कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले चौरजहारी नगरपालिका–८ टाकुरा पुगेर स्थानीय पूर्वाधार विकासका सवालबारे जानकारी लिनुभएको छ। भ्रमणका क्रममा मन्त्री रोकाले स्यालटाक्रा–चिसापानी जोड्ने मोटरेबल पुल निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने विषयमा चासो व्यक्त गर्नुभएको छ । साथै, स्यालटाक्रा पुलदेखि टाकुरा टोल हुँदै ठुलीपिपलसम्मको सडक तथा चिप्लेटी–चौरजहारी नगरपालिका–८ को वडा कार्यालय हुँदै खागल–नुवाकोटसम्म जोड्ने सडकको स्थलगत अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा स्थानीयवासीले सडक तथा पुल निर्माण, खानेपानीलगायतका आधारभूत पूर्वाधारसँग सम्बन्धित समस्या र आवश्यकताबारे मन्त्रीसमक्ष आफ्ना माग तथा सुझाव राखेका थिए । स्थानीयका समस्या सुन्दै मन्त्री रोकाले आफ्नो तर्फबाट गर्न सकिने आवश्यक सहयोग र पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउन स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
स्थानीय आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरी पूर्वाधार विकासका काम अघि बढाउनुपर्नेमा समेत उहाँले जोड दिनुभयो। उक्त कार्यक्रममा चौरजहारी नगर प्रमुख पुष्प वादी, ८ नम्बर वडा अध्यक्ष शशिराम विक, नेपाली कम्युनिस्ट पार्टीका जिल्ला संयोजक गोविन्द रोका सचिन राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।
मन्त्रीको स्थलगत अनुगमन र स्थानीयका माग सम्बोधनका लागि गरिएको पहलले यस क्षेत्रका सडक तथा पुललगायत पूर्वाधार विकासका योजना अघि बढ्ने स्थानीयवासीले अपेक्षा गरेका छन् ।






