अब हुने प्रतिनिधिसभाको चुनावमा रुकुमबाट कसले जित्ला ? समग्र मुलुकमा कुन दलको बहुमत आउला ? प्रधानमन्त्री को होला ? मन्त्रीहरू को को होलान् ? भनेर सबैको व्यग्र चासो हुनु विभिन्न अड्कलबाजी गर्नु र चुनावी सरगर्मी बढ्दै गएको बेला स्वाभाविकै हो (मन्त्रीमण्डलको गठनपछि कुन मन्त्रीले कुन कुन व्यक्तिलाई सल्लाहकार नियुक्त गर्लान् ? ककसको जागिर जाला ? र ककसले जागिर भेट्टाउला ? कुन ठेकेदारले ठेक्का पाउला ? ककसले घर घडेरी थप्लान् ? भन्ने कुराचाहिँ पहिल्यै अनुमान गरिँदैन ।) जेन-जी आन्दोलनले पूरै मुलुकलाई हल्लाइदिएको अवस्थामा विद्यमान अवस्थामा केही परिवर्तन हुन्छ कि भनी सर्वसाधारणले आशा गरिरहेका छन् । आशातीत परिवर्तन हुन पनि सक्ला, नहुन पनि सक्ला । भोट दिने हामीहरू उही हौँ, भोट माग्न आउने उम्मेदवारहरू हामीले चिनेकै व्यक्तिमध्येका हुन् । परिवर्तन पहिले आफै हुनुपर्छ, अनि मात्र परिवर्तनको आशा गर्न सकिन्छ ।
जतिसुकै आन्दोलनहरूबाट देशमा ठुला ठुला राजनीतिक परिवर्तन हुँदा पनि हाम्रो व्यवहारमा कुनै परिवर्तन आउन सकेन । परिवर्तन भयो त केवल नेताको अनुहार र उसका पिछलग्गुहरूको । स्थानीय तहहरूका नाउँ फेरिए । भोजभतेरका चुलाहरू फेरिए । प्रवेशद्वारहरूको स्थल र ब्यानर फेरिए । सभा सम्मेलनका चहुर फेरिए । नारा लाउने मुख र ढुङ्गा हान्ने हातहरू फेरिए । सभामा हाजिर हुने शिक्षक र स्कुले केटाकेटीहरू फेरिए । ठेकेदारहरू फेरिए । बिचौलियाहरू फेरिए । कमिनसनदाताहरु फेरिए । सिडिओहरू फेरिए । कार्यालयहरूका साइनबोर्डहरू फेरिए । झोलामा विकास बोक्ने झोलेहरू फेरिए । कान फुकेर आफ्नो स्वार्थ पूरा गर्ने जमात फेरियो । स्वदेशमा सम्भावना नदेखेर गाउँ रित्याउँदै विदेश जानेहरूको लर्को फेरियो । गाडधन लुकाउने बङ्करहरू फेरिए ।
फेरि अवस्था यस्तै यस्तै मात्र हुने हो भने भोट कसलाई र केको लागि ? विकासको नाउँमा सडकको लम्बाइ र पुलको उचाइ नापेर मात्र हुँदैन । बजारका घरहरू र ती घरमा बस्नेहरूको सुविधा गन्ती गरेर मात्र हुँदैन । एनजिओहरूको प्रगति प्रतिवेदनको तथ्याङ्कहरू भट्ट्याएर मात्र पुग्दैन ।
हामीले आफैलाई परिआउँदा र सबै देशहरूले घेरिल्याउँदा ढुक्कसँग आफ्नै पाखुरीको पौरख र आफ्नै खुट्टीको आडमा उभिन सक्षम बनाउन सक्यौँ कि सकेनौँ ? आम जनताको निराशालाई आशामा बदल्न के के गर्यौँ ? यो देश मेरो पनि हो भन्ने राष्ट्र भावना जागृत गर्न के के गर्यौँ ? जनतालाई कुनै दल वा वर्गमा विभाजन नगरी आँखा चिम्लेर सामाजिक न्यायलाई प्राथमिकता र प्रश्रय दियौँ कि दिएनौँ ? समतामूलक न्याय प्रणालीको विकास गर्यौँ कि गरेनौँ ? जवाफ आउनेछ प्रयास गरेकै हौँ भन्ने । त्यसो भए समाजमा भित्रभित्रै सल्किरहेको असन्तुष्टिको ज्वाला केको निम्ति हो ?
