
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ स्यानाखर्कका दुवै मिर्गौला पीडित प्रेमप्रकाश बुढाथोकीले स्वास्थ्य सेवा कार्यालयलाई विभिन्न माग राख्दै खुला पत्र लेख्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत मिर्गौला पीडितले भोग्नु परेका समस्या तथा मागहरूको विषय उल्लेख गर्दै खुला पत्र लेख्नुभएको हो । उहाँ केही महिना अघिदेखि दुवै मिर्गौला फेल भएर काठमाडौँमा डायलाइसिस गराइरहनु भएको छ । उहाँले जिल्ला स्वास्थ्य सेवा कार्यालयमा दुई वटा डायलाइसिस मेसिनको माग गर्नुभएको छ । मिर्गौला पीडित प्रेमप्रकाश बुढाथोकी स्वास्थ्य सेवा कार्यालयलाई लेखेको पत्र जस्ताको तस्तै:
जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुम सल्लेलाई म मिर्गौला पीडित प्रेमप्रकाश बुढाथोकीको नमस्कार । म जिल्लामा केही थप उपचारको लागि आवश्यक परेको अत्यन्तै जरुरी माग लिएर आएको छु सबैले ध्यान दिएर मूल्याङ्कन गरिदिनु होला र सबैले शेयर गरिदिनुहोला । केही माग अनि सल्लाह सुझाव यस प्रकार छन् ।
हाम्रो रुकुममा २ वटा डायलाइसिस मेसिनको माग गर्दछु । किन भन्दा मिर्गौला पीडितको बाच्ने आधार भनेको यही एउटा डायलाइसिस हो जसको लागि हामी पुरै घरपरिवार सबै माया मारेर भए भरिको ऋण कारेर २४ घण्टाको बाटो तय गरेर महँगो सहर काठमाडौँ आउनु पर्छ । कति साथीहरू त त्यहाँ सम्म पुग्न पनि पाउनु हुन्न । आज भन्दा २.४ वर्ष पहिलै नै मेरै सिटकाे एक जना मान्छे सधैँको लागि छोडेर जानुभयो । मैले यो माग गर्नुको कारण पीडा खप्न नसकेर हो । हामीलाई त जसोतसो आजसम्म काम चलिरहेको छ । तर यो भन्दा पछाडिको पीडितहरूले दुःख नपाउन भनेर मैले कुरो उठाएको हुँ । हेर्नुहोस् यहाँ जसलाई पर्छ उसैलाई थाहा हुन्छ पीडा के हो भनेर । काठमाडौँ उपचारले भन्दा पनि खाना र बस्ने कोठा भाडा तिर्नाले हालत हुन्छ । जो भोग्ने बस्नेलाई थाहा हुन्छ । कमसेकम आफ्नै जिल्लामा यस्तो सुविधा भयो भने हामी पीडितले दसैँ तिहार गाउँमै मनाउन पाउँथिउ होला । घरको काम गर्न सक्थियाैँ । घरपरिवार, साथी भाइ, इष्टमित्र सबै सङ्ग भेटघाट गरिन्थ्यो होला । स्वास्थ्य ठिक नभए पनि अलि मन शान्त हुन्थ्यो होला । बिरामी भाकोमा त्यति दुख छैन जति परिवार टाढा हुँदाको दुःख छ । हेर्नुहोस् मान्छेलाई समस्या भयो भने त्यसको समाधान गर्नुको विकल्प छैन । यो समस्या भनेको जति खेर, जोलाई पनि आउन सक्छ । सकभर कसैलाई नआओस् । त्यसैले सबै रुकुमेली नेता, कर्मचारी, डाक्टर, व्यापारी, शिक्षक, समाजसेवी, बुद्धिजीवी सबै मिलेर पहल गर्दिनु होला भनी अनुरोध गर्दछु । काठमाडौँ डायलाइसिस र उपचार गराइरहनु भएका मिर्गौला पीडित साथीहरूले सबैले सम्पर्क गर्नुहोला । स्वास्थ्य मन्त्रालयमा गएर कुरो राखौँला ।
नोट, शब्दहरू मागहरू, सबै कुराहरू नमिलेका हुन सक्छन् मिलाएर बुझ्नुहोला । कोठामा बसेर खुलदुल खुलदुल लाग्छ, त्यही भएर यो माग गरेको हुँ, धन्यवाद ! हाल सहिद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर ।