Kakhara सबैको खबर सम्पूर्ण खबर
समाज रूपान्तरण युवा समूहको दशैं विशेष कार्यक्रम सम्पन्न

समाज रूपान्तरण युवा समूह मुसिकोट नगरपालिका  ९ लिङुर रुकुम पश्चिमको पाँचौँ वार्षिकोत्सव तथा दशैं विशेष कार्यक्रमअन्तर्गत आयोजित विभिन्न  प्रतियोगिता सम्पन्न भएका छन् । असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन भएको कार्यक्रममा वडा स्तरीय पुरुष भलिबल, महिला भलिबल तथा एकल नृत्य प्रतियोगिता आयोजना गरिएको थियो ।

खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा एकता समाज नेपाल प्रथम भएको छ भने समाज रूपान्तरण युवा समूह आयोजक दोस्रो भएको छ । प्रतियोगितामा एम नाइन सी र मुसिकोट–९ बलचौरको समुह सान्त्वना भएको  समाज रुपान्तरण युवा समुहका अध्यक्ष सर्वजित खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रथम हुने समुहले १५ हजार रुपैयाँको साथमा मेडल, कप र प्रमाणपत्र, दोस्रो हुने समुहले १० हजार रुपैयाँको साथमा मेडल, कप र प्रमाणपत्र प्राप्त गर्दा  सान्त्वना हुने दुवै समुहले ५/५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै, महिला भलिबलतर्फ टिम परिवर्तन मुसिकोट–९ प्रथम र टिम शुलिल मुसिकोट–९ दोस्रो भएका छन् । प्रथम हुने समुहले  ५ हजार रुपैयाँ र प्रमाणपत्र तथा दोस्रो हुने समुहले २ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको समुह अध्यक्ष खड्काले जानकारी दिनुभयो । एकल नृत्य प्रतियोगितामा प्रकृति पुन प्रथम, रितु विक दोस्रो र यमुना ओली तेस्रो  हुनुभएको छ । प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः २ हजार ५ सय, १ हजार ५ सय र ५ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

वार्षिकोत्सबको अवसरमा स्थानीय झाकी, आमा समूहहरुले समेत प्रस्तुति राखेका थिए । समापन कार्यक्रम कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री एवं सरकारका प्रबक्ता कल्याणी खड्काको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै मुसिकोट नगर उपप्रमुख बिमलकुमार पुन, वडा अध्यक्ष शसिराम पुन, पुर्व वडा अध्यक्ष नवीन ओली लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३, २०८३  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update