
राज्यको प्राथमिकतामा नपरेको क्षेत्र शिक्षा र त्यही क्षेत्रमा आफ्नो भविष्य अन्धकार हुँदा हुँदै पनि शिक्षामा अग्रणी लगानी गर्ने नेपालका शिक्षक प्रति अक्टोबर ५ विश्व शिक्षक दिवसको सन्दर्भमा सम्मान व्यक्त गरौँ । आम विद्यार्थी, अभिभावक र राज्यको खुसी खोज्दा खोज्दै आफ्नो खुसी र समृद्धि बिर्सिसकेका नेपाली अभागी र अपहेलित शिक्षकहरूलाई आजको दिन पूजा गरे पनि फरक नपर्ला । नेपालको शैक्षिक आन्दोलन, राजनैतिक परिवर्तन र त्यसपछि बनेका सत्ताहरूले उपेक्षा गर्दै राष्ट्र, राष्ट्रियता र परिवर्तनमा सधैँ प्रयोग भएको शिक्षक वर्ग कयौँ राजनैतिक उथलपुथलबाट पनि राज्यको मूल प्रवाहमा सम्मानित गरिएन ।
आधा शताब्दी शिक्षा क्षेत्रमा योगदान गरी राष्ट्रपति, प्रधानमन्त्री, नेता, कर्मचारी, मन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति आदि उत्पादन गरेको शिक्षक वर्गले तिनै मान्छेहरूले सत्ता चलाउँदा समेत सम्मान पाउन सकेन उपेक्षा भोगिरह्यो । नेपालको कर्मचारी प्रशासन मध्ये सबैभन्दा तल्लो स्तरको कर्मचारीको दर्जा पाइरहेका आम उपेक्षित शिक्षक गुरुहरू प्रति उच्च सम्मान छ । शिक्षकहरूलाई राज्यले पहिलो स्तरका नागरिक वा कर्मचारीको रूपमा जबसम्म कानुनी र सामाजिक रूपमा मान्यता दिँदैन तबसम्म देशको समग्र विकासको कल्पना सम्भव छैन ।
एउटा महान् शिक्षक जसले आफ्ना विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पार्दै दिशानिर्देश गरेको कुरा तुरुन्त मापन गर्न त सकिन्न तर दीर्घकालीन प्रभावका कारण राष्ट्रलाई कति योगदान गरेको छ त्यो सामान्यतया बुझ्न सकिन्छ । विद्यार्थीहरूले प्रज्वलन गरेका उत्सुकता कतै गणितका साध्य बनेर रहन्छन्, कतै विज्ञानका सिद्धान्त बन्छन् त कतै कला, संस्कृति र साहित्यकारका रूपमा छाप बनेर उनीहरूको विचार अभिव्यक्ति र जीवनशैलीमा रहेर यो संसारलाई अझ उत्कृष्ट बनाइरहेको हुन्छ ।
हरेक वर्षको अक्टोबर महिनाको ५ तारिख विश्व शिक्षक दिवस मनाइने गरिन्छ । सन् १९९४ वाट मनाउन सुरु गरिएको यो दिवस आजका दिन संसारभरि विभिन्न कार्यक्रम गर्दै गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थीहरूलाई स्थानीय एवं अन्तर्राष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याउन मद्दत गर्ने शिक्षकहरूको सम्झना र सम्मानमा यो दिवसलाई लिइएको छ । एउटी आमाले जन्म दिन्छिन् र उक्त बालबालिकालाई जीवन जिउने सीप, ज्ञान र क्षमता प्रदान गर्छन् शिक्षकले । आजका दिन हामीले जीवनका केही पल पछाडि फर्किएर ती शिक्षकहरूलाई अल्झिन आवश्यक छ जसले हामीलाई कालोपाटी, चक र डस्टरको सहायताले क पुरी क सिकाए, ए वी सी डी सिकाए र त्यही कपुरी एवं ए वी सी डी को संयोजन गरी क कमल, ख खरायो , ए फर एप्पल हुँदै, राजनीति, स्वास्थ्य विज्ञान, प्राविधिक, निजामती, कानुन, व्यापार व्यवसाय आदि सिकाए र त्यसतर्फ हामीलाई निरन्तर उत्साहित बनाइरहे तर उनीहरूको न जीवनस्तर बदलियो न उनीहरू प्रतिको सम्मान बढ्यो ।