यदि परिवर्तन नै गर्ने हो भने सबै प्रकारका अनुत्पादक खर्चहरू आजैदेखि बन्द गरिनुपर्छ । अनुहार उही आओस् केही छैन, तर मनस्थिति र व्यवहार फेरिएर आउनुपर्छ । संविधान र कानुन र विधि प्रक्रिया उही भए पनि हाम्रो उद्देश्य जरुर फेरिनुपर्छ ।
चुनाव आउने बित्तिकै राजनीतिक चुनावी सरगर्मी ह्वात्तै बढ्छ को नेता चुनिन्छ भनेर सबै अड्कलबाजीतिर लाग्छन् तर बिहान बेलुका हातमुख जोडाउने पेसाकर्मी उपेक्षित रहन्छ । समाजलाई आत्मनिर्भर तुल्याउने प्रतिस्पर्धामा कसले जित्यो भन्नेतर्फ पटक्कै चासो राखिँदैन । समाजलाई स्वावलम्बी बनाउन दीगो विकासका कुन कुन पक्षहरू अनिवार्य छन् भनी परवाह गरिँदैन ।
समाजको समग्र विकास, जनताको जीवनस्तर तथा राष्ट्रिय समृद्धिको आधार नै उत्पादन हो। उत्पादन बढ्यो भने देशको समृद्धि बढ्छ; उत्पादन घट्यो भने बेरोजगारी, गरिबी, असमानता र निर्भरता बढ्छ। उत्पादनको वास्तविक विकास नेतृत्वको सोच, कार्यशैली र दूर दृष्टिमाथि निर्भर हुन्छ। दूरद्रष्टा नेतृत्वले औद्योगिक नीति, कृषि रूपान्तरण, प्राविधिक शिक्षा, ऊर्जा विकासजस्ता क्षेत्रलाई दीर्घकालीन योजनासँग जोड्छ। स्वार्थप्रधान वा अल्पदृष्टा नेतृत्वले चुनावमुखी कार्यक्रम, भत्ता वितरण, सार्वजनिक कर्मचारी विस्तारजस्ता अल्पकालीन गतिविधिमा मात्र ध्यान दिन्छ र विकासलाई झन् अधोगतितिर फर्काउँछ । नेतृत्वकै वैचारिक परिपक्वता र नीतिगत निरन्तरताले राष्ट्रको उत्पादन क्षमता १०–१५ वर्षमै बदलिदिन सक्छ ।
भ्रष्टाचारले उत्पादन क्षमताको मेरुदण्ड भाँचिदिन्छ । नीतिगत भ्रष्टाचार सबैभन्दा खतरनाक हुन्छ। भ्रष्टाचारको लागत जनता र उत्पादन क्षेत्रले बहन गर्नुपर्छ । जहाँ राजनीतिक उत्तरदायित्व कमजोर हुन्छ, त्यहाँ नीति बने पनि लागू हुँदैन, लागू भए पनि निगरानी हुँदैन, निगरानी भए पनि दण्ड–प्रणाली हुँदैन । त्यसैले गार्हस्थ्य उत्पादन क्षमता ह्रास भएर जान्छ ।
कुनै पनि राष्ट्रको समृद्धिको आधार भनेको कृषि, उद्योग, श्रम, सीप, सीमान्त बस्तीको पसिना, भुइँमान्छेको कडा मिहिनेत हो । तर विडम्बना के छ भने राजनीति सञ्चालन गर्ने थुप्रै नेताहरू यिनै उत्पादनशील जनशक्तिबाट टाढा–टाढा बस्छन् । उत्पादनमा खटिएका जनताको आवाज, समस्या, चासो, आवश्यकताप्रति बेवास्ता गरिन्छ। उत्पादनमा होइन, राजनीतिक आसेपासे पाल्न राजनीति केन्द्रित हुन्छ। उल्टो, नेतागत अहङ्कार, पार्टीगत अहङ्कार वा राजनीतिक लाभमा रमाउने केही कामचोर, अवसरवादी, जी–हजुरे, घरदैलो धाउने समूहहरूलाई नै राज्यको शक्ति र स्रोत सहजै उपलब्ध गराइन्छ । आज उत्पादनशील समाज किन बेकम्मा भयो भन्ने प्रश्नको जरो यहीँ छ ।
जब उत्पादनशील वर्ग उपेक्षित हुन्छ, रोजगारी हुँदैन, आय घट्छ, समाजमा समृद्धि घट्छ, राजनीतिप्रति असन्तोष बढ्छ ।
यो लेखको अभिप्राय: राजनीतिक परिणामको विश्लेषण गर्नु होइन । उत्पादनमूलक जनशक्ति कसरी तयार गर्न सकिन्छ भनी पछिल्लो समयमा आफ्नै गाउँको वरपरका उद्यमीहरूले गरेका अनुकरणीय प्रयासको उदाहरण दिनु हो ।
