रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ बादरपानीमा तिहारको अवसरमा तिहार विशेष भेटघाट कार्यक्रम तथा विविध खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । हाम्रो युवा समाज त्रिवेणी–२ को आयोजनामा विगत केही वर्षदेखि भाइटीकाको दिन सञ्चालन हुँदै आएको उक्त कार्यक्रममा विभिन्न उमेर समूहका महिला तथा पुरुषहरूको सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत दौड प्रतियोगिता, तातो आलु, घैँटो फुटाउने, सियोमा धागो छिराउने तथा महिला, पुरुष रस्साकस्सी प्रतियोगिता सञ्चालन गरिएको हाम्रो युवा समाजका अध्यक्ष शक्तिकिरण बिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दौड प्रतियोगितामा प्रेमप्रकाश खड्का प्रथम, रमेश पुन द्वितीय र दिपेन्द्र बुढाथोकी तृतीय हुनुभएको थियो । उहाँहरूलाई क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । त्यस्तै, ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकाबीच भएको तातो आलु प्रतियोगितामा प्रशान्त खड्का प्रथम, डिभिजन पुन द्वितीय र चिराक ओली तृतीय हुनुभएको छ। विजेताहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको अध्यक्ष बिसिले जानकारी दिनुभयो ।
घैँटो फुटाउने प्रतियोगितामा दलबल खड्का विजयी हुनुभएको छ । उहाँले १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ । सियोमा धागो छिराउने प्रतियोगितामा बिमला पुन प्रथम, सुस्मिता खड्का द्वितीय र सुसान्त खड्का तृतीय हुनुभएको छ । उहाँहरूलाई क्रमशः ५ सय, ३ सय र २ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । पुरुष रस्साकस्सी प्रतियोगितामा नवराज ओलीको रोल्पाली समूह प्रथम, ओमप्रकाश ओलीको समूह द्वितीय र रामबहादुर पुनको समूह तृतीय भएको छ । महिला रस्साकस्सी प्रतियोगितामा कमला खड्काको समूह प्रथम, सीता पुनको समूह द्वितीय र तारा खड्काको समूह तृतीय भएको छ । दुवै प्रतियोगितामा समान क्रमश १ हजार ५ सय, १ हजार र ५ सय रुपैयाँ पुरस्कारको प्राप्त गरेका छन ।
कार्यक्रमको आयव्यय पनि सार्वजनिक गरिएको छ । आयतर्फ सहयोगी दाताबाट ११ हजार १५० रुपैयाँ र दर्ता शुल्कबाट ४ हजार १५० रुपैयाँ गरी कुल १५ हजार ६५० रुपैयाँ आम्दानी भएको छ भने व्ययतर्फ पुरस्कार र अन्य खर्चबापत १४ हजार ३८० रुपैयाँ खर्च भएको छ । बचत १ हजार २७० रुपैयाँ भएको अध्यक्ष बिसीले जानकारी दिनुभयो । बचत रकम संस्थाको खातामा जम्मा गरिने आयोजक हाम्रो युवा समाजले जनाएको छ । तिहारको अवसरमा आयोजना गरिएको कार्यक्रमले स्थानीयबीच आपसी सद्भाव, भाइचारा, भेटघाट तथा खेलकुदप्रतिको उत्साह बढाउन सहयोग पुगेको आयोजकले जनाएको छ।







