रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला भोलि देखि

रुकुम पश्चिमको प्रसिद्ध धार्मिक डिग्रे मेला भोलि शुक्रबारबाट सुरु हुने भएको छ । मुसिकोट नगरपालिका, ५–थर्पुमा रहेको डिग्रे साइकुमारी मन्दिर परिसरमा भोलि हरिबोधिनी एकादशी देखि मेला सुरु हुने र मुख्य मेला कार्तिक ८ गते पूर्णिमाका दिन रहेको डिग्रे मन्दिर व्यवस्थापन समितिले जनाएको छ । हरेक वर्ष कार्तिक पूर्णिमाका दिन विशेष मेला लाग्ने भए पनि एकादशी देखि नै मेला सुरु हुन्छ । 

यो वर्ष कार्तिक ८ गते मुख्य मेला परेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो । हरेक वर्ष ५ दिन मेला लाग्ने गर्दछ । भोलि पहिलो दिन मन्दिरमा पूजा पाठ, जग्गे लगायतका पूजापाठका काम चल्ने अध्यक्ष केसीले बताउनुभयो । 

यो मन्दिरमा वर्षैभर पूजाआजा र बलि चढाउने भए पनि हरिबोधिनी एकादशी देखि पूर्णिमासम्म विशेष तरिकाले पूजाआजा हुन्छ भने बलि चढाउनेको सङ्ख्या पनि धरै हुन्छ । एकादशीदेखि चतुर्दशीसम्म विशेष पूजाआजा हुन्छ भने पूर्णिमाको दिन भव्य मेला लाग्ने गर्दछ । 

भोलि एकादशीका दिन र पूर्णिमाको दिन बलि चढाउन नमिल्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केसीले बताउनुभयो । तर पूजाआजा भने एकादशी देखि पूर्णिमाको दिनसम्मै हुन्छ । बलि भने ५ गतेदेखि ७ गतेसम्म ३ तीन चल्ने छ । 

यस मन्दिरमा मेला अवधिमा मात्र करिब १ हजार बढी बोकाको बली चढ्ने गरेको छ भने करिब १ लाख जना दर्शनार्थीले मन्दिरको दर्शन तथा पूजापाठ गर्ने गरेको मन्दिर व्यवस्थापन समिति बताउँछ । मेला भोलि देखि सुरु हुने भए पनि मन्दिरमा भने केही दिन देखि चहलपहल बढिसकेको छ । दैनिक ठुलो संख्यामा दर्शनार्थीहरु दर्शनका लागि मन्दिरमा पुगिरहेका छन् । 

डिग्रे मेला कर्णाली प्रदेशकै ठुलो धार्मिक मेला मध्येको एक हो । यस मन्दिरमा रुकुम पश्चिमसँगै छिमेकी जिल्ला रुकुम पूर्व, जाजरकोट, सल्यान, रोल्पा, दाङ, सुर्खेतसँगै अन्य जिल्लाका भक्तजनहरू पनि मेला भर्न तथा दर्शनका लागि आउने गर्दछन् । 

भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु पुग्ने गरेको मन्दिर व्यवस्थापन समितिको भनाई छ । डिग्रे साइकुमारी मन्दिरमा दर्शन तथा पूजाआजा गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ । यो मेला परापूर्व काल देखि नै लाग्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update