क) राष्ट्रिय खण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) विगत दुई वर्षदेखि आन्तरिक द्धन्द र अन्तर विरोधमा फसिरहेको छ । पार्टीलाई लोकतान्त्रीकरण गर्ने, नियमित महाधिवेशन गर्ने, नेतृत्व परिवर्तन तथा पुस्ता हस्तान्तरण, आन्तरिक लोकतन्त्र, पद्धति र नियमको पालना लगायतका विषयहरू जनार्दन शर्माले उठाएपछि अन्तर्विरोधको शृङ्खला सुरु भएको देखिन्छ । जनार्दन शर्माले पार्टी केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव पेस गर्दै अध्यक्ष प्रचण्डको भूमिकामा पुनर्विचार गर्नुपर्ने कुरा प्रस्तुत गरेका थिए । यस विषयलाई लिएर प्रचण्ड पक्षले जनार्दनले पार्टी विभाजन गर्न खोजेको भन्दै हल्ला गरिरहेको सन्दर्भले प्रचण्ड–जनार्दन सम्बन्ध झन् चिसिएको छ । विगतमा अनेरास्ववियु (क्रान्तिकारी), वाइसीयल नेपाल, प्रेस सेन्टर, अनेमसंघ (क्रान्तिकारी) लगायतका भातृ तथा जन वर्गीय सङ्गठनका महाधिवेशनमा स्पष्ट दुई गुट बनेर नेतृत्व चयन भएको देखिन्छ । विद्यार्थी सङ्गठनमा जनार्दनका पक्षमा बहुमत भएता पनि अन्य सङ्गठनहरूमा ६०–४० प्रतिशत हुँदा जनार्दन अल्पमत मै छन् । केन्द्रीय समितिमा गणितमा जर्नादन अल्पमतमा रहेता पनि केही प्रदेशहरूमा उनको एकलौटी छ भने केही प्रदेशहरूमा ६०–४० देखिन्छ । प्रचण्ड पक्ष देश दौडाहामा लागेर जनार्दनले पार्टी फुटाउन लागेको र जनार्दन तिर नलागी प्रचण्ड पक्षमा लाग्नु भन्ने सन्देश दिँदै कार्यकर्ता भेटघाट गरिरहेको देखिन्छ । त्यसै गरी जनार्दनलाई खुइल्याउन प्रचण्ड पक्ष सामाजिक सञ्जालमा नराम्रो सँग लागिरहेको छ । तर जनार्दन पक्षका कार्यकर्ताहरू तटस्थ रहेको र जर्नादन आफै पनि मौन रहेको जस्तो देखिन्छ । कहिलेकाहीँ सामाजिक सञ्जाल मार्फत मेरो अभियान पार्टी फुटाउने होइन एकता बद्ध गर्ने, पार्टी पुन गठन गर्ने र पार्टीलाई पुन जीवन दिने हो भन्दै हल्लाको पछाडि नलाग्न कार्यकर्तामा अपिल गरेको देखिन्छ । जेन्जी आन्दोलन पछि युवा पुस्तामा मात्र होइन राष्ट्रिय मनोविज्ञानमा निकै परिवर्तन आएको छ । पार्टीहरूको पुन निर्माण, पुनर्गठन, नेतृत्व हस्तान्तरण, युवा सहभागिता र विधिका कुराहरू जबरजस्त उठेका छन् । पछिल्लो मनोविज्ञान अनुसार जनार्दनले आफ्ना विचारहरू पार्टीमा दर्ता गरिरहँदा प्रचण्ड पक्ष यो मनोविज्ञानमा अगाडी वढ्न नचाहेको देखिन्छ । विशेष महाधिवेशनको निर्णय भएता पनि केही अन्य दल सँग पार्टी एकता गरी महाधिवेशनलाई जसरी पनि टार्ने र एकताको महाधिवेशनका नाममा फेरी पनि प्रचण्डले टिका लगाएर नेता