रुकुममा पनि गरे नहुने त के छ र ? जसको उदाहरण तलका व्यावसायिक कृषि उद्यमीहरू र उनीहरूको उद्यमको वर्णनबाट प्रस्ट पार्ने प्रयास गरिएको छ ।
१) लोकेन्द्र विष्ट मगर, मुरु (फोन नं ९८५११३८६७३)
पूर्व मन्त्री तथा माओवादी नेता लोकेन्द्र विष्ट मगर चार दशक लामो राजनीति छोडेर कृषि उद्यममा लागेका उदाहरणीय व्यक्तित्व हुन् ।
रुकुमको त्रिवेणी गाउँपालिका (तत्कालीन मुरु गाविस) मा पिता हस्तराम विष्ट र माता पुतला विष्टको जेठो सन्तानका रूपमा सामान्य किसान परिवारमा लोकेन्द्र विष्टको जन्म भएको हो ।
उनले २०३५/०३६ सालमा झन्डै १४ वर्षको उमेरमा विद्यार्थी राजनीति सुरु गरेर मन्त्रीसम्म भएका थिए ।
सुरुमा उनले काभ्रेमा कालो धान खेती गरे । धान खेतीलाई विश्राम दिएर दाङको भाडाको ६६ कठ्ठा बन्जर जमिनमा मा ड्रागन फ्रुट खेती सुरु गरे । स्वदेश र अन्तर्राष्ट्रिय बजारको समेत सम्भावना देखेरै उनले यसको खेतीमा ८० लाख लगानी गरेका थिए । अहिले नेपालैभरि ड्रागन खेती गर्नेको सङ्ख्या बढेको छ भने हरेकको कौसीमा समेत ड्रागनको बिरुवा लगाइएको देखिन्छ । उनले सरकारी अनुदान लिन चाहन्नथे । दिनभरि आफू र आफ्नो परिवारलाई खेतमा परिश्रम गराउँथे । उनको यो काम भविष्यमा करोडपति बन्नको लागि थिएन । उनी आफू उदाहरण बनेर नेपालीहरूलाई श्रमको मूल्यको पाठ पढाउन चाहन्थे ।
उद्यमशील मान्छेले स्वतन्त्र रूपमा पेसा-व्यवसाय गर्न सक्छन्, आफ्ना र समाजका लागि आर्थिक मूल्य सिर्जना गर्न सक्छन् भन्ने विष्टजी उदाहरण हुन् । सबल आर्थिक समाज निर्माणका लागि परिवारका हरेक सदस्यलाई आर्थिक रूपमा सक्षम, स्वतन्त्र र आत्मनिर्भर बनाउनुपर्छ भन्ने उनको मान्यता रहेको छ ।
लोकेन्द्र विष्टले भन्दथे राजनीति र समाज बुझ्नुपर्छ तर राजनीतिलाई आजीवनको कमाइखाने भाँडो बनाउनुहुँदैन । सार्थक र सफल जीवनका लागि गतिशील, मेहनती र सङ्घर्षशील रूपमा कार्यरत रहनुपर्छ । श्रम संस्कृतिलाई आत्मसात् गर्दै सादा जीवन उच्च विचारलाई जीवनको आदर्श बनाउनुपर्छ ।
अहिले उनले दाङको उक्त खेती बेचेर वैकल्पिक सम्भावना बोकेको अर्को उद्यमको खोजी गरिरहेका छन् ।नै आयस्रोत बनाएर आजीवन पेसा गर्नु भन्दा कृषक कर्ममा नयाँपन ल्याएर सन्देश दिन खोजेका छन् ।
२) चन्द्रबहादुर केसी ‘चट्टान’, घिमाने (फोन नं. ९८४४९४९३८३)
चन्द्रबहादुर मुसिकोट नगरपालिका वडा नं १ घिमानेका कृषक तथा पर्यटन व्यवसायी हुन् । उनले आफ्नै गाउँको १८ रोपनी जग्गामा गोल्डेन किवी, लोठ सल्लो, देवदार, जापानिज हलुवावेद, बुद्ध चित्र माला, केशर, महजडी आदिको खेती गरिरहेका छन् । उनले व्यावसायिक रूपमा कालिज लुइँचे फाइटर कुखुरा र खसी बोका पनि पालेका छन् ।
