रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १ को मेलचौरमा परम्परा देखि लाग्दै आएको मेलचौर मेला यस वर्ष कात्तिक २८ देखि ३० गते सम्म लाग्ने भएको छ ।
मेलाको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताको साथमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । मेलामा मनोरञ्जनका सबै माध्यमहरू खुला गरिएको भए पनि आयोजकको निर्णय पालना गरेर मनोरञ्जन गर्नुपर्ने मेला संयोजक पवन कुमार चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुख्य मेला कात्तिक ३० गते लाग्ने भएको छ । मेलाको आकर्षकको रूपमा १६ वर्ष उमेर मुनिको पुरुष भलिबल, खुला वडा स्तरीय महिला पुरुष भलिबल, महिला पुरुष ब्याडमिन्टन प्रतियोगिताका साथमा मयूर नाच, चर्चित बनगाडी र व्यवस्थित सस्तो किनबेच हाटबजार रहेका छन् ।
पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम टिमले नगद ७५ हजार रुपैयाँ को साथमा कप मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ । यस्तै दोस्रो हुने टिमले ५० तथा सेमिफाइनल पुगेका दुई टिमले समान २० /२० हजार रुपैयाँको साथमा मेडल प्रमाण पत्र पाउने मेला व्यवस्थापन समितिले जानकारी दिएको छ ।
यस्तै महिला भलिबल तर्फ प्रथम हुने टिमले नगद २५ कप मेडल प्रमाण पत्र पाउँदा दोस्रोले १८ हजार तथा सेमिफाइनल पुगेका दुई टिमले समान १२/१२ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउने भएका छन् ।
यस्तै १६ वर्ष उमेर मुनिका खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले पाँच हजार, दोस्रोले तीन हजार तथा तेस्रो हुने टिमले दुई हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउने भएका छन् । यस्तै खुला वडा स्तरीय महिला पुरुष ब्याडमिन्टन तर्फ प्रथम, दोस्रो, तेस्रोले पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउने आयोजक समितिले जानकारी दिएको छ ।
यस्तै मेलामा झाँकी सहित सहभागी हुने सांस्कृतिक समूहलाई पनि पुरस्कारको व्यवस्थापन गरिएको छ ।







