Kakhara सबैको खबर सम्पूर्ण खबर
महतमा युद्ध स्मारीका !
युद्ध स्मारीकामा बनाइएका शालिक ।

पछिल्लो समय महत चर्चामा छ । भूमे गाउँपालिका ६ नम्बर वडाको महत स्थित ठूलो स्यामाङपो सामाजिक सञ्जालमा भाइरल छ । यही विषयलाई लिएर महत फेरि चर्चामा पुगेको छ । यस अघि २०५६ सालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चित बनेको महत यस पटक सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमबाट चर्चित बनेको छ ।

२०५६ सालमा तत्कालिन नेकपा माओवादीका लाल सेनाले महत प्रहरी चौकी कब्जा गरी तत्कालिन डिएसपी ठूले राईलाई कब्जा गरेका थिए । त्यसका कारण महत त्यतिबेला चर्चामा थियो । यति मात्रै होइन महतमा पटक पटक राज्य र विद्रोही पक्षबीच भिडन्त समेत भएको थियो । साविक रुकुम जिल्लामा सबभन्दा धेरै जना मारिएको गाविस महत हो ।

दश वर्षे जनयुद्धको क्रममा यहाँ राज्य पक्षबाट ५२ र विद्रोही पक्षबाट ६ गरी ५८ जना मारिएका थिए । यस पटक भने महत युद्ध स्मारीकाको कारण चर्चामा छ । ठूलो स्यामाङपोमा युद्ध स्मारीका बनाइएको छ । भूमे गाउँपालिकाले यहाँ स्मारीका बनाएको हो । गाउँपालिकाले यस अघि यहाँ युद्ध फिचर पनि बनाइ सकेको छ । यही युद्ध स्मारीकामा आउने मान्छेहरुका कारण यो चर्चामा छ । 

युद्ध स्मारीका बारे
दश वर्षे जनयुद्धको क्रममा भएका विभिन्न घटना मध्य महत घटनाको खास चित्र उतारेर यहाँ युद्ध स्मारीका बनाइएको छ । ठूलो स्यामाङपोमा महत गाउँ बनाइएको छ । गाउँको छेउमा रहेको प्रहरी चौकी र विद्यालय बनाइएको छ । यहाँ यत्ति मात्रै बनाइएको छैन । २०५६ साल असोज ६ गते आक्रमण भएको महत प्रहरी चौकीमा विद्रोही पक्षबाट महत्वपूर्ण भूमिका निर्वाह गरेकाहरुको शालिक पनि बनाइएको छ ।

हालका उप राष्ट्रपति तथा तत्कालिन सेनाका कमाण्डर नन्दकिशोर पुन पासाङको शालिक बनाइएको छ । उहाँलाई लडाईको समग्र अवस्था व्याख्या गर्दै गरेको अवस्थामा राखिएको छ । यहाँ १ र २ नम्बर प्लाटुन कमाण्डरको शालिक बनाइएको छ । रोल्पाको १ नम्बर प्लाटुनका कमाण्डर हरिबहादुर पुन बरुन र रुकुमको २ नम्बर प्लाटुनका कमाण्डर होमप्रकाश श्रेष्ठ हिमालको शालिक छ ।

यी दुई प्लाटुनले महत प्रहरी चौकी आक्रमण गरेका थिए । सबै सहिदको प्रतिनिधित्व हुने गरी सहिद नन्दकिशोर घर्ती  निर्माणको शालिक बनाइएको छ । प्रहरी चौकी आक्रमणका क्रममा घाइतेको उपचारमा खटिएको स्वास्थ्यकर्मी कृष्ण रेग्मी विवशको शालिक पनि बनाइएको छ । अर्का एक जना मिलिसियामा काम गरेका जितबहादुर बुढाको शालिक बनाइएको छ । 

यो सुरुवात हो 
यही ठाउँमा गाउँपालिकाले यस अघि नै युद्ध फिचर बनाइसकेको छ । युद्ध स्मारीकाको पनि सुरुवात भएको बताएको छ । गाउँपालिका अध्यक्ष रासमुर बुढा मगरले युद्ध स्मारीका निर्माणको सुरुवात गरेको बताउनुभयो । महिला छापामारको शालिक निर्माण, युद्ध स्मारीकाको तारबारको काम बाँकी रहेको उहाँको भनाई छ । युद्ध कसरी भएको थियो र किन भएको थियो भनेर पछिल्लो पुस्तालाई जानकारी दिने पहिलो तथा युद्ध पर्यटन मार्फत अर्थोपार्जन प्रचार प्रसार दोस्रो उद्देश्य सहित युद्ध स्मारीका बनाइएको अध्यक्ष बुढाले बताउनुभयो ।

सहिद मार्ग र मध्यपहाडी लोकमार्ग नजिकै रहेकाले पर्यटकीय हिसावमा पनि यो महत्वपूर्ण रहेको उहाँको भनाई छ । यसको साथसाथै खास लडाई गर्ने गरी संरचना बनाउने योजनामा गाउँपालिका छ । यो सबै कामका लागि गाउँपालिकाले डिपिआर समेत बनाएको छ । कसैले प्रत्यक्ष लडेको हेर्ने र आफै लड्ने इच्छा राख्यो भने त्यस्तै खाले संरचना बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

त्यसका लागि आवश्यक बन्दुक खरिद र संरचना पनि निर्माण गर्ने तयारी भइरहेको छ । रबरका बन्दुक र गोली राख्ने त्यसैबाट लडाई लड्ने गरी व्यवस्थापन हुने जनाइएको छ । युद्ध फिचरदेखि हालसम्म यस ठाउँमा झण्डै ६५ लाख रुपैयाँ बढी खर्च भएको जनाइएको छ । स्थानीय तहको निर्वाचन लगत्तै यस ठाउँमा विभिन्न संरचना निर्माण गर्न सुरुवात गरिएको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update