कमारा खत्री र जानकी खत्रीको माहिलो छोराको रूपमा २०२६ चैत्र १५ गते जन्मिएका चन्द्रबहादुरले बालककालमा गाउँमा विद्यालय नभएकोले अलि पाको भएपछि मात्र सेरीगाउँ स्कुलमा पढ्न गए । २०४५ सालमा खलङ्गा हाइस्कुलबाट १० कक्षा पास गरेपछि केही वर्ष घरकै खेतीमा बिताई कतारतिर हानिए । कतारमा गार्मेन्ट, डिकोरेशन र किचेनमा काम गरेर २० वर्षसम्म उतै बिताए । विदेशमा रहँदा उनी पर्यटन क्षेत्रको प्रगति देखेर मोहित भए । उनलाई लाग्यो कि कतारमा त पेट्रोल ग्यासमा कृत्रिम भण्डार मात्र छ । पहाड झरना र बगैँचाहरू पनि सबै कृत्रिम नै छन् । नेपालमा त अविनाशी स्रोतसाधनले सम्पन्न छ । मिहेनत गरे त नेपाल नै विश्वको प्रमुख पर्यटकीय गन्तव्य हुन सक्छ ।
नेपाल आउने बित्तिकै उनले पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण केन्द्र नामको संस्था समाज कल्याण परिषद्मा समेत दर्ता गराई आफ्नो जिल्ला रुकुममा शाखाको अध्यक्षको जिम्मेवारी सम्हाले र रुकुममा पर्यटनका पूर्वाधारहरूको विकास गर्न लागिपरे । दीपकराज खडका, राजन पुन, मनु बाँठा, गौमाली दमाई, गोपाल केसी, सीताराम केसी, कृष्णमान पुन, वसन्त पुन, मानबहादुर केसी, भरतकुमार शर्मा, चिन्तामणि दाहाल, नरेन्द्र राना आदिले उनलाई सहयोग गरे । उनको भनाइअनुसार तत्कालीन जिल्ला विकास समितिबाट बजेट प्राप्त गरेर स्यार्पुमा होमस्टेका सामग्रीहरू वितरण गरे । रुकुमकोटको कमल दहको छेउमा प्रतीक्षालय निर्माण गरे । रुकुमका पर्यटकीय क्षेत्रहरू दर्साउने होर्डिङबोर्डहरू बनाए । सडक यातायात, जल यातायातको लागि पूर्वाधार खडा गर्ने गुरुयोजना बनाउने काममा पहल गरे पनि बजेट अभावको कारणले सफल भएनन् ।
उनकै प्रयासमा २०७३ साल कार्त्तिक २८ गते जन्तीलेकमा प्याराग्लाइडिङको सफल परीक्षण भयो । लगत्तै स्यार्पु र रुकुमकोटमा पनि प्याराग्लाइडिङको सफल परीक्षण भयो । उनले विद्युत्को हाइटेन्सन लाइन, ल्यान्डिङ गर्ने सम्भावित स्थलमा हावाको उच्च प्रेसर तथा खुल्ला चहुरको अभावले गर्दा प्याराग्लाइडिङ व्यवसायलाई निरन्तरता दिन नसकेको बताउँछन् । पहलसिंह घर्तीसमेतको सहयोगमा सानीभेरी नदीमा र्याफ्टिङको परीक्षण पनि सफल भयो तर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको कमीले र्याफ्टिङ व्यवसाय सफल हुन सकेन । मौराखारा गुरिल्ला दौड प्रतियोगिता सञ्चालन गर्न आफैले सुझाव दिएको उनी बताउँछन् । रुकुममा मोटरग्लाइडिङको पनि प्रचुर सम्भावना रहेको तर कानुनी अभावको कारणले सफल हुन नसकेको उनको बुझाइ छ ।
कृषि र पर्यटनलाई सँगसँगै जोडेर विकास गरिएमा व्यावसायिकता दीगो हुनसक्ने तर एउटालाई मात्र प्राथमिकता दिँदा दुवै व्यवसाय असफल हुने तर्क गर्दछन् ।
उत्पादन लागत अधिक हुने यातायातको भरपर्दो माध्यम नभएको अस्थिर विद्युत् आपूर्ति बजारको अभावको कारणले गर्दा रुकुममा पर्यटन र कृषि व्यवसाय फस्टाउन नसकेको बताउँछन् ।
उनी अहोरात्र आफ्नै खेतबारीमा काम गरिरहन्छन् । सल्लेमा आफ्नै लगानीमा होटेल सञ्चालन गर्दै छन् । करिब ५० जनालाई रोजगारी दिएर वार्षिक ५ लाखसम्म आम्दानी भइरहेको र भविष्यमा वार्षिक करोडौँ मुनाफा हुने उनको दाबी छ ।
३) धनबहादुर खडका ‘वसन्त’ चुन (फोन नं. ९८५७८८८५१०)
