आपराधिक उपद्रव मुद्दाका तीन फरार प्रतिवादी पक्राउ

रुकुम पश्चिममा आपराधिक उपद्रव मुद्दामा अदालतबाट कैद तथा जरिवानाको फैसला भई फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका–१४ बाँकेका २५ वर्षीय वीरेन्द्र विक, २३ वर्षीय प्रेम पुन र २३ वर्षीय जयबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिल्ला अदालत रुकुम पश्चिमको २०८२ चैत १२ गतेको फैसलाअनुसार आपराधिक उपद्रव मुद्दामा कैद तथा जरिवाना तोकिएका उनीहरू फैसला फरार रहेका थिए ।

प्रहरी चौकी आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चापागाईंको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई आज दिउँसो  २ बजे आठबिसकोट नगरपालिका–१४ बाँकेस्थित आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार वीरेन्द्रलाई ५ महिना ५ दिन कैद, प्रेमलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तथा जयबहादुरलाई ६ महिना कैद सजाय तोकिएको थियो ।

पक्राउ परेका तीनै जनालाई कैद भुक्तान तथा जरिवाना असुलउपर गर्ने प्रयोजनका लागि रुकुम पश्चिम जिल्ला अदालत मुसिकोटमा पेस गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update