Kakhara सबैको खबर सम्पूर्ण खबर
जोडिए रुकुमकोट–पोखरा
पुल उद्घाटन गर्दै सभामुख घर्ती ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका स्थित रुकुमकोटसित अरु २ वडामा पनि जोडिएका छन् । सानीभेरी पारी रहेका ३ र ४ नम्बर वडा पुल मार्फत रुकुमकोटसित जोडिएका हुन् । ४ र ६ नम्बर वडा जोड्ने गरी सानीभेरी नदीमाथी सडक पुल निर्माण भएपछि पोखरा–रुकुमकोट जोडिएका हुन् । हालको सिस्ने गाउँपालिकाको ३ र ४ नम्बर वडा साविकको पोखरा गाविस हो ।

यस अघि पुल नहुँदा चार पांग्रे सवारीका साधन वारपार गर्न सम्भव थिएन भने दुई पांग्रे सवारी पनि झोलुङ्गे पुल मार्फत वारपार गर्ने गरेका थिए । अमलाचौरमुनि निर्माणाधिन पुल निर्माण भएपछि अब चार पांग्रे सवारी साधन वारपार पनि सजिलै हुने भएका हुन् ।

यसले पोखरा सहित रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका सर्वसाधारणलाई पनि रुकुमकोट भएर काठमाण्डौंसम्म जान सजिलो भएको छ भने रुकुमकोटबाट पोखरा हुँदै डोल्पासम्मको रुटमा हिड्न पनि अब यो पुलले सहयोग पुग्ने छ । लुम्बिनी प्रदेश सभामुख पूर्णबहादुर घर्तीले उक्त पुलको उद्घाटन गर्नुभएको छ ।  विहीबार रिबन काटेर पुल उद्घाटन गर्नुभएको थियो ।

पुल उद्घाटन भएसँगै सिस्ने गाउँपालिकाको गाडि ४ नम्बर वडाको अमलाचौर पुगेको छ । ५ वर्षपछि उक्त पुल निर्माण सम्पन्न भएको छ । २०७३ सालको असार ३१ गते पहिलो पटक ठेक्का लागेको थियो । तत्कालिन जिल्ला प्राविधिक कार्यालय रुकुमले उक्त पुलको ठेक्का लाएको थियो । तेस्रो पटकको म्याद थपपछि उक्त पुल निर्माण सम्पन्न भएको हो ।

पहिलो पटकको सम्झौता अनुसार उक्त पुल २०७५ को असार ३० गते निर्माण भइसक्नुपर्ने थियो । तर उक्त पुल निर्माणका लागि २०७५ पुष ३० गते पहिलो पटक, २०७७ पुष ३० गते दोस्रो र २०७८ को सार २५ गते तेस्रो पटक पुल निर्माणको म्याद थप गरिएको थियो ।

तेस्रो पटक म्याद थपिएपछि निर्माण सम्पन्न भएको पुलको कुल लागत ८ करोड ८६ लाख ८१ हजार ४ सय ८४ रुपैयाँ १५ पैसा रहेको जनाइएको छ ।  जसमध्य ७ करोड ९१ लाख ९८ हजार ९ सय ६५ रुपैयाँ ७९ पैसा निर्माण कम्पनीले लिएको छ । मृत सञ्जिवणि निर्माण सेवा हेटौंडाले पुल निर्माणको जिम्मा लिएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update