मुसिकोट नगरपालिका वडा नं. १० चुन निवासी बाबु अमरबहादुर खडका र आमा सुनिता खडकाको कोखबाट २०४६ असोज २७ गते जन्मिएका धनबहादुर हाल उक्त वडाका लोकप्रिय वडाध्यक्ष र कुशल युवा उद्यमी पनि हुन् । उनले राष्ट्रिय कृषि नीतिलाई आफ्नै गाउँमा व्यावहारिक रूपमा सफल कार्यान्वयन गरेर देखाइरहेका छन् ।
उनले ६ कक्षासम्म चुनमा र ७-८ कक्षा सल्ले स्थित मामाघरमा बसेर पढेका थिए । उनले १७ वर्षकै उमेरमा विद्यार्थी राजनीतिमा लागेर पार्टी सदस्यता लिइसकेका थिए र त्यसै वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगे । विदेशमा पनि नेपाली जन प्रगतिशील मञ्च मलेसिया च्याप्टरको पूर्णकालीन उपाध्यक्षको भूमिका निभाए । उनी ५ वर्षसम्म मलेसियामै काम गरे । २०६८ सालमा घरमा फर्किएपछि पत्रकारितामा संलग्न भए र पत्रकार महासङ्घको सचिवको जिम्मेवारीसमेत निर्वाह गरे । २०६९ सालमा एसएलसीसम्मको अध्ययन पनि पूरा गरे ।
उनले पत्रकारिताको सँगसँगै मुसिकोट खलङ्गामा होटेल व्यवसाय सञ्चालन गरे । खलङ्गाको होटेल शिशिर वसन्त भ्युका प्रोप्राइटर धनबहादुर नै हुन् । उनी २०७० सालमा जिल्ला बाल कल्याण समिति र स्थानीय शान्ति समितिको सदस्यको भूमिका निभाए र २०७० सालमै गाविस खेलकुद विकास समिति र मानपुर मौवाबारी वन उपभोक्ता समितिको अध्यक्ष भए ।
देशमा सङ्घीयता आइसकेपछि २०७४ सालको स्थानीय चुनावमा उनी मुसिकोट नगरपालिका वडा नं १० को वडा सदस्यमा निर्वाचित भैसकेका थिए ।
वडा अध्यक्षमा निर्वाचित हुने बित्तिकै उनले आफ्नो वडालाई चौतर्फी विकासको लागि ४ टोलमा विभाजन गरी विकासका नमुनाहरूको प्रयोग गरे । गलमपाटी टोललाई पर्यटन प्रवर्द्धनको केन्द्र बनाए । सहिद छहरा र सिद्ध गुफाको संरक्षण र सुधार गरे । खड्का टोल, कामी बुढा खर्सुपानी टोल, विजय नमुना बस्ती टोलमा भिन्नाभिन्नै व्यावसायिक कृषि खेतीको सुरुवात गरे । जसमा लसुन खेतीलगायत आलु, प्याज, अदुवा, बर्खे केराउ, आदि थिए। प्रत्येक घरमा अहिले नगदे बालीबाट वार्षिक ३ लाख बराबरको आम्दानी भइरहेको उनी बताउँछन् । गत वर्ष उनको वडाले मात्र ३ करोड रुपैयाँको लसुन निर्यात गर्न सफल भएको थियो । नगदे बाली उत्पादन कम हुने बाँकी जग्गामा अलैँची, टिम्मुर, सुन्तला, केरा, कागती, हलुवावेद, आदि फलफूल लगाइएको छ । कुनै खेत वा पाखो बाँझो नराख्ने उनको रणनीति रहेको बताउँछन् । प्रत्येक घरले अनिवार्य रूपमा पशुपालन गर्नुपर्ने नियम पनि बसालेका छन् ।
उनकै पहलमा भेरीखोलामा मुसिकोटकै अग्लो झोलुङ्गे पुल र मौवाबारी हिल पुल पनि निर्माण गरिएको छ । यी पुलहरूले यातायात सुविधा मात्र प्रदान नगरी पर्यटकीय महत्त्व पनि बोकेका छन् ।
उनले प्रत्येक घर र परिवारलाई सफा सुग्घर राखिराख्न नियम बनाएका छन् । गाउँमा अनिवार्य शिक्षा लागू गरेका छन् । विद्यालयलाई औपचारिक शिक्षाको साथै अतिरिक्त प्रतिभा विकास गराउन विभिन्न कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई पुरस्कृत गर्दै आइरहेका छन् । भावी जनशक्तिलाई विदेश पलायन हुनबाट रोकी गाउँमै काम दिन उनले दीर्घकालीन योजना बनाएको बताउँछन् ।
