
श्रम तथा उत्पादनमा वाइसीयल अभियान अन्तर्गत रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा वृक्षारोपण र सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । योङ्ग कम्युनिस्ट लिग वाइसीयल नेपाल आठबिसकोट नगर कमिटीको आयोजनामा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।
वडा नम्बर ११ को सिम बजार नजिकको भेरी नदी कटानको जोखिममा रहेको क्षेत्रमा सिसौ, बकाइना लगायतका २ सय ५० बिरुवा रोपिएको वाइसीयल रुकुम पश्चिमका अध्यक्ष एलबी कटुवालले जानकारी दिनुभयो । भेरी नदीको कटान रोक्न मद्दत पुगोस् भन्ने उद्देश्यले वृक्षारोपण गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै सिम बजारमा सरसफाइ गरिएको हो । बजार क्षेत्रमा रहेको फोहर व्यवस्थापन गरिएको कटुवालले बताउनुभयो । वाइसीयल आठबिसकोटका अध्यक्ष सुशील विकको अध्यक्षतामा भएको कार्यक्रममा वाइसीयल रुकुम पश्चिमका इन्चार्ज गोविन्द ओलीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पार्टीका नगर अध्यक्ष मणिराज बटाला, पार्टीका नेताहरु हस्ते आग्री, गंगाराम चनारा, गम्भीर कामी, प्रेमजङ शाह, टिकाराम सुनार, सङ्गठनका केन्द्रीय आयोग सदस्य दलजित नेपाली, नेताहरु यमुना पुनमगर, प्रदेश समिति सदस्यहरु यमकुमारी पुन, विजय बिक, जिल्ला सचिव सन्देश बिक, जिल्ला कोषाध्यक्ष सन्तोष बिक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन वाइसीयलका नगर सचिव दीपक विकले गर्नुभएको थियो । केन्द्रीय सर्कुलर अनुसार रुकुम पश्चिममा मङ्गलवार श्रम तथा उत्पादनमा वाइसीयल अभियान शुभारम्भ भएको हो । यो अभियान जिल्लाका सबै पालिकामा सञ्चालन हुने वाइसीयल रुकुम पश्चिमले जनाएको छ । अभियान २ महिनासम्म सञ्चालन हुने छ भने अभियान अन्तर्गत विभिन्न सामाजिक कामहरू हुने बताइएको छ ।