Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथाउत्तरगंगा गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु 

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । गाउँपालिकाको आयोजना र वडा नम्बर ५ को देउराली मावि हुकामको व्यवस्थापनमा आजबाट शिल्ड सुरु भएको हो । शिल्डको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दिलकुमारी बुढाले उद्घाटन गर्नुभयो ।

राष्ट्रपति रनिङ शिल्ड सञ्चालन तथा निर्देशक समितिका संयोजक एवं गाउँपालिका सामाजिक विकास समितिका संयोजक टिकासाई घर्ती मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बुढाको प्रमुख तथा गाउँपालिका अध्यक्ष पुणिराज घर्ती, प्रमुख जिल्ला अधिकारी सीता परियार र गाउँपालिका उपाध्यक्ष नरपुरा बुढा पुनको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक उमाशंकरप्रसाद यादव, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख सुमनकुमार भण्डारी, प्रमुख अनुसन्धान अधिकृत सङ्गीत भट्ट, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतम, गाउँपालिका शिक्षा समिति सदस्य जनबहादुर घर्ती लगायतको पनि आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन देउराली माविका शिक्षक शिशिर घर्तीमगरले गर्नुभएको थियो । शिल्डमा गाउँपालिकाका ८ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहको गाउँपालिकाले जनाएको गाउँपालिकाका सहायक शिक्षा अधिकृत रामप्रसाद खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिल्डमा छात्र छात्रा सटफुट, ज्याभलिङ थ्रो, त्रिपलजम्प, लङजम्प, हाइजम्प, १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटर दौड तथा विभिन्न दुरिको रिले दौड, कबड्डी, भलिबलमा प्रतिस्पर्धा हुने छ । शिल्ड मंसिर २१ गते समापन हुने छ ।

त्यस्तै आज अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिर जवाफ प्रतियोगिता सञ्चालन गरिएको छ । जसमा देउराली मावि हुकाम प्रथम, पुथा हिमालय मावि मैकाट द्वितीय, पर्वत मावि कोल तृतीय र सिद्ध मण्डली मावि राङसी सान्त्वना भएको उहाँले बताउनुभयो । हाजिर जवाफमा ८ वटा माविको सहभागिता रहेको थियो ।    

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update