आफ्नो वडा कार्यालयलाई स्वच्छ र सुन्दर तुल्याउन भरमग्दुर प्रयास गरेका छन् । वडाको विकासको लागि योजना बनाउन, योजनाको अनुगमन गर्न र आवधिक रूपमा मूल्याङ्कन गरी प्रतिवेदन पेस गर्न समिति पनि निर्माण गरिएको छ । समितिमा व्यापक छलफल हुन्छ, कमीकमजोरीमा सम्बन्धित पक्षलाई जिम्मेवार बनाउने नीति बनाइएको छ । काम कारबाहीको सार्वजनिक सुनुवाइ पनि गराउँछन् । समग्रमा वडामा सुशासनको अनुभूति दिलाउन उनी अहोरात्र खटिरहन्छन् ।
४) रविन्द्रकुमार बिस्ट, छिवाङ (फोन नं. ९८५७८८८७००)
मुसिकोट नगरपालिका वडा नं १४ खेताकुनाका युवक रविन्द्रकुमार विष्ट रुकुम पश्चिमका प्रमुख व्यावसायिक कृषि उद्यमी हुन् । बाबु चन्द्रशेर बिस्ट र आमा नन्दकली विष्टका छोरा रविन्द्रको जन्म २०३८ सालमा छिवाङमा भएको थियो । उनले २०५६ सालमा एसएलसीसम्म अध्ययन गरे र २०५२ सालदेखि नै विद्यार्थी राजनीतिमा लागे ।
कृषि वैज्ञानिक डा. केदार बुढाथोकीबाट प्रशिक्षित र प्रभावित भएर २०६८ सालमा काठमाडौँको नख्खुमा २० रोपनी जग्गा भाडामा लिई व्यावसायिक गोलभेडा खेती चलाए । अहिले पनि उक्त व्यवसाय सञ्चालनमै रहेको बताउँछन् । उनले २०७३ सालसम्म काठमाडौँमै कृषि व्यवसायको अनुभव बटुलेर २०७३ सालमा आफ्नो जिल्ला रुकुममा फर्किए ।
उनले रुकुम फर्कने बित्तिकै २ करोड लगानी गरेर छिवाङमा नै ८ रोपनी जग्गामा कृषि नर्सरी सञ्चालन गरे र ५० रोपनी जग्गामा डाले घाँस लगाए । हाल उनी मुसिकोट कृषि उद्योगका प्रबन्धकको रूपमा काम गरिरहेका छन् भने मुसिकोट खलङ्गाको कालिकाथान नजिकै मुसिकोट कृषि अर्ग्यानिक मार्ट पनि सञ्चालन गरिरहेका छन् ।
नर्सरीमा उनले विभिन्न जातिका आँपहरूका १० हजार बिरुवा तयार गर्दै छन् । यसै गरी हलुवावेद, कोइरालो, किवी, लिची, कागती, सुन्तला, काब्रो, आदिलगायत थुप्रै फलफूलको बेर्ना पनि तयार गरेका छन् । बकैना, राईखन्यो, किम्मुलगायतका डालेघाँसका बेर्नासमेत उत्पादन गर्दछन् । किम्मुबाट रेसम कीरा उत्पादन गरी रेसम उद्योग चलाउने उनको दीर्घकालीन योजना छ । लोपोन्मुख प्रजातिका बोट बिरुवाको संरक्षण र प्रवर्द्धन गर्ने उनको अर्को उद्देश्य रहेको छ । उनले प्याजको बीउ उत्पादन र सङ्कलन पनि गरिरहेका छन् भने कम्पोस्ट मलको उत्पादन र विक्री वितरण पनि गरिरहेका छन् । गोलभेडा, काँक्रो, लप्सी, अकबरे खुर्सानी, आदिको अचार उद्योग पनि सञ्चालन गरेका छन् ।
उनको अर्ग्यानिक मार्टमा स्थानीय शुद्ध मह, भाङो, सिस्नो, लेकाली सिमी, हिमाली चियालगायत विभिन्न अचारहरू र स्थानीय रूपमा उत्पादन गरिएका भाङ तथा अल्लोको कपडाहरू पनि विक्रीमा राखिएको छ । रुकुम पुगेका पाहुनाहरू रविन्द्रको अर्ग्यानिक पसलमा गई आफूलाई मन परेको रुकुमेली कोसेली लैजान सक्दछन् ।
