Kakhara सबैको खबर सम्पूर्ण खबर
द लेजेन्ड कप दोस्रो संस्करणको उपाधि रुकुम राइजिङ वारियर्सलाई

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा मुसिकोट सोसल एन्ड कल्चर डेभलपमेन्ट सोसाइटीले आयोजना द लेजेन्ड कप फुटबलको दोस्रो संस्करणको उपाधि रुकुम राइजिङ वारियर्सले जितेको छ । खलङ्गास्थित बराहटाकुरा खेल मैदानमा आज भएको फाइनलमा राटामाटा एफसीलाई पराजित गर्दै वारियर्सले उपाधि जितेको हो । 

रुकुम राइजिङ वारियर्स पेनाल्टी सुट आउटमा ७–६ गोलको अन्तरले विजयी भएको हो । नियमित समयमा दुवै टिमबाट १–१ गोल भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । खेलमा अग्रता भने रातामाटा एफसीले लिएको थियो । उसले खेलको सुरुवातमै लिएको अग्रता जोगाउन सकेन । पहिलो हाफ मै रुकुम राइजिङ वारियर्सले बराबरी गोल फर्काएको थियो । 

दोस्रो हाफमा दुवै टिमले गोल गर्ने राम्रा अवसरहरू सिर्जना गरे पनि गोल हुन सकेन । ३२ टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगिताको विजेता बनेको रुकुम राइजिङ वारियर्सले नगद एक लाख ५० हजार, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता रातामाटा एफसीले भने ७० हजार नगद, कप, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । 

त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई व्यक्तिगत इभेन्टमा पुरस्कृत गरिएको आयोजक मुसिकोट सोसल एन्ड कल्चर डेभलपमेन्ट सोसाइटीले जनाएको छ । वान गोल, वान ट्रि अर्थात् एक गोल बराबर एक रुख रोप्ने उद्देश्य सहित दसैँको अवसरमा प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ । 

जिल्लाको फुटबल विकासका लागि यो प्रतियोगिताले महत्त्वपूर्ण टेवा पुर्याउने आयोजकले विश्वास लिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update