
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले सहुलियत ब्याजदरमा कर्जा दिन सुरु गरेको छ । लक्ष्मी बैंकसँगको सहकार्यमा कर्जा प्रवाह सुरु भएको छ । गाउँपालिका र लक्ष्मी बैंकबीच यस अघि २०७७ को मंसिर १८ गते सहुलियत कर्जा प्रवाहका लागि सम्झौता भएको थियो ।
सोही सम्झौता बमोजिम गाउँपालिकाका व्यवसायीलाई पहिलो पटक कर्जा प्रवाह भएको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ९ नम्बर वडाको मोरावाङ बाख्रा पालन कृषक समूहलाई पहिलो कर्जा प्रवाह भएको छ । उक्त समूहका ५ जना महिलाले दुई लाखका दरले उक्त कर्जा प्राप्त गरेका छन् ।
अब लाभग्राहीहरुले त्राइमासिक वा ६ महिनामा व्याजको किस्ता बुझाउने छन् । किसानले १ प्रतिशत व्याज बुझाउनुपर्ने छ । बैंकले भने ३ प्रतिशत ब्याजमा यो कर्जा प्रवाह गरेको छ । ३ मध्य १ प्रतिशत किसानले व्यहोरेपछि २ प्रतिशत व्याज कर्णाली प्रदेश सरकारले व्यहोर्ने गरी निर्णय भएको छ ।
यो समूह सहुलियत कर्जा पाउने पहिलो समूह बनेको छ । गाउँपालिकामा एक हजार चार सय जना मान्छे समेटिने गरी झण्डै ३ सय समूह रहेको अध्यक्ष केसीले जानकारी दिनुभयो । ५ जनाको एक समूह हुने गरी गाउँपालिकाले समूह निर्माण गरेर दर्ता गरेको छ ।