Kakhara सबैको खबर सम्पूर्ण खबर
लगातार चार वर्ष लक्ष भन्दा बढी राजश्व उठाउने आठबीसकोट 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले लगातार ४ वर्ष राजश्वको लक्ष पुरा गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ देखि आ.व. २०७७/०७८ सम्म लगातार राजश्वको लक्ष पुरा गरेको हो ।  जनप्रतिनिधि निर्वाचित भएको पहिलो वर्ष आ.व. २०७४/०७५ मा नगरपालिकाले १ करोड राजश्व उठाउने लक्ष लिएको थियो । जुन वर्ष नगरपालिकाले १ करोड ५ लाख रुपैंया उठाएको थियो । दोस्रो वर्ष आ.व. २०७५/०७६ मा नगरपालिकाले राजश्वको लक्ष ५० लाख बढाएर १ करोड ५० लाख पुर्याएको थियो । 

उक्त वर्ष पनि नगरपालिकाले लक्ष भन्दा बढी २ करोड १५ लाख राजश्व उठाएको थियो । त्यसपछि नगरपालिकाले राजश्वको लक्ष दोब्बरले बढायो । ३ करोड ५० लाख राजश्वको लक्ष राखिएको आ.व. २०७६/०७७ मा ३ करोड ६८ लाख राजश्व उठेको थियो । त्यसपछि नगरपालिकाले चालु आ.व.सम्म ३ करोड ५० लाख नै राजश्वको अनुमानित लक्ष लिएको छ । नगरपालिकाले वितेको आर्थिक वर्ष २०७७/०७८ मा ३ करोड ५६ लाख राजश्व उठाएको छ । चालु वर्षमा पनि लक्ष पुरा गर्ने गरी काम भइरहेको नगर राजश्व शाखा प्रमुख जयबहादुर बढाले बताउनुभयो । 

नगरपालिकाले वडा, पालिका, नगर अस्पताल र नगर प्रहरी बिट मार्फत सडक मर्मत दस्तुर उठाईरहेको छ । वडा नम्बर ११ को चिसापानी र वडा नम्बर ४ को बगेनामा नगर प्रहरीले सडक मर्मत कर उठाईरहेको राजश्व शाखा प्रमुख बुढाले बताउनुभयो । सुरुका वर्ष देखि नै आन्तरिक राजश्वलाई कडाईका साथ लागु गरेको नगरपालिकाले जनाएको छ । आन्तरिक स्रोतलाई मजबुत बनाउने निर्णय अनुसार राजश्व संकलनलाई कडाई गरिएको नगरपालिकाको भनाई छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update