Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णाली प्रदेश तेक्वान्दो छनोटमा रुकुम पश्चिमलाई ६ स्वर्ण

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशको जुम्लामा सम्पन्न प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगितामा रुकुम पश्चिम जिल्लाले ६ स्वर्ण पदक जित्न सफल भएको छ ।

प्रतियोगितामा रुकुम पश्चिमबाट सहभागी खेलाडीहरूले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हासिल गरेका हुन् ।

स्वर्ण पदक विजेता खेलाडीहरूमा ५४ केजी तौल समूहमा लालबहादुर परियार, ५८ केजी तौल समूहमा कमल खड्का र ८७ केजी तौल समूहमा खडक विक रहेका छन् । 

त्यसैगरी, सिंगल पुम्सेमा रमेश गुरुङ, पियर पुम्सेमा रमेश गुरुङ र सन्ध्या गौतम तथा महिला ग्रुप पुम्सेमा रेजिना पुन मगर, शोभा थापा मगर र दीपा चनारा स्वर्ण पदक विजेता बनेका छन् ।

समग्र पदक तालिकामा सात स्वर्ण पदकसहित सुर्खेत जिल्ला प्रथम भएको छ भने ६ स्वर्ण पदकसहित रुकुम पश्चिम दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

रुकुम पश्चिमका खेलाडीहरूले हासिल गरेको यस सफलताले जिल्लाको खेलकुद क्षेत्रलाई थप उत्साहित बनाएको जिल्ला तेक्वान्दो संघका पूर्व जिल्ला अध्यक्ष तथा प्रशिक्षक भद्रबहादुर खड्काले बताउनुभयो । 

रुकुम पश्चिमले तेक्वान्दोमा प्राप्त गरेको यो सफलता जिल्लावासीका लागि गौरवको विषय भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, असोज ३१, २०८३  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update