बनाउने चाल सुरु भएको जनार्दन पक्षको दाबी छ । जनार्दनले वर्तमानको मनोविज्ञानलाई कसरी सम्बोधन गर्ने हुन यो खुलेको छैन तर उनले विगतमा माओवादी केन्द्रको नाम परिवर्तन चुनाव चिन्ह परिवर्तन गरेर भए पनि बृहत् वामपन्थी एकता गरी समाजवादी क्रान्तिमा अगाडी बढ्नुको विकल्प नभएको भनी प्रस्ताव राखेका थिए । त्यो बेला प्रचण्ड पक्षले यो विचारलाई अस्वीकार गरेको थियो । हाल आएर प्रचण्डले नेकपा समाजवादी को बहुमत पक्ष सँग पार्टी एकताको लगभग टुङ्गो लगाएका छन् । समाजवादी सँग पार्टी एकता भए न माओवादी केन्द्र रहने छ न चुनाव चिन्ह । यस अर्थमा विगतको जनार्दनको लाइन पास भएको देखिएता पनि आन्तरिक एकतालाई सुदृढ नगरी बाह्य एकताको कुनै गुनजायस नभएकोले यो एकता अग्रगामी नरहेको र यसबाट माओवादी आन्दोलनलाई कुनै पनि फाइदा नहुने जनार्दन पक्षको दाबी छ । राष्ट्रिय मनोविज्ञान अनुसार हाल देश सुशासनको विषयलाई लिएर खरानी भइरहेको सन्दर्भमा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भ्रष्टाचार मुद्दामा छानबिनमा रहेकोले यो मुद्दाको किनारा नलागे सम्म माधवकुमार नेपाल सँग एकता गर्नु वर्तमान मनोविज्ञान विपरीत रहेको दुवै तर्फका कार्यकर्ताहरूको सुझाव पनि देखिन्छ । समाजवादी सँग एकता गर्दा नेकपा माओवादी केन्द्र र यसले प्रयोग गर्ने चुनाव चिन्ह समेत नरहेपछि नेकपा माओवादी केन्द्र पूर्णरुपमा विघटनमा जाने छ । पार्टीको अस्तित्व, नाम, विचार र चुनाव चिन्ह नै नरहेपछि पार्टी पुन गठनको संघारमा पुगेको र माओवादी पार्टीको संस्थापक का रूपमा प्रचण्ड या जनार्दन ? एक थरी कार्यकर्ता यो बहसलाई चर्काइरहेका छन् । अर्को तर्फ पछिल्लो घटनाक्रम अनुसार माओवादी पार्टी विगठन गरी महाधिवेशन आयोजक समिति रहेको र पार्टी विगठन भए पछि पूर्ण रूपमा पुन गठनको विकल्प नरहेको जनार्दनले जिकिर गरिरहेको देखिन्छ । संक्षिप्तमा भन्नु पर्दा माओवादी केन्द्र भित्रको यो विवाद केवल दुई व्यक्ति बिचको होइन, नेतृत्व–शैली, आन्तरिक लोकतन्त्र, युवा उदय, गुटबन्दी संरचना लगायतका गहिरा विषयहरूको सङ्केत हो । यदि पार्टीले यसलाई समयमै समाधान गरेन भने यो केवल अस्थायी समस्या नभई दीर्घकालीन सङ्कटका रूपमा परिणत हुन सक्छ । यसले राष्ट्रिय राजनीतिमा समेत असर गर्न सक्छ । माओवादी प्रति वढ्दै गएको क्रेज, सकारात्मक मनोविज्ञान पैदा भएको बेला माओवादी फुट्नु भनेको देश अझ अस्थिरता तिर धकेलिनु हो । नेपालको राष्ट्रिय राजनीतिमा माओवादी केन्द्र संसदीय गणितमा कमजोर देखिएता पनि अग्रणी