Kakhara सबैको खबर सम्पूर्ण खबर
मेरिटोक्रेसी !

नेपालका विभिन्न विश्वविद्यालयहरुमा खुला विज्ञापन मार्फत खुला प्रतिस्पर्धाका आधारमा उपकुलपतिहरु सिफारिस गरेर धमाधम नियुक्ति भैरहेका छन् भने केही हुने क्रममा छन्। यो विश्वविद्यालयको जीवनमा नविनतम कर्म पनि हो । तर खुला प्रतिस्पर्धाबाट आएका उपकुलपतिहरुले आफ्नो चार वर्षको अवधिमा आफूले प्रस्तुत गरेको सोचपत्र कार्यान्वयन गर्न सक्छन् या सक्दैनन् ? खुला चुनौती र परीक्षणको अध्याय प्रारम्भ भएको छ । खासगरी उपकुलपतिहरुले आफ्नो सोचपत्र कार्यान्वयन गर्न सकेनन् भने उनीहरूको क्षमता र दक्षता माथि निश्चित रूपमा प्रश्नहरु खडा हुनेछन् ।

सबैभन्दा बढी प्रश्न प्रतिस्पर्धामा सहभागी प्राध्यापकहरुले उठाउने छन् । किनकि नाटक गरेर आफूलाई हुत्याएको उनीहरूलाई गहिरो गरी महसुस हुनेछ । त्यति मात्रै होइन हिजो खुरुखुरु आफ्नो विचारका प्राध्यापकहरुलाई सोझै उपकुलपतिको पत्र थमाएर विश्वविद्यालय हाँक्न जिम्मा दिएकाहरुले घुमाउरो ढंगले सही गरेको मत जाहेर गर्नेछन् । साँच्चै ! मेरिटोक्रेसीको वकालत गरेर आफूलाई अब्बल क्रान्तिकारी देख्ने र नयाँ गर्छु भनेर खोक्नेहरुको पनि समीक्षा निश्चित हुनेछ । अरुहरुले आफू निकटका प्राध्यापकहरुलाई विभिन्न जिम्मेवारी दिदै जानेछन् । नयाँ गर्छु भन्नेहरु टुलुटुलु हेरेर उत्तानो पर्नेछन् ।

यस्तो बेला उपकुलपतिहरुले अघि सारेका सोचपत्रहरु साँच्चै ! एकादेशका कथाहरु हुनेछन् । यसको अभ्यास उपकुलपतिहरु नियुक्त भएको ५/६ महिनामै असरल्ल देखापर्ने निश्चित छ । आफ्नो पोल्टामा आएको बेला मेरिटोक्रेसीको केही नाटक गर्नेहरुको पनि हविगत निश्चित तहमा पानीको फोकासरी आउने नै छ । नविनतम यस्ता अभ्यासहरुबाट पनि यदि विश्वविद्यालहरुको गुणात्मक सुधार हुन सकेन तथा अनुसन्धान मृत भयो भने उच्च शिक्षाको शैक्षिक सुधारको अपेक्षा असफल हुनेछ । भावी शैक्षिक चित्र माफियाकरण,अपारदर्शी, मनपरीतन्त्रको पहाडले थिचिएर बेरोजगारीको कहालीलाग्दो समस्याले भरिएर शुन्यमा पुग्नेछ । त्यतिबेला केही गर्न खोजे पनि बलशाली समय धेरै अगाडि बढी सकेको हुनेछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update