दर्जनौँ कामदारहरूलाई रोजगारी दिएर वार्षिक १ करोड खुद आम्दानी हुने उनको भनाइ छ । अन्य कृषकहरूले बजारीकरण, यातायात तथा अन्य पूर्वाधारहरूको समस्याको कारण कृषि खेतीमा समस्या हुने बताउँदै गर्दा उनले भने यस प्रकारको व्यावसायिक कृषि क्षेत्रमा निकासीको लागि नीतिगत समस्याबाहेक अन्य कुनै प्रकारको समस्या नरहेको बताउँदछन् । विदेशमा यस्ता कृषि उत्पादनको निकै ठुलो माग रहेको र उच्च मूल्य पाइएको तर सोअनुसार पूर्ति नै हुन नसकेको उनको भनाइ छ ।
५) जङ्गबहादुर गिरी, मठ (फोन नं. ९८४७८५२१७५)
मुसिकोट नगरपालिका वडा नं. ७ साँखमा २०२३ साल पौष १४ गते जन्म भई हाल मुसिकोटको १ नं. वडा मठमा आइरन उद्योग र व्यावसायिक कृषि खेती सँगसँगै चलाइरहेका जङ्गबहादुर बहुमुखी व्यवसायी हुन् । २०७० सालदेखि मठमा करिब १३ रोपनी जग्गामा बुद्ध चित्र, किवी र विभिन्न फलफूलको उत्पादन गरिरहेका छन् भने आठबीसकोट नगरपालिकाको १ नं. वडामा २५ रोपनी जग्गामा बुद्ध चित्र र आठबिसकोटकै २ नं. वडाको ६० रोपनी जग्गामा किवी खेती गरेका छन् । यसका अतिरिक्त उनले कागती, दाँते ओखर आदिको व्यावसायिक खेती पनि गरेको बताउँछन् ।
दाङमा पनि उनको १० बिगाहा जग्गामा प्लाइउड निर्माण गर्नको लागि चाहिने मसला रुखको खेती गरिरहेको बताउँछन् ।
उनले सुरुमा रु १ करोड ५० लाख लगानी गरेर हाल वार्षिक रु २५ लाखभन्दा बढी खुद आम्दानी गरिरहेका छन् भने पचासौँ जनालाई रोजगारी पनि दिइरहेका छन् । उनको रुकुमेली बहुउद्देश्यीय कृषि फर्म नामको उद्योग सञ्चालनमा रहेको छ ।
उनले मठको झोलुङ्गे पुलको पूर्वपट्टिको पत्थरिलो भिरपाखोलाई बारबेर गरी गरागरा बनाई माटो भरेर विभिन्न तरकारी खेती गरेर देखाएका छन् । कृषि खेती गर्न समथर र मलिलो जग्गा हुनु आवश्यक छैन भन्ने यो गतिलो उदाहरण हो । त्यही पाखोमा असोज-कार्त्तिकमा सयपत्रीफूल खेती गरेर हजारौँ रुपैयाँको फूलहरू समेत विक्री गर्दछन् भने अन्य मौसममा नगदे बालीले हराभरा तुल्याएर त्यसबाट पनि मनग्गे आम्दानी गरिरहेका हुन्छन् ।
६) कृष्ण यरी, स्यालाखदी (फोन नं. ९८६६९०४२९०)
आठबीसकोट नगरपालिका वडा नं २ स्यालाखदीमा २०२६ सालमा जन्मिएका कृष्ण व्यावसायिक कृषि उद्यमी र जनप्रतिनिधि हुन् । उनले २०४६ सालमा एसएलसी उत्तीर्ण गरेपछि गाउँकै सरस्वती आधारभूत विद्यालयमा पढाउन थाले । उनी २०६५ सालमा गाउँमै व्यावसायिक कृषि खेतीको सुरु गरे । अहिले शिक्षण पेसाबाट स्वैच्छिक अवकाश लिई व्यावसायिक खेतीमै समय दिएका छन् र गाउँलेहरूलाई पनि उत्प्रेरित गरिरहेका छन् ।
उनले करिब १४ रोपनी जग्गामा किवी र बुद्ध चित्र मालाको खेती गरिरहेका छन् । उनले वार्षिक कम्तीमा ३ लाखसम्म आम्दानी हुने बताउँछन् । स्याउ खेती पनि सुरु गरे तापनि सफल नभएको बताउँछन् । गाउँमा टिम्मुरको पनि व्यावसायिक खेती गरिएको छ ।
स्यालाखदी क्षेत्रमा अहिले प्रशस्त रूपमा किवी उत्पादन भएको तर बजारीकरणको समस्याले गर्दा केही बोटमै कुहिएर गएको तथा केहीले प्रतिकिलो ६० रुपैयाँको दर सम्म झरेर विक्री गर्न थालेकोले नोक्सानीको समस्या झेलिरहेको उनको भनाइ छ ।
उनी हाल २ नं वडाको वडा सदस्य र जिल्ला समन्वय समितिका सदस्य रहेका छन् ।
७) मनराज गिरी, शीतल पोखरी (फोन नं. ९७६६२३९६०६)
