रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा तेस्रो बाँफिकोट कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिता मुसिकोट १ सल्लेको सल्ले यूथ क्लबले जितेको छ । बाँफिकोट गाउँपालिका ४ स्थित वीरेन्द्र माविको खेलमैदानमा आज भएको फाइनलमा आयोजकलाई पराजित गर्दै सल्ले यूथ क्लब विजेता बनेको हो ।
सल्ले आयोजकलाई ३–१ गोलले पराजित गर्दै विजेता बन्न सफल भयो । प्रतियोगिताको विजेता सल्लेले ५५ हजार ५ सय ५५, साथमा, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता आयोजकको टिमले २२ हजार २ सय २२ रुपैयाँ तथा साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक समितिका आभास चन्द ठकुरीले जानकारी दिनुभयो ।
फुटबल खेलको विकासका लागि बाँफिकोटको युवा क्लबको आयोजना र कालिका युवा क्लबको सह आयोजनामा भएको प्रतियोगितामा रुकुम पश्चिमका २८ टिमले प्रतिस्पर्धा गरेका थिए । खेलकुदका माध्यमबाट आपसी एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
यहाँ विगत ३ वर्ष देखि फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ । व्यक्तिगत रूपमा सहयोग सङ्कलन गरेर जिल्लाको फुटबल विकासका लागि प्रतियोगिता आयोजना गर्दै आएको ठकुरीले बताउनुभयो ।