सतीले सरापेको देशका शिक्षक न राज्यबाट सम्मानित रहे न व्यूरोक्रेसी, राजनीति वा सोसाइटिको उच्च सम्मानको पात्र बने । नेपालको एक दुखान्त राजनैतिक र सामाजिक कालखण्डबाट शिक्षकहरू जति हेपिए पनि हामी बुझ्ने वा बुझाउन सक्नेहरूले तिनै तमाम पूजनीय शिक्षक, शिक्षिकाहरूलाई हार्दिक नमन गरौँ र राज्य शक्तिलाई अपिल गरौँ ।
विश्व शिक्षक दिवस २०२५ को नारा "The teacher we need for the education we want: The global imperative to reverse the teacher shortage" विश्वभर शिक्षक अभाव समाधान गर्नुको तत्काल आवश्यकता र महत्वमा जोड दिन्छ । यसले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न पर्याप्त दक्ष र प्रेरित शिक्षकको आवश्यकता बताउँछ । नेपालको वर्तमान शिक्षा नीति, सरकारी परम्परा र सामाजिक दृष्टिकोणमा आमूल परिवर्तन गर्न सक्ने होइन भने शिक्षक विनाको राज्य बन्ने खतरा दिनानुदिन बढिरहेको छ । शिक्षकको विकल्पमा सेना, प्रहरी, निजामती वा अरू कुनै हुन सक्तैन । नेपाल जस्तो कमजोर अर्थतन्त्र भएको वा कमजोर सुरक्षा रणनीति भएको राज्यले वैदेशिक शक्ति सँग भौतिक युद्ध लडेर आफूलाई सुरक्षा गर्न सक्ने अवस्था छैन । पछिल्लो जेनजी आन्दोलनका सन्दर्भलाई हेर्ने हो भने देशको पुरै सुरक्षा संयन्त्र निकम्मा साबित भई राष्ट्रियता ध्वस्त भयो । नेपालको प्रमुख सुरक्षा निकाय नेपाली सेनाले न आफ्नो परमाधिपतिको सुरक्षा गर्न सक्यो न राष्ट्रियताको धरोहर सिंहदरबार बचाउन सक्यो । यस अवस्थामा राज्यले सेनाको सङ्ख्यामा लगानी गर्नुको कुनै आवश्यकता छैन । बरु शिक्षकमा लगानी गरौँ ।
शिक्षकको सुविधामा दोब्बर बढाऊँ, शिक्षकमा आकर्षण बढाएर प्रतिस्पर्धी शिक्षक बढाऊँ । त्यही गुणस्तरीय र विज्ञ शिक्षकहरूको माध्यमबाट संसारभर बिक्न सक्ने विद्यार्थी उत्पादन गरौँ । विज्ञान प्रविधिमा लगानी गरौँ । सूचना प्रविधिमा लगानी गरौँ । अव संसारमा हुने कुनै पनि खालको युद्धका लागि तयारी गरौँ । योग्य र विज्ञ विद्यार्थीहरूलाई अर्थतन्त्रको बागडोर सुधार गर्न दिऊ, युरेनियम उत्खनन गरौँ, हाइड्रोजन विकास गरौँ, संसार हल्लाउने खालका सफ्टवयरहरु विकास गरौँ । योग्य, विज्ञ र वैज्ञानिक विद्यार्थीहरूलाई सुरक्षा संयन्त्रमा भर्ना गरौँ । थोरै तर प्रविधियुक्त सुरक्षा संयन्त्रको विकास गरौँ । विगतको गोर्खाली सेनाको आभास हुने गरी अत्याधुनिक नेपाली सेनाको कल्पना गरौँ । नागरिक सुरक्षा र अनुसन्धानको विज्ञ प्रहरीको कल्पना गरौँ । यस्तो सेना यस्तो प्रहरी उत्पादनको लागि शिक्षकलाई प्रेरणा, प्रविधि र सुविधा दिऊ ।
