Kakhara सबैको खबर सम्पूर्ण खबर
तरकारी संकलन केन्द्रः भवन बन्यो, छैन् संचालनको तयारी 

रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५ बागबजारमा तरकारी संकलन केन्द्रको भवन निर्माण भएको छ । आधा करोड बढी लगानीमा जमिन सम्याउने र भवन निर्माणको काम भएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि तरकारी संकलन केन्द्र निर्माणको काम सुरु भएको हो । जनकपुर चुरोट कारखानाको जग्गामा पहिलो वर्ष २५ लाख ७९ हजार बजेट खर्च भएको थियो । १४ लाख ६३ हजार बजेट तत्कालिन कृषि ज्ञान केन्द्रले लगानी गरेको हो भने ११ लाख ७३ हजार बजेट प्रतिनिधि सभा स्थानीय पूर्वाधार क्षेत्र विकास कार्यक्रमबाट राखिएको थियो । उक्त बजेटबाट तारजाली लगाउने र जमिन सम्याउने काम भएको थियो । १ वर्ष काम रोकियो । त्यसपछि गत आर्थिक वर्ष २०७७/०७८ मा ३० लाख बजेट खर्च गरेर ६ कोठे भवन निर्माण गरिएको छ । भवन निर्माणमा खर्च भएको मध्य मुसीकोट नगरपालिकाको २० लाख र कर्णाली प्रदेश सरकारको १० लाख हो ।

हालसम्म कुल ५५ लाख ७९ हजार बढी बजेट खर्च भएको छ । यो बजेटबाट केहि मिटर बाटो पनि निर्माण गरिएको थियो । सुरुमा ८० लाखको स्टामेट अनुसार काम सुरु भएकामा विचमै काम रोकिदा धेरै बजेट फ्रिज पनि गएको थियो । अझैपनि तरकारी संकलन केन्द्रको काम पूर्ण रुपमा सम्पन्न हुन बाँकी रहेको मुसीकोट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शुशिल गौतमले बताउनुभयो । तरकारी संकलन केन्द्रसम्म पुग्ने सडक निर्माण गर्न बाँकी छ भने अन्य विभिन्न व्यवस्थापनका काम पनि बाँकी रहेको उहाँको भनाई छ । व्यवस्थापनको काम सकिएपछि तरकारी संकलन केन्द्र संचालन गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार तरकारी संकलन केन्द्रलाई समेत छुनेगरी मध्यपहाडि लोकमार्ग–टटेला–मुसीकोट खलंगा बहुमुखी क्याम्पस–बराहटाकुरा–सहिद मैदान सडक निर्माणका लागि बजेट विनियोजन भएको छ । 

गाउँको तरकारी संकलन गरेर बिक्रि गर्ने लक्ष, तर कहिले होला पुरा ? 
गाउँ गाउँमा उत्पादन भएको तरकारीलाई संकलन केन्द्रमा ल्याएर बिक्रि गर्ने लक्ष राखिएको छ । किसानले उत्पादन गरेको तरकारीले बजार नपाएको गुनासो आईरहेका बेला नगरपालिकाले बजारको समस्या हुन नदिनका लागि तरकारी संकलन केन्द्र संचालनको तयारी गरिरहेको छ । तरकारी संकलन केन्द्र संचालनमा आएपछि मुसीकोट नगरपालिकाका किसानले बजार पाउने मुसीकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनारको दाबी छ ।

तर तरकारी संकलन केन्द्र संचालन हुनेमा धेरैले आशंका व्यक्त गरिरहेका छन् । यो ठाउँ बजार देखि अपायक रहेको र सडकबाट टाढा रहेका कारण गाउँको तरकारी संकलन केन्द्रमा पुग्ने देखि मान्छेहरुलाई किनमेलका लागि जान समस्या हुने उपभोक्ताहरुको भनाई छ । यो तरकारी संकलन केन्द्र कसले संचालन गर्ने भन्ने निश्चित भइसकेको छैन् । ५ नम्बर वडाध्यक्ष गौतम स्थानीय सहकारी वा अन्य कसलाई जिम्मेवारी दिने भन्नेबारेमा छलफल भइरहेको बताउनुहुन्छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update