राजनैतिक शक्ति रहेको कुरा पुष्टि भइरहेको छ । माओवादी केन्द्रको शक्तिका रूपमा प्रचण्ड–जनार्दन पूरक शक्ति हुन । प्रचण्ड विनाको जनार्दन र जनार्दन विनाको प्रचण्ड कुहिरोको काग हुन सक्ने खतरा वढ्दै गएको देखिन्छ । निकै लामो समयको सामन्तवादी राज्यसत्तालाई उल्टाएर गणतन्त्र स्थापना गरी अल्पसङ्ख्यक, दलित, महिला, जनजाति, सुदूर भूगोलका नागरिकहरूको अधिकारलाई समेत सुनिश्चित गरी आफ्नै लाइनमा संविधान निर्माण गराउन मात्र होइन राज्यको पुनर्संरचना गर्ने क्रममा भूगोलको बाँडफाडलाई आफ्नै दृष्टिकोणमा ढाल्न सक्ने क्षमता भएको प्रचण्ड–जनार्दन पावर दुई भागमा बाँडिदा एउटा राष्ट्रिय सङ्कटको सुरुवात हुन सक्छ । आशा छ यो रोकियोस् । वेस्ट अफ लक ।
ख) रुकुम पश्चिम खण्ड
रुकुमको अतुलनीय विकास, अवसर, नेतृत्वदायी क्षमता, राष्ट्रिय स्तरको पहुँच र अभिभावकत्वको दृष्टिकोणले हेर्ने हो भने वर्तमान अवस्थामा रुकुम पश्चिममा जनार्दन शर्माको विकल्प देखिँदैन । सयौँ कार्यकताहरुले जनार्दनलाई असल अभिभावक मानिरहँदा हजारौँ नागरिकहरू उनलाई भगवान् मान्दछन् । उनले रुकुमको विकासमा पुर्याएको योगदान, पहल र संघर्षको कुनै मापन छैन । रुकुम जिल्लामा उनको कार्यकालमा भएको विकास र स्थानीय नेता कार्यकर्ता जनताले पाएको अवसरको कुरा गर्ने हो भने यो इतिहास अव दोहोरिन्छ वा दोहोरिँदैन अन्योल नै छ । यस अर्थमा रुकुम पश्चिममा जनस्तरको मनोविज्ञान हेर्दा जर्नादनको विकल्प नरहेको पुष्टि हुन्छ । जनार्दन पछिको रुकुम पश्चिमको नेतृत्वको क्रियाशीलतालाई हेर्ने हो भने सात पुस्ता क्रियाशील भई लाइन लागेर बसेको देखिन्छ त्यो जनार्दनमा केन्द्रित थियो । यसरी पुस्ता विश्लेषण गर्ने हो भने राजकुमार शर्मा दोस्रो पुस्तका नेता मानिन्छन् उनी जनार्दनको पक्षमा खुलेर लागेका छन् यो पुस्ताका रुकुममा प्रचण्ड पक्षधर कोही छैन । तेस्रो पुस्ताबाट विमला के.सी., गोपाल शर्मा, गोविन्द रोका, धनवीर ओली प्रचण्डको पक्षमा खुलेरै लागेका छन् भने गोर्खबहादुर के.सी., पुष्प वादी जनार्दनको पक्षमा खुलेरै लागेका छन् । तेस्रो पुस्ता मानिने केन्द्रीय सदस्यहरू लगभग ७० प्रतिशत प्रचण्डको पक्षमा उभिएको देखिन्छ । चौथो, पाँचौँ र छैटौँ पुस्ताको क्रेज जनार्दन तिर देखिन्छ, यो टिम लगभग ८० प्रतिशत जनार्दनको पक्षमा देखिन्छ । बौद्धिकता, ऊर्जा, क्षमता, क्रियाशीलता, सृजनशीलता र अवसर नपाएको यो पुस्ता जनार्दनको पक्षमा स्पष्ट तरिकाले उभिएको देखिन्छ । तेस्रो पुस्तामा माओवादी पार्टी र जनार्दनबाट अवसर नपाएका