रुकुम पश्चिमका १५ सरकारी कार्यालय अनुगमन, ४० कर्मचारी अनुपस्थित

रुकुम पश्चिमका १५ वटा सरकारी कार्यालयको अनुगमन गरिएकाे छ । बिहीबार जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा कार्यालयको सेवा प्रवाह, कर्मचारीको उपस्थिति, पोसाक तथा अन्य व्यवस्थापन पक्षको मूल्याङ्कन गरिएको हो ।

अनुगमन विवरणअनुसार १५ वटा कार्यालयमा जम्मा १८६ कर्मचारीमध्ये १७३ जना समयमै उपस्थित भएको र १३ जना समय पालना नगरेको उल्लेख छ । त्यस्तै, ५७ जना कर्मचारी अनुपस्थित रहेको पाइएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । 

जसमा १७ जनाले काज वा बिदा स्वीकृत गराएको र ४० जनाले स्वीकृति नलिएको पाइएकाे सहायक प्रमुख जिल्ला अधिकारी मानबहादुर ओलीले जानकारी दिनुभयाे । स्वास्थ्य सेवा कार्यालयका कर्मचारीहरूकाे डिउटी समय फरक हुने भएकाेले अनुपस्थित कर्मचारीकाे संख्या बढी देखिएकाे उहाँकाे भनाई छ । 

अनुगमनका क्रममा २९ जना कर्मचारी पोसाकमा नरहेको पाइएकाे छ । अनुगमन गरिएका कार्यालयमा कर्मचारीको समय र पोसाक पालनासम्बन्धी पहिलो सूचकको अवस्था मध्यम, सरकारी सवारीसाधनको अवस्थासम्बन्धी छैटौँ सूचक सन्तोषजनक तथा अन्य सूचकहरू उत्कृष्ट रहेको निष्कर्ष निकालिएको छ ।

अनुगमनमा कर्मचारीको समय र पोसाक पालनाको अवस्था, दरबन्दीअनुसार कर्मचारी पदपूर्ति, कार्यालयको कार्यकक्ष तथा सेवा प्रवाह, सूचना प्रविधिको प्रयोग र उपकरण, सेवाग्राहीका गुनासो तथा उजुरी व्यवस्थापन र सरकारी सवारीसाधनको अवस्थालगायतका विषयलाई आधार बनाइएको थियो ।

अनुगमन गरिएका कार्यालयहरूमा शिक्षा विकास तथा समन्वय इकाई, डिभिजन वन कार्यालय, कृषि विकास कार्यालय, जिल्ला अस्पताल, पशु सेवा कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, सामाजिक विकास कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, खानेपानी तथा ऊर्जा विकास कार्यालय, स्वास्थ्य सेवा कार्यालय, प्रदेश लेखा इकाई, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, कृषि सामग्री तथा अन्य सरकारी कार्यालयहरू रहेका छन् ।

अनुगमनले सरकारी कार्यालयको सेवा प्रवाह तथा व्यवस्थापनमा सुधारका लागि नियमित निगरानी र मूल्याङ्कन आवश्यक रहेको देखाएको सहायक प्रमुख जिल्ला अधिकारी ओलीले बताउनुभयाे । पहिलाे पटक भएकाेले कर्मचारीहरूलाई सचेत गराइएकाे र अबकाे अनुगमनमा कमजाेरी पाइए कानुन अनुसार कारबाही हुने उहाँले बताउनुभयाे । 

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update