राष्ट्रिय क्रिकेट टोलीका महत्त्वपूर्ण सदस्य तथा एनपिएल टोली कर्णाली याक्सका कप्तान सोमपाल कामीलाई रुकुम पश्चिममा स्वागत गरिएको छ । विभिन्न कामका लागि जाजरकोट पुगेका उनी सहित कर्णाली याक्सका अर्का खेलाडी युनिशविक्रम सिंह चौरजहारी पुगेको अवसरमा उनीहरूलाई चौरजहारीमा स्वागत तथा सम्मान गरिएको हो ।
सोमबार जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिम र शीतल चौरजहारी बी–६७ ले राष्ट्रिय खेलाडी द्वय कामी र सिंहलाई स्वागत तथा सम्मानसहित मायाको चिनो प्रदान गरेका हुन् । रुकुम जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष गोपाल लामिछाने, पूर्व कप्तान विवश गिरी र शीतल चौरजहारी बी–६७ का अध्यक्ष तेजकुमार विष्टले संयुक्त रूपमा सम्मानसहित मायाको चिनो प्रदान गर्नुभएको हो ।
कामी र सिंहलाई दोसल्लासहित चौरजहारीमा र्याली गरेर सम्मान तथा स्वागत गरिएको शीतल चौरजहारी बी-६७ का तिलक लामिछानेले जानकारी दिनुभयो । राष्ट्रिय खेलाडी तथा क्रिकेट क्षेत्रका गौरवहरूको उपस्थितिले सिङ्गो रुकुमको खेलकुदमा नयाँ उत्साह जगाएको जिल्ला क्रिकेट सङ्घ र शीतल बी-६७ ले जनाएका छन् ।






