Kakhara सबैको खबर सम्पूर्ण खबर
चन्द्र सूर्य युवा समूहको प्रथम वार्षिकोत्सव तथा खेलकुद प्रतियोगिता सुरु

रोल्पाको परिवर्तन गाउँपालिका–४, जरेनीमा चन्द्र सूर्य युवा समूहको प्रथम वार्षिकोत्सव तथा खेलकुद मेला सुरु भएको छ। ‘खेलकुदको जोस, कला संस्कृतिमा गर्व, वातावरण जोगाउने जिम्मेवारीका साथ मनाऔँ यो भव्य पर्व’ भन्ने मूल नाराका साथ शुक्रबारदेखि  सुरु भएको हो । मेलाको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढामगरले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बुढामगरले युवाहरू समाज रूपान्तरणका संवाहक भएको बताउनुभयो ।

खेलकुद, कला–संस्कृतिको संरक्षण र वातावरण जोगाउने उद्देश्यसहित अघि बढेको युवा समूहको प्रशंसा गर्दै युवाहरूका सकारात्मक तथा रचनात्मक गतिविधिमा स्थानीय सरकारको साथ रहने प्रतिबद्धता समेत  व्यक्त गर्नुभयो । खेलकुद तथा सांस्कृतिक प्रतियोगिता रहेको मेला आगामी कात्तिक १ गतेसम्म सञ्चालन हुने क्लबका सचिव शिरीष ओलीले जानकारी दिनुभयो । मेलामा विभिन्न खेलकुद प्रतियोगिताका साथै स्थानीय कलाकारहरूका सांस्कृतिक प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ ।

चन्द्र सूर्य युवा समूहका अध्यक्ष कमलप्रकाश बिष्टको अध्यक्षतामा भएको  उद्घाटन कार्यक्रममा परिवर्तन गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष मानसिंह बुढामगरको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै, वडा सदस्यहरू खडकबहादुर ओली,  दिलसरी घर्ती, नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाका सभापति कुलबहादुर घर्ती, नेकपा एमालेका गाउँपालिका इन्चार्ज देवप्रकाश ओली, नेपाल कम्युनिष्ट पार्टीका गाउँपालिका उपाध्यक्ष देवबहादुर बुढामगर तथा इलाका प्रहरी कार्यालय पाछाबाङका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक नरसिंह खत्रीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रमको सञ्चालन क्लबका कानुनी सल्लाहकार आकाश ओलीले गर्नुभएको थियो।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update