कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्का रोकाले शिक्षा क्षेत्रको सुधारका लागि गुणस्तरीय शिक्षण, दक्ष जनशक्ति उत्पादन र प्रविधिमैत्री सिकाइमा जोड दिनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२, सिम्रुतुस्थित सिम्रुतु क्याम्पसको पाँचौँ क्याम्पस सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री रोकाले शिक्षा समाज रूपान्तरण, आर्थिक समृद्धि र दक्ष जनशक्ति उत्पादनको प्रमुख आधार भएको उल्लेख गर्नुभयो । मन्त्री रोकाले शैक्षिक संस्थाहरूले विद्यार्थीलाई प्रमाणपत्रमा मात्र सीमित नराखी व्यावहारिक ज्ञान, सीप, क्षमता र नैतिकतासहितको जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
बदलिँदो समय र प्रविधिको विकाससँगै शिक्षण सिकाइलाई समयानुकूल बनाउँदै विद्यार्थीलाई प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले सामुदायिक क्याम्पसहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न क्याम्पस प्रशासन, प्राध्यापक, विद्यार्थी, अभिभावक, स्थानीय सरकार र समुदायबिच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । शैक्षिक संस्थाको विकासका लागि भौतिक पूर्वाधार निर्माणसँगै दक्ष प्राध्यापक, प्रभावकारी व्यवस्थापन, नियमित पठनपाठन र विद्यार्थीको सिकाइ उपलब्धिमा समेत ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
ग्रामीण क्षेत्रका विद्यार्थीलाई आफ्नै ठाउँमा गुणस्तरीय उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्न सामुदायिक क्याम्पसहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मन्त्री रोकाले शैक्षिक संस्थालाई समयसापेक्ष, व्यवस्थित र परिणाममुखी बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
शिक्षा क्षेत्रमा देखिएका चुनौती समाधान गर्न नीति, योजना र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विद्यार्थीको भविष्यसँग जोडिएका विषयलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । सिम्रुतु क्याम्पसको पाँचौँ क्याम्पस सभाले क्याम्पसको शैक्षिक तथा संस्थागत विकासका विषयमा समीक्षा गर्दै आगामी दिनमा गुणस्तरीय उच्च शिक्षा विस्तारका लागि थप प्रभावकारी योजना निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सभामा क्याम्पसको प्रतिवेदन क्याम्पस प्रमुख सूर्यविक्रम खड्काले प्रस्तुत गर्नुभएको छ ।





