डा र तेल निःशुल्क दिने भएको छ । 

सुत्केरी आमा र बच्चाको पोषणमा टेवा पुगोस् भन्ने उद्देश्यले वडाले बच्चा जन्मिएको ३५ दिन भित्र जन्म दर्ता गरेमा समपूरक कोषबाट ३० वटा अर्थात् एक क्यारेट अण्डा र एक लिटर खाने तेल निःशुल्क उपलब्ध गराउने कार्यक्रम बनाएको वडाध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो । 

यो कार्यक्रम साउन १ गते देखि सुरु हुने उहाँले बताउनुभयो । यस कार्यक्रमका लागि वडाले ८५ हजार बजेट विनियोजन गरेको उहाँको भनाई छ । उहाँले वडावासीलाई बच्चा जन्मिएको ३५ दिन भित्र निःशुल्क जन्म दर्ता गरेर वडाले व्यवस्था गरेको सेवा लिन आग्रह गर्नुभएको छ । 

यो कार्यक्रमले आमा तथा नवजात शिशु दुवैको पोषणमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पोषणको अभावमा आमामा स्वास्थ्य समस्या आउन सक्ने र बच्चामा पति कुपोषणको जोखिम रहेको अवस्थामा यसलाई वडाको तर्फबाट केही हदसम्म रोक्न यस्तो कार्यक्रम बनाइएको वडाध्यक्ष खत्रीले बताउनुभयो । 

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update