Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा आयोजित टी–१० क्रिकेट मुसिकोट वारियर्सले जित्यो 

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा आयोजित टी–१० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता आयोजक मुसिकोट वारियर्सले जितेको छ । आज भएको फाइनलमा सानीभेरी गाउँपालिकाको सिम्लीलाई २ विकेटले पराजित गर्दै मुसिकोट विजेता बनेको हो । 

टस हारेर पहिला ब्याटिङमा उत्रिएको सिम्लीले ५९ रन बनाएको थियो । ६० रनको लक्ष सहित जवाफी ब्याटिङमा उत्रिएको मुसिकोटले ४ बल बाँकी छँदै लक्ष पूरा गरेको हो । आफ्नो टोलीलाई विजेता बनाउन निर्णायक भूमिका खेलेका मुसिकोट वारियर्सका नवीन अधिकारी प्लेयर अफ द म्याच बने । 

विजेता मुसिकोटले १० हजार नगद र ट्रफि हात पारेको छ भने उप विजेता सिम्लीले नगद पाँच हजार र ट्रफि हात पारेको छ । त्यस्तै खेलाडीहरुले मेडल समेत प्राप्त गरेको आयोजक मुसिकोट वारियर्सका टिम क्याप्टेन दिलीप केसीले जानकारी गराउनुभयो । उहाँका अनुसार व्यक्तिगत इभेन्टमा पनि खेलाडीलाई पुरस्कृत गरिएको छ । 

ricket-(2)-1788004022.jpeg
प्लेयर अफ द टुर्नामेन्ट मुसिकोट वारियर्सका नवीन अधिकारी बने । उनले नगद २ हजार ५ सय, ट्रफि र मेडल प्राप्त गरे । त्यस्तै सानीभेरीका पिटर वेस्ट व्याट्सम्यान र मुसिकोटका कुलप्रसाद ओली वेष्ट बलर बनेको केसीले जानकारी गराउनुभयो । दुवै जनाले १५/१५ सय नगद र मेडल प्राप्त गरेको उहाँको भनाई छ । 

मुसिकोट खलंगाको बराहटाकुरामा आयोजित प्रतियोगितामा विभिन्न ठाउँका ८ ओटा टोलीले प्रतिस्पर्धा गरेका थिए । आयोजकका अनुसार बाढी पीडितको सहयोगका लागि प्रतियोगिता आयोजना गरिएको हो । भोटेकोसी बाढीबाट प्रभावितहरूका लागि सहयोग गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको केसीले बताउनुभयो । 

विजेता र उपविजेता दुवै टिमले पुरस्कारबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने उहाँको भनाई छ । विपद्को घडीमा सानो भए पनि सहयोग गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको र यस कार्यक्रमबाट थोरै भए पनि उक्त कोषमा सहयोग प्रदान हुने उहाँले बताउनुभयो । 

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update