कोही पनि छैनन् । प्रदेश माननीय, नगरपालिका/गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, संस्थानहरूका जिएम, राजनैतिक नियुक्ति, पब्लिक कम्पनीका अध्यक्ष/सिइओ, विकास समितिका अध्यक्षहरू, आयोग र बोर्डका सदस्यहरू, जिल्ला समन्वयका पदाधिकारी र सदस्यहरू कुनै न कुनैमा जनार्दनले सेटल गरेको देखिन्छ । श्रीमान् नभए श्रीमती, श्रीमती नभए, भाइ छोरा सम्मको अवसर मात्र होइन, सत्तामा श्रीमान् –पार्टीमा श्रीमती, संस्थानमा छोरा, छोरी जुवाइँ समेत छ भने फेरी सत्तामा श्रीमती–पार्टीमा श्रीमान्, घरैका मान्छेहरू स्वकीय, सल्लाहकार देखि सचिवालय सम्ममा दोस्रो र तेस्रो पुस्ताका कोही पनि अवसरबाट वञ्चित भएको देखिँदैन तर कम बढी हुन सक्छ । बराबर गर्न नसकेका कारण यी सबै रुष्ट छन्, जनार्दनका विपक्षमा छन् । केही जनार्दनको विकल्पमा नेता बन्न चाहन्छन् । के जते खसेपछि खान्छु भन्दै आँ... गरेर बस्नेको कमी छैन । विपक्षी पार्टीहरूमा पनि त्यस्तै छ । माओवादी फुट अवसरका रूपमा लिएका छन् । चौथौँ पुस्ता पछाडिको टिम लगभग अवसर पाएको देखिँदैन । यो टिमले अवसरवादीहरूलाई खासमा रुचाउँदैन । चौथो पुस्ताबाटै नेतृत्वको खोजी गरिरहेको छ ।
पालिका स्तरको विश्लेषण गर्ने हो भने चौरजहारी नगरपालिकाको नगर समिति बहुमत प्रचण्डको पक्षमा उभिएको देखिन्छ तर यस पालिकामा क्रियाशील, जुझारु युवाहरूको एउटा टिम नगर समितिमा छैन । लगभग समानान्तर कमिटी जस्तो चलाएर पार्टी सञ्चालन गरिरहेको छ । जसको नेतृत्व वाइसिएल केन्द्रीय उपाध्यक्ष शैलेश शर्मा, पूर्व नगर अध्यक्ष सुदास स्वर्णकार, वाइसिएल जिल्ला अध्यक्ष एलवि कटुवाल, खुमवहादुर खडका लगायतका स्थानीय नेताहरूले गरिरहेका छन् यस अर्थमा भन्नु पर्दा जनमतको हिसाबले जनार्दन बलियो देखिन्छन् । आठविसकोट नगर समितिका अध्यक्ष मनिराज बटाला सहित लगभग असी प्रतिशत जनार्दनको पक्षमा उभिएको देखिन्छ । यस पालिकामा पनि जनार्दनको जनमत बलियो देखिन्छ । बाँफिकोट गाउँपालिकामा गाउँ समितिको लगभग ५० प्रतिशत हाराहारी प्रचण्डको पक्षमा उभिएको छ । २५ प्रतिशत केही बोलेका छैनन् २५ प्रतिशत जनार्दन पक्षमा बोलेको देखिन्छ । यस पालिकामा कसको बहुमत हुन्छ भन्न सकिँदैन । सानोभेरी गाउँपालिका विमला के.सिको आफ्नै पालिका भएता पनि पार्टी कमिटी ५०/५० प्रतिशत देखिन्छ । गाउँपालिका अध्यक्ष लगायत धेरै वडा अध्यक्षहरू मौन बसेका छन् । चौथो र पाँचौ पुस्तका युवाहरू एकमतले जनार्दनको पक्षमा उभिएको देखिन्छ । ग्रामीण सर्वसाधारणहरू जनार्दनको भक्ति गाउँछन् । त्यसैले जनमत जनार्दन तिरै छ । त्रिवेणी गाउँपालिका जनार्दनको पटककै रूपमा मानिन्छ । गाउँपालिका अध्यक्ष देखि धेरै दोस्रो र तेस्रो पुस्ताका नेताहरू मौन बसेको भएता पनि चौथौँ पुस्ता, वाइसीएल, जन वर्गीय सङ्गठनका नेताहरू खुलेर जनार्दनको पक्षमा लागेको देखिन्छ ।
