
"The Girl I Am, the Change I Lead" नाराका साथ अन्तर्राष्ट्रिय बालिका दिवस २०२५ अक्टोबर ११ विश्वभरि मनाइँदै छ । जसको अर्थ हो बालिकाहरूले सामना गर्ने चुनौतीको समाधान, बालिका सशक्तीकरण र मानव अधिकारको सुनिश्चितताको लागि बालिका आफैले नेतृत्व गर्नु हो । न्यायपूर्ण, समावेशी र समृद्ध भविष्य तथा समाज निर्माणका लागि बालिका स्वयंले नेतृत्व लिनु पर्छ ।
बालिका तथा महिला सम्बन्धी विद्यमान कानुनी, धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक विभेद विरुद्धको अभियान र पैरवीको नेतृत्व बालिका स्वयंले नै गर्नेछन् । परिवर्तनको लागि नेतृत्व गर्नेछन् र समानताको लागि लड्नेछन् ।
अन्तर्राष्ट्रिय बालिका दिवस निम्न उद्देश्यका साथ मनाइने गरिन्छः
सचेतना बढाउने: बालिकाहरूले सामना गर्नुपर्ने विशेष चुनौतीहरू जस्तै भेदभाव, शिक्षा प्राप्तिको अभाव, र लैङ्गिक हिंसा आदितर्फ विश्वव्यापी ध्यानाकर्षण गराउने ।
लैङ्गिक समानता प्रवर्द्धन गर्ने: बालिकाहरूको समान अवसर र अधिकारको पक्षमा वकालत गर्दै, दिगो विकासमा उनीहरूको महत्त्वपूर्ण भूमिकालाई मान्यता दिने ।
बालिकाहरूलाई सशक्त बनाउने: बालिका तथा युवा महिलाहरूलाई आफ्ना सपना र आकाङ्क्षा पूरा गर्न प्रेरित गर्ने तथा नेतृत्व र नवप्रवर्तनकर्ता बन्न उत्साहित गर्ने ।
कार्यका लागि आह्वान: सरकार, समुदाय, र व्यक्तिहरूलाई बालिकाहरूको पक्षमा ठोस कदम चाल्न र उनीहरूको भविष्य सुरक्षित गर्न सहयोग गर्न प्रोत्साहित गर्ने ।
सन् १९९५ मा बेइजिङमा आयोजित विश्व महिला सम्मेलनमा सहभागी देशहरूले सर्वसम्मत रूपमा बेइजिङ घोषणा र कार्य योजना (Beijing Declaration and Platform for Action) अगाडि सारे जसले महिलाको मात्र नभएर बालिकाहरूको अधिकार प्रवर्द्धनका लागि सबैभन्दा प्रगतिशील खाका प्रस्तुत गर्यो । बेइजिङ घोषणाले पहिलो पटक विशेष रूपमा बालिकाहरूको अधिकारलाई औपचारिक रूपमा सम्बोधन गरेको थियो।
विश्वभरका बालिकाहरूको अधिकार र उनीहरूले सामना गरिरहेका विशेष चुनौतीहरूलाई मान्यता दिनका लागि सन् २०११ डिसेम्बर १९ मा संयुक्त राष्ट्र सङ्घको महासभाले सङ्कल्प नं. ६६/१७० पारित गरी अक्टोबर ११ लाई “ अन्तर्राष्ट्रिय बालिका दिवस (International Day of the Girl Child)” का रूपमा घोषणा गर्यो । सन् २०१२ अक्टोबर ११ मा पहिलो पटक अन्तर्राष्ट्रिय बालिका दिवस मनाइयो ।
“अन्तर्राष्ट्रिय बालिका दिवस” ले बालिकाहरूले सामना गरिरहेका समस्या समाधान गर्न उनीहरूलाई नै सशक्तीकरण गर्दै मानव अधिकारको सुनिश्चिततामा जोड दिन्छ ।
बालिकाहरूलाई सुरक्षित, शिक्षित र स्वस्थ जीवन जिउन पाउने अधिकार छ । बालिका हुँदाको समयमा मात्रै नभएर जब उनीहरू महिलामा रूपान्तरण हुन्छन् तब पनि सुरक्षित, शिक्षित र स्वास्थ्य जीवन जिउन पाउनु पर्छ । त्यसको लागि किशोरावस्थामा उनीहरूलाई प्रभावकारी रूपमा सहयोग र समर्थन गरियो भने, उनीहरूले विश्व परिवर्तन गर्ने क्षमता राख्छन् । जस्तै आज सशक्त छोरीका रूपमा र भोलि सशक्त पेसाकर्मी, आमाहरू, उद्यमी, शिक्षक, परिवारका प्रमुख, सरकारी निकाय हाँक्ने नेतृत्व तथा राजनीतिक नेतृका रूपमा ।
