रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा मर्यादित महिनावारी सम्मेलन सम्पन्न भएको छ । दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना सुस्वाको सहजीकरणमा खानेपानी, सरसफाइ तथा स्वच्छता इकाई सानीभेरी गाउँपालिकाको आयोजनामा बुधवार सम्मेलन सम्मेलन भएको हो ।
सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई बिना कुनै भेदभाव सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको अवस्थामा महिनावारीका कारण महिलामा भइरहेको विभेदलाई अन्त्य गर्ने उद्देश्य सहित सम्मेलन भएको र सोही अनुसार घोषणा पत्र जारी भएको सुस्वा परियोजना संयोजक रोशन केसीले जानकारी दिनुभयो ।
महिनावारी तथा सुत्केरीसँग जोडिएका छाउपडी, छुई, अलग्गै बस्ने, छुन नहुने, दूध–दही जस्ता पोसिलो खानपान, सुरक्षित खानेपानी तथा सरसफाइ सुविधा प्रयोग गर्नमा रोक लगाउने लगायतका सबै प्रकारका हानिकारक अभ्यास, विभेद र अमानवीय व्यवहारको अन्त्य गर्दै प्रत्येक महिला तथा किशोरीलाई परिवार र समुदायमै सम्मानपूर्वक बस्न पाउने वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको ।
सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता, गोपनीयतायुक्त शौचालय, नुहाउने सुविधा, आवश्यक महिनावारी व्यवस्थापन सामग्री, स्वास्थ्य सेवा तथा पौष्टिक आहारमा समान र सहज पहुँच सुनिश्चित गर्न परिवार, समुदाय र स्थानीय सरकार बिच सहकार्य गर्ने प्रतिबद्धता पनि गरिएको छ ।
त्यस्तै सबै विद्यालय तथा सार्वजनिक संस्थामा अपाङ्गतामैत्री, लैङ्गिक मैत्री तथा महिनावारीमैत्री खानेपानी, सरसफाइ तथा स्वच्छताको सुविधा सुनिश्चित गर्दै पर्याप्त पानी, गोपनीयता तथा महिनावारी व्यवस्थापन सामग्रीको उपलब्धता र प्रयोग भएका सामग्रीको सुरक्षित व्यवस्थापन तथा विसर्जनको व्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख छ ।
प्रचलित संघीय, प्रदेश तथा स्थानीय कानुनको पूर्ण रूपमा पालना गर्दै मर्यादित महिनावारी व्यवस्थापनको लागि उपयुक्त योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने, बाल क्लब, किशोरी सञ्जाल, महिला समूह तथा सम्बन्धित समुदायको अर्थपूर्ण सहभागिता र नेतृत्व सुनिश्चित गर्दै उनीहरूको अनुभव र सुझावलाई महिनावारी व्यवस्थापन सम्बन्धी रणनीति, योजना तर्जुमा तथा कार्यक्रम तयार पार्दा आधार बनाउने पनि घोषणा पत्रमा उल्लेख छ ।
महिनावारी व्यवस्थापनलाई सुरक्षित, स्वच्छ एवम् मर्यादित बनाउने क्रममा दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, विपन्न तथा सीमान्तकृत समुदाय र लैङ्गिक तथा यौनिक अल्पसंख्यकका आवश्यकता तथा सवाललाई समेत सम्बोधन गर्दै सबै महिला तथा किशोरीका लागि समान, सुरक्षित र भेदभावरहित पहुँच सुनिश्चित गर्ने घोषणा गरिएको छ ।
प्रयोग भएका प्याड तथा अन्य महिनावारी व्यवस्थापन सामग्रीको सुरक्षित, स्वच्छ तथा वातावरणमैत्री व्यवस्थापन र विसर्जनका लागि उपयुक्त स्थानीय प्रणाली विकास गर्दै सम्भव भएसम्म पुनः प्रयोग गर्न मिल्ने तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने पनि प्रतिबद्धता जाहेर गरिएको छ ।
सबैको सहकार्यमा निरन्तर जनचेतना साथै महिनावारी स्वच्छताका सामाग्रीहरूको उपलब्धता सुनिश्चित गर्दै व्यवहार परिवर्तन, क्षमता विकास तथा अनुभव र सिकाइ आदान–प्रदानका कार्यक्रम सञ्चालन गर्ने र पालिकामा मर्यादित महिनावारी व्यवस्थापनको अभ्यास विस्तार गर्दै सानीभेरी गाउँपालिकालाई २०८४ साल भित्र छाउपडी तथा महिनावारीजन्य विभेदमुक्त, सुरक्षित, स्वस्थ, समावेशी तथा मर्यादित महिनावारी व्यवस्थापनयुक्त गाउँपालिका बनाउने सामूहिक संकल्प समेत व्यक्त गरिएको छ ।
विपद्को समयमा महिला तथा किशोरीका लागि आवश्यक महिनावारी सामग्री, पानी शौचालय र गोपनीयताको व्यवस्था सुनिश्चित गर्ने, महिनावारी व्यवस्थापनका लागि स्थानीय तहबाट वार्षिक बजेट तथा नीति कार्यक्रममा आवश्यक रकम विनियोजन गर्ने र महिनावारी व्यवस्थापन सम्बन्धी कार्यक्रमको नियमित अनुगमन तथ्यांक संकलन तथा समीक्षा गरी देखिएका समस्या समाधान गर्न आवश्यक सुधार गर्ने घोषणा पत्रमा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टको अध्यक्षतामा सम्मेलन भएको थियो भने सुस्वाका लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरण विज्ञ राजु तिरुवाको प्रमुख आतिथ्यता रहेको थियो ।
-1790251657.jpeg)





