Kakhara सबैको खबर सम्पूर्ण खबर
द लेजेन्ड कपको खर्च सार्वजनिक, कति भयो बचत ?

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गाको बराहटाकुरामा सञ्चालित द लेजेन्ड कप फुटबल दोस्रो संस्करणको खर्च विवरण सार्वजनिक गरिएको छ । असोज ३० गते सम्पन्न प्रतियोगिताको खर्च विवरण आयोजक मुसिकोट सोसल एन्ड कल्चर डेभलपमेन्ट सोसाइटीले सार्वजनिक गरेको हो । 

उक्त प्रतियोगिताबाट आयोजकले ५८ हजार ३५ रुपैयाँ फाइदा गरेको छ । प्रतियोगिता सञ्चालनका लागि देश तथा विदेशबाट तथा टिम दर्ताबाट गरी कुल ७ लाख ९ हजार ५ सय ३५ रुपैयाँ सङ्कलन भएको थियो । आयोजकका अनुसार दर्ता शुल्कबाट १ लाख ९१ हजार ५ सय सङ्कलन भएको थियो । 

प्रतियोगिता सञ्चालनका लागि विदेशबाट ३ लाख ७६ हजार सङ्कलन भएकामा देशभित्रबाट २ लाख १० हजार ४ सय ३५ रुपैयाँ सङ्कलन भएको आयोजक संस्थाका उपाध्यक्ष राजु थापाले जानकारी गराउनुभयो । कुल ७ लाख ९ हजार ५ सय ३५ रुपैयाँ सङ्कलन भएकामा ६ लाख ५१ हजार ५ सय रुपैयाँ खर्च भएको उहाँको भनाई छ । 

legend-cup-(2)-1792486988.jpeg
उहाँका अनुसार सङ्कलित रकम पुरस्कार, ट्रफि, मेडल, प्रमाणपत्र, रेफ्रि शुल्क, विभिन्न प्रचार तथा आवश्यक सामग्री, खेलकुद सामग्री लगायतमा खर्च भएको हो । त्यस्तै आयोजकले ३० हजार रुपैयाँ भने समाज सेवामा खर्च गर्ने जनाएको छ । बचत भएको रकम आगामी संस्करण आयोजना तथा फुटबल विकासमा खर्च गर्ने आयोजकको भनाई छ । 

प्रतियोगिता भव्यताका साथ सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहयोगीहरू, प्रतियोगितामा भाग लिने टिम, रेफ्रि सहित सम्पूर्ण खेलप्रेमीहरुलाई धन्यवाद समेत दिएको छ । यस प्रतियोगिताको उपाधि रुकुम राइजिङ वारियर्सले जितेको थियो । फाइनलमा रातामाटा एफसीलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै वारियर्सले उपाधिमाथि कब्जा जमाएको थियो । 

प्रतियोगितामा विभिन्न ठाउँका ३२ टिमले प्रतिस्पर्धा गरेका थिए । यो प्रतियोगिता सेभेन ए साइडमा सञ्चालन भएको थियो । दसैँ तिहारको अवसर पारी जिल्लाको फुटबल विकासमा टेवा पुर्‍याउने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३, २०८३  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update