जब हामी बालिकाहरूमा लगानी गर्छौँ, हामी सबैको लागि अधिक समान, न्यायपूर्ण र आशावान विश्व सिर्जना गर्छौँ । बालिकाहरूको शक्तिलाई साकार गर्न गरिएको लगानीले आज उनीहरूको अधिकार सुरक्षित गर्छ र समान तथा समृद्ध भविष्यको सुनिश्चित गर्छ जसले जलवायु परिवर्तन, राजनीतिक द्वन्द्व, आर्थिक विकास, रोग नियन्त्रण र विश्वव्यापी दिगोपनाका समस्याहरूको समाधानमा समान रूपमा योगदान गर्न सक्छन् ।
दिगो विकास लक्ष्य २०३० (2030 Agenda for Sustainable Development Goals) र त्यसअन्तर्गतका १७ दिगो विकास लक्ष्यहरू (SDGs) ले सबैका लागि दिगो र समावेशी प्रगतिको बाटो देखाउँछ, जसले कसैलाई पनि पछाडि पार्दैन ।
लैङ्गिक समानता र महिलाको सशक्तीकरण यी सबै १७ लक्ष्यहरूसँग गहिरो रूपमा सम्बन्धित छ। महिला र बालिकाहरूको अधिकार सुनिश्चित नगरी हामी न्याय, समावेशी, सबैका लागि उपयोगी अर्थतन्त्र, र वर्तमान तथा भविष्यका पुस्ताका लागि दिगो वातावरणसम्म पुग्न सक्दैनौँ ।
युनिसेफ र युनेस्कोको अनुसार विश्वमा बालिका र महिलासँग सम्बन्धित केही यस्ता तथ्यहरू छन् :
-युनेस्कोका अनुसार, सन् २०२० को सुरुमा विश्वभरि १३२ लाख बालिकाहरू विद्यालय बाहिर थिए ।
-कम आय भएका देशहरूमा बालिकाहरू (१२-१७ वर्ष) विद्यालय छोड्ने जोखिममा रहँदै आएका छन् ।
-प्राथमिक तहको सम्पूर्ण बालबालिकाहरूमध्ये तीन-चौथाइ बालिकाहरू कहिल्यै पनि विद्यालयमा पुग्न नसक्ने अवस्थामा छन् ।
-विश्वमा ७५ करोड निरक्षर वयस्कहरू मध्ये लगभग दुई-तिहाइ महिलाहरू निरक्षर रहेका छन् ।
-५७५ लाखभन्दा बढी बालिकाहरू यस्ता मुलुकहरूमा बसोबास गर्छन् जहाँ लैङ्गिक असमानताले उनीहरूको शिक्षा लिने अधिकारको उल्लङ्घन सहित अन्य अधिकारहरूको उल्लङ्घन हुँदै आएको छ।
-१५–१९ वर्षका बालिकाहरू शिक्षा, रोजगार वा तालिमबाट वञ्चित हुनुपर्ने सम्भावना किशोरहरूभन्दा दोब्बर छ ।
-१५–१९ वर्षका लगभग चारमध्ये एक बालिकाले, जो कुनै न कुनै समयमा प्रेम सम्बन्धमा बाँधिएकी हुन्छिन् जसले, आफ्नै प्रेमीद्वारा यौन हिंसा भोगेकी हुन्छिन् ।
-२०–२४ वर्षका हरेक पाँचमध्ये एक बालिका बाल्यकालमा विवाहित छिन् ।
-सङ्कट, सङ्घर्ष र विस्थापनले बालिकाहरूमा बालविवाह, यौन हिंसा र मातृ मृत्युको जोखिम बढाउँछ ।
-पछिल्लो २० वर्षमा, बालिकाहरूको मृत्युको एक प्रमुख कारण आत्महत्या रहेको छ ।
यी नै तथ्यहरू वा चुनौतीहरूलाई सम्बोधन गर्नका लागि आज विश्वभरि नै अन्तर्राष्ट्रिय बालिका दिवस अक्टोबर ११ मनाइँदै छ । बालिकाहरूमा लगानी गर्ने, बालिका शिक्षाको महत्त्व र बालिकाले सामना गर्नु पर्ने चुनौतीबारे साझा अभियान र कदम चाल्दै तथा सचेतना बढाए न्यायपूर्ण, समावेशी, सभ्य र समृद्ध समाज निर्माणमा योगदान पुग्नेछ । आजको बालिका भोलि आफ्नो पूर्ण क्षमतामा पुगेर सिङ्गो देश र विश्व नै हाँक्ने छन् । आत्म विश्वास र आत्म सम्मानका साथ बाँच्नेछन् । भोलिको महिला भएर सगौरव बाँच्नेछन् ।
लेखक बालअधिकारकाे क्षेत्रमा कार्यरत हुनुहुन्छ ।