मुसिकोटको वडा नं ८ क्वाम्मामा २०१८ साल चैत्र १८ गते मनराज गिरी जन्म भएको हो । उनले मुसिकोटको ४ नं वडाको शीतलपोखरीनजिकै २०७२ सालदेखि कृषि नर्सरी चलाइरहेका छन् । उनको नवदुर्गा फलफूल जडीबुटी नर्सरी नामको नर्सरीमा फलफूल, जडीबुटी, मसलाहरू, फूलहरू र बगैँचा सजाउने विभिन्न प्रकारका वनस्पतिहरू उत्पादन गर्ने गर्दछन् ।
मनराजले स्थानीय वन समूहको सचिव र खानीडाँडा बीउ आलु समूहको अध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनी नेपाल मानव धर्म सेवा समिति रुकुम शाखामा २०५६ सालदेखि आबद्ध भई हाल उक्त शाखाको सल्लाहकारको भूमिकामा पनि छन् ।
उनको नर्सरीमा खास गरी स्याउ, दाँते ओखर, किवी, एभोकाडो, सुन्तला, कागती, रुखकटहर, लहरे आँप, स्याउलगायतका फलका बिरुवाहरू, पाउलोनिया, टुनी, राइखन्योलगायतका डाले घाँसको बिरुवाहरू, श्रीखण्ड, अगरउड, सावरसपलगायतका जडीबुटीजन्य बिरुवाहरू, नेपियर, खरीलगायतका घाँसका बिरुवाहरू र विभिन्न तरकारी तथा फूलहरूको बेर्नाहरूसमेत उत्पादन तथा विक्री वितरण हुने गरेको छ ।
उनले सुरुमा रु २ लाख ५० हजारबाट कृषि नर्सरी सुरु गरी हाल वार्षिक रु १ लाख ५० हजार खुद नाफा गरिरहेका छन् भने दर्जनौँलाई रोजगारी पनि दिइरहेका छन् ।
यसैगरी दलबहादुर खड्का अर्का कृषि व्यवसायी हुन् । उनले फेडरल इन्भेष्टमेन्ट प्रालि सञ्चालन गरेर मुसिकोट २ मा वर्षौँ देखि बाख्रा पालन र मत्स्य पालन गरिरहेका छन् । उनले कृषिबाट आत्मनिर्भरताकाे नीति लिएका छन् । उनेले व्यावसायिक कृषिबाट केही मान्छेलाई प्रत्यक्ष रोजगारी दिएका छन् । व्यवसायलाई अझ विस्तार गर्दै रोजगारी बढाउने उनको लक्ष छ । उनले हालसम्म २ करोड लगानी गरिसकेका छन् ।
धिरन सिर्पाली, छिबाङले सोलाबाङमा दुग्ध सहकारी उद्योग तथा नयाँगाउँमा बाख्रा फर्म चलाएर दर्जनौँलाई रोजगारी दिनुको साथै दुग्धजन्य पदार्थको आपूर्ति गरिरहेका छन् । मानबहादुर शाही, नुवाकोटले कीर्तिपुरमा कालिज लौकाटको फर्म चलाउनुको साथै केही वर्षसम्म व्यावसायिक कृषि खेती पनि चलाए । प्रेम विष्टले कीर्तिपुरमै कृषि उद्योग चलाएका थिए । ज्ञानबहादुर ओली, छिबाङले पनि तरकारी तथा बीउ उत्पादनबाट बर्सेनि लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् । रुकुमेलीहरूले रुकुममा मात्र नभई काठमाडौँ, दाङ, नेपालगन्ज, बाँके, बर्दियासम्म पुगेर व्यावसायिक कृषि खेती गरेर मनग्गे आम्दानी गर्नुको साथै अन्य बेरोजगार व्यक्तिहरूको लागि प्रेरणाको भूमिका खेलिरहेका छन् ।
कृषि पेसामा के छ र ? भन्नेहरूको लागि यी व्यावसायिक कृषकहरू भने कृषिमा पनि गरे नहुने के छ र भन्ने सन्देशका गतिलो उदाहरणहरू हुन् । यसरी हरेक परिवारको हरेक सदस्य व्यावसायिक खेतीमा संलग्न हुने हो भने हालको वैदेशिक पलायनको समस्या धेरै हदसम्म रोकिने भई देश स्वावलम्बनतर्फ अगाडि बढ्ने सम्भावना देखिन्छ । कृषि उद्यमलाई सम्मान गर्ने नेताले आगामी चुनाव जितुन् शुभकामना छ ।





-1759842583.jpg)