अबको लडाई, नागरिक सुरक्षा र राष्ट्रियताको सुरक्षा सङ्ख्याले होइन प्रविधिले मात्र जित्न सकिन्छ । प्रविधिमा सङ्ख्याको महत्त्व हुँदैन । त्यसैले शिक्षकमा लगानी गरौँ, शिक्षकलाई सम्मान गरौँ, शिक्षकको क्षमताको विकास गरौँ, शिक्षकहरूको जीवनस्तरलाई बदलौँ, शिक्षकलाई पहिलो सम्मान गरौँ, शिक्षकमा ऊर्जा थपौँ । एउटा शिक्षकले परिवार बिर्सियोस्, शिक्षक हुन पाउँदा गर्वले छाती फुलोस्, शिक्षक बाघजस्तो गर्जियोस्, शिक्षकलाई देख्दा सबैले सम्मानले शिर झुकाउन, २१ तोपको सलामी दिउन्, हरियो कार्पेट विच्छ्याएर सवारी गराउन, एउटा शिक्षक जसले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, नागरिकको सार्वभौमसत्ता भन्दा अरू नदेखुन् । यसैले शिक्षकलाई सम्मान गरौँ ।
उच्च पदस्थ मन्त्रीको श्रीमती, सेनापतिको श्रीमती, निजामतीको श्रीमती, राजनीतिज्ञको श्रीमती, शाही परिवारलाई सो सरहको आसन ग्रहण भइरहेको देशमा शिक्षकको श्रीमतीलाई त्यो सम्मान गरौँ किनकि एउटा शिक्षकको श्रीमतीले जीवनभर पिडा बोध गरेर भावी सन्तति विद्यार्थीहरूको भविष्यको निम्ति नुन रोटी खाएर, मजेत्रो लगाएर, हातका ठेलीहरू, फाटेका पैतालाहरुमा भिर पाखामा स्याउला सङ्कलन गर्दै, लैनो भैँसी पालेर जीविकोपार्जन गर्दै आफ्नो श्रीमान् शिक्षकलाई कसरी सघाइरहेकी छन् ? आफ्ना श्रीमान्ले दिएको शिक्षा लिएर एउटा वकिलले कसरी केश घुमाउँछ ? कर्मचारीले कसरी राज्य घुमाउँछ? न्यायाधीशले कसरी न्याय घुमाउँछ ? नेताले कसरी देश घुमाउँछ ? व्यापारीले कसरी सिस्टम फेल बनाउँछ ? एउटा कर्मचारी आफैलाई पढाउने शिक्षकलाई आदेश गर्छ । एउटा नेता आफैलाई पढाउने गुरुलाई अवकाश दिन्छ । एउटा प्रहरी आफैलाई पढाउने गुरुमाथि डन्डा बर्साउँछ । शिक्षक प्रति राज्यको सबै मेकानिजम जति निर्मम छ, जति उदासीन छ, जति गैर जिम्मेवार छ । जुन देशमा शिक्षक प्रति सम्मान छैन, जुन देश शिक्षकलाई उच्च सम्मान गर्न सक्दैन त्यो देशको सबै मेकानिजम कमजोर हुन्छ । सुरक्षा संयन्त्र कमजोर हुन्छ, न्याय र सुशासन कमजोर हुन्छ, राजनीतिक व्यवस्था अस्थिरता हुन्छ, समग्रमा राष्ट्रियता र सार्वभौमसत्ता कमजोर हुन्छ । सार्वभौम अधिकार नागरिकमा नभएर विदेशी दलालहरू सँग हुन्छ । राष्ट्रियताको प्रतीक कोही हुँदैन विदेशी दलालको हातमा हुन्छ ।
त्यसैले शिक्षक दिवसको अवसरमा दिवङ्गत भइसक्नु भएका शिक्षकहरूमा भावपूर्ण श्रद्धाञ्जली, सेवामा रहनुभएका शिक्षकहरूमा उच्च सम्मान, शिक्षकहरूप्रतिको राज्यको उदासीनता मुर्दावाद, शिक्षक एकता जिन्दाबाद, आम नेपाली शिक्षकहरू सबैमा हार्दिक नमन, सलाम र सम्मान । सबैले आ-आफ्नो ठाउँबाट धन्यवाद सन्देश पठाएर, भेटेर वा फोन गरेर, सामाजिक सञ्जालमा सम्झना साझा गरेर, शैक्षिक पहललाई सहयोग गरेर वा मेरो जस्तै मिडियामा आफ्ना विचार प्रकट गरेर आजै सम्मान गरौँ, राष्ट्रियताको प्रतीक शिक्षकलाई बनाऊ शिक्षक दिवस सन् २०२५ को शुभकामना ।