Kakhara सबैको खबर सम्पूर्ण खबर
दुई खानेपानी आयोजना निर्माण सम्पन्न हुँदै

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकामा रहेका दुई खानेपानी आयोजनाको अनुगमन गरिएको छ । वडा नम्बर ८ रहेको कालापोखरा–भेरीखोला लिफ्टिङ खानेपानी आयोजना र ७ नम्बर वडाको थारमारे–राजकोट लिफ्टिङ खानेपानी आयोजनाको अनुगमन गरिएको हो । गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीको सयुंक्त लगानीमा निर्माण थालिएको दुई ओटा आयोजनाको अनुगमण गरिएको जिल्ला कार्यक्रम अधिकृत सुमन ज्ञवालीले जानकारी दिनुभयो । कालापोखरा–भेरीखोला लिफ्टिङ खानेपानीको आयोजनाको काम सम्पन्न भैसकेको छ ।

उक्त आयोजना २५ लाख श्रमदान र ९८ लाख नगदमा निर्माण भएको हो । एक घर एक धारा परियोजना अन्तरगत उक्त आयोजना निर्माण भएको हो । उक्त आयोजनाबाट ७६ घरधुरी लाभान्वित भएको कार्यक्रम अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । भेरीखोला मुहानबाट करिव ७ सय ५० मिटर उचाईमा पानी फालिएको आयोजनाका प्राविधिक संयोजक घमण्डबहादुर विष्टले जानकारी दिनुभयो ।

४ ओटा ट्याङकीबाट पानी वितरण गरिएको छ । अनुगमनको क्रममा आयोजनाको काम सन्तोषजनक पाइएको छ । त्यस्तै थारमारे–राजकोट लिफ्टिङ खानेपानी आयोजनाको भने ९५ प्रतिशत काम सम्पन्न भएको पाइएको छ । वडा नम्बर ७ मा निर्माण थालिएको उक्त आयोजनाको सबै काम सकिएको र प्रत्यक घरमा मिटर जडानको काम बाँकी रहेको विष्टले जानकारी दिनुभयो ।

उक्त आयोजना श्रमदान सहित ३ करोड ५० लाख लागतमा निर्माण हुदै छ । अबको २० दिनमा आयोजना निर्माणले पुर्णता पाउने उहाँको भनाई छ । उक्त आयोजनामा २१ मिटर माथि पानी फालिएको छ । रेडक्रसले गाउँपालिकाका अन्य विभिन्न ठाउँमा पनि खानेपानी आयोजना निर्माण सम्पन्न गरेको छ । विद्यालय, स्वास्थ्यचौकी र गाउँघर क्लिनिकलमा पनि विवभिन्न परियोजना संचालन गरेको कार्यक्रम अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update