Kakhara सबैको खबर सम्पूर्ण खबर
दुध, तरकारी, फलफुल उत्पादन गर्ने र बाख्रा पाल्नेलाई चौरजहारीले पैसा दिने 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले कृषकलाई आर्थिक प्रोत्साहन दिने भएको छ । नगरपालिकाले कृषि उपज उत्पादन गर्ने कृषकहरुलाई पैसा दिने नीति लिएको छ । उत्पादनलाई बढाउने उद्ेश्यले नगरपालिकाले कृषकलाई आर्थिक प्रोत्साहन कार्यक्रम बनाएको हो । दुध, तरकारी, फलफुल तथा पशुमा कृषकलाई आर्थिक प्रोत्साहन दिने नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो । दुधमा प्रतिलिटर ५ रुपैंया अनुदान प्रोत्साहन स्वरुप दिन लागेको उहाँले बताउनुभयो । अव देखि कृषकले उत्पादन गरेर बिक्रि गरेको दुधमा प्रति लिटर ५ रुपैंया अनुदान पाउने उहाँको भनाई छ

त्यस्तै फलफुलमा प्रति बोट १ सय रुपैंया, प्रति खसी, बोका, बाख्रा र भेडाको १ सय रुपैंया तथा तरकारीमा प्रति केजि ३ रुपैंयाका दरले प्रोत्साहन रकम वितरण गर्ने गरी नगरपालिकाले नीति बनाएको नगर प्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार प्रोत्साहन रकम पाउनका लागि भने निश्चित ठाउँमा मात्र कृषिजन्य वस्तु बिक्रि गरेको हुनुपर्ने छ । जसका लागि नगरपालिकाका ४ ठाउँमा संकलन केन्द्र स्थापना हुने नगरपालिकाले जनाएको छ । वडा नम्बर २ मा नगरपालिका आफैंले संकलन केन्द्र संचालन गर्दै छ भने वडा नम्बर ३, ५ र ११ मा सहकारी मार्फत संकलन केन्द्र संचालन हुने नगरपालिकाको भनाई छ ।

उत्पादनका आधारमा आर्थिक प्रोत्साहनका लागि यि संकलन केन्द्रमा कृषि उपज बिक्रि गरेको हुनुपर्ने छ । कृषक प्रोत्साहन कार्यक्रमले कृषिमा व्यवसायीकता बढ्ने नगरपालिकाको विश्वास छ । एकातिर कृषि उत्पादन बढेमा नगरवासीको जीवनस्तरमा सुधार हुने र राम्रो उत्पादन गरेमा नगरपालिकाले पनि सोही अनुसार सहयोग गर्ने भएपछि थप फाइदा पुग्ने नगर प्रमुख शर्माले बताउनुभयो । नगरपालिकाले कृषक सुचिकृत गर्ने कार्यक्रम पनि बनाएको छ । त्यस्तै चौरजहारीका कृषकहरुले यो वर्षदेखि मासिक पेन्सन पनि पाउँदै छन् ।
 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update