निर्णायक मुसिकोट हुने
अन्य पालिकाहरूमा जे सुकै थप घट वा परिवर्तन भएता पनि केन्द्रीय सदस्यहरूको आधारमा जनार्दन अल्पमतमा भएता पनि जनमतमा जनार्दनको पल्ला भारी नै छ । सही दिशा निर्देश गर्न सकेमा जनार्दनको पक्षमा अवसर नपाएका, सृजनशील, बौद्धिक, जुझारु, परिपक्व, नेतृत्वदायी क्षमता भएका युवाहरूको टिम भएकोले जनमत संकलनमा जनार्दनलाई कुनै अप्ठ्यारो देखिँदैन । तर हालसम्मको अवस्थामा आइपुग्दा मुसिकोट नगरपालिका निकै तटस्थ देखिन्छ । मुसिकोटमा पहिलो पुस्ताका नेता पूर्व नगरप्रमुख देवीलाल गौतम र मुसिकोट नगरका पार्टी अध्यक्ष दलबहादुर खडका मुख्य केन्द्रबिन्दुमा छन् । यस पालिकामा अन्य थुप्रै इमानदार, जनप्रिय, सङ्घर्षशील अवसर नपाएका नेताहरू भएता पनि मुसिकोटमा नेतृत्वमा खासै अन्तर विरोध नदेखिएको र नेतृत्वमा पुस्तान्तरण एवं समावेशीकरणको कारण एकता र भावनात्मक हिसाबले यो पालिका निकै बलियो छ । पहिलो पुस्ताको नेता देवीलाल गौतम इन्चार्ज, चौथो पुस्ताका नेता दल बहादुर खडका अध्यक्ष, लगभग छैटौँ पुस्ताका मानिने नेता नारायण के.सी. सचिव रहेको र उनीहरूबिच एकता, सम्बन्ध, नेतृत्व निर्देशन, बुझाई लाइन र भावनामा फरक देखिँदैन त्यसैले यो पालिकाको जनमत देवीलाल गौतम र दलबहादुर खड्कामा केन्द्रित हुने पक्का छ । यसका महत्त्वपूर्ण कारणहरू छन् । देवीलाल गौतम निकै त्यागी र जनप्रिय नेता हुन । उनी नगर प्रमुख हुँदा निकै धेरै काम गरे तर उनी विवादित विरलै भए । उनको सबै पुस्ताका कार्यकर्ताहरू सँग उस्तै सम्बन्ध छ । उनको सरलता र सोझोपनाको कहिले काहीँ दुरुपयोग हुने गरेता पनि धेरैले उनको सरलता र सोझोपना प्रति श्रद्धा गर्छन् । यस कारण मुसिकोटको जनमत उनीसँग निर्भर हुनसक्छ । पार्टी अध्यक्ष दलबहादुर खडका मुसिकोटमा निकै धेरै स्थापित नेता हुन । उद्योग व्यापार क्षेत्र, शिक्षा क्षेत्र, गैरसरकारी क्षेत्र, व्युरोक्रेसी तथा प्रशासनिक संयन्त्रसँगको सम्बन्धमा उनी निकै अनुभवी र जानकार छन् । उनको सरल जीवनशैली, तार्किक र स्पष्ट वक्ताको कारण युवा, बालबालिका, अल्पसङ्ख्यक, उत्पीडित वर्ग, पहुँच विहीनहरूको संरक्षणमा उनी सधैँ अगाडी हुन्छन् । अग्रज पुस्तालाई निकै आदर भावका साथ ग्रहण गर्ने क्षमताका कारण ज्येष्ठ नागरिकहरूमा पनि उनी उत्तिकै जनप्रिय छन् । निर्णय क्षमता, हस्तक्षेपकारी भूमिका र अग्रगतीमा पहलकदमी साथै क्रियाशीलता र अवसर नपाएको नेताको रूपमा उनलाई सबैले स्वीकार गर्छन् । मुसिकोट मात्र होइन जिल्लाभरिको युवा शक्तिको नेटवर्क भित्र उनी पपुलर छन् । मुसिकोटका जन वर्गीय सङ्गठन, भातृ सङ्गठन, पेसागत सङ्गठनहरूमा उनको उतिकै विश्वास छ । सामाजिक सेवा र नागरिक सम्बन्धमा उनको उतिकै प्रयास छ । विपक्ष पार्टीहरूको सम्बन्धमा पनि उनलाई हो भन्न नसके पनि होइन भन्न सक्ने अवस्था छैन । धेरै विषयमा अध्ययन र विज्ञता राख्ने क्षमता भएका कारण कुनै न कुनै तरिकाले नागरिकहरू उनीसँगको सामाजिक वा व्यावसायिक सम्बन्धमा आउनै पर्छ । यस कारण उनको जनमत बलियो छ । देवीलाल गौतम र दल बहादुर खडका मौन रहेको अवस्था भएता पनि कतै न कतै उनीहरूका प्रतिनिधि पात्रहरू अलि अलि बोलिरहेको देखिन्छ । प्रेस सेन्टरका नेता मेघराज खडका लगायत, वाइसिएलका नेताहरू, विद्यार्थी सङ्गठनका प्रमुखहरू, उनीहरू निकट बुद्धिजीवी व्यापारीहरू र युवाहरूको सामाजिक सञ्जाल हेर्ने हो भने दल बहादुर खडका निकट पात्रहरू भएको कारण मुसिकोटमा जनार्दनकै पल्ला भारी हो कि भन्ने अवस्था देखिन्छ । मुसिकोटमा यस बाहेक पनि एउटा ठुलो तप्का छ । पूर्व उप प्रमुख प्रेम कुमारी सुनार, नेता गोपेश्वर केसी., जय बहादुर पाण्डे, पूर्व नगर अध्यक्ष धिरण सिर्पाली, मुसिकोट सरकारका वडा अध्यक्षहरू लगभग मौन देखिन्छन् । मौनता एउटा स्वीकृति हो भन्ने अवधारणा अनुसार मुसिकोट पार्टी कन्ट्रोलमै छ र यो मौनता कतै न कतै जनार्दनको समर्थन हो कि भन्ने बुझिन्छ । जनार्दनको आफ्नै वडामा उनको पारिवारिक जनमत के हुने भन्नेमा प्रश्न छ । भूगोल र पारिवारिक सम्बन्धमा केही जनमतको निर्भरता हुन सक्छ । विमला केही जनार्दनको विपक्षमा देखिएपछि उनका श्रीमान् वसन्तकुमार शर्माको के हुने? पहिलो पुस्तका त्यागी नेता बुद्धि प्रसाद शर्मा र उनकै छोरा पूर्व नगर समिति सचिव सुशील गौतमको समर्थन जनार्दनलाई होला कि नहोला? नेपाल सरकारका पूर्व सह सचिव भरतकुमार शर्मा समेत जनार्दन शक्तिमा हुँदा जनार्दन सँग राम्रै सहकार्य गरेको देखिन्थ्यो । यस्ता धेरै पात्रहरू छन् जो समर्थनको प्रश्न अनुत्तरित छ । स्थानीय भूगोल, पारिवारिक विरासत, नाता सम्बन्धको कारण जनार्दनलाई समर्थन गर्छन् भन्ने विश्वास छ । त्यसैले मुसिकोट पल्ला भारी हुँदा जनार्दनलाई रुकुम पश्चिममा खासै समस्या देखिएन ।




-1759842583.jpg)