Kakhara सबैको खबर सम्पूर्ण खबर
बराहटाकुरा टुँडिखेलको स्तरोन्नति गरिँदै 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा रहेको बराहटाकुरा टुँडिखेल स्तरोन्नतिको काम सुरु भएको छ । मैदान सम्म्याउने देखि अन्य संरचना निर्माणको काम सुरु भएको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय रुकुम पश्चिम मार्फत काम चलिरहेको छ । 

कार्यालय प्रमुख धनञ्जय आचार्यका अनुसार ३० लाख बजेटबाट काम सुरु भएको हो । जसअन्तर्गत मैदानमा माटो फिलिङ गरेर सम्म्याउने, घेराबार गर्ने, गेट निर्माण गर्ने, वाल लगाउने र प्याराफिट निर्माणको काम हुने उहाँले बताउनुभयो । मैदानका लागि ३० लाख बजेट रहेको र त्यसमा श्रमदान समेत रहने उहाँको भनाई छ । 

यो जिल्ला सदरमुकाम खलङ्गामा रहेको एक मात्र खुला स्थान हो । राजनीतिक दलका सभा देखि मेला महोत्सव तथा खेलकुद प्रतियोगिता समेत यसै साँघुरो मैदानमा हुने गरेका छन् । विस्तारको कुनै सम्भावना नभए पनि यसैलाई थप व्यवस्थित बनाउने काम भइरहेको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले बताउनुभयो । 

यस ठाउँमा यसअघि नै घेरावार समेत गरिएको थियो । तर संरक्षणको अभावमा तारजाली हराइसकेका छन् । तत्कालीन खेलकुद मन्त्री दलजित शिर्पालीको पालामा मैदानको एक साइटमा निर्माण गरिएको प्याराफिट भने बाँकी रहेको छ । 

जसले गर्दा सभा, मेला, महोत्सव तथा खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । सानो मैदान त्यसमा सबै खेल खेलाउनुपर्ने बाध्यता रहेको छ । मैदान सानो भएकोले धेरै खेलाडी अभ्यासबाट वञ्चित छन् । जसले गर्दा खेलाडी उत्पादन तथा प्रतियोगिताहरू सञ्चालन गर्न समस्या भइरहेको छ । 

अहिले उक्त मैदानमा फुटबल, क्रिकेट, भलिबल तथा मार्सलआर्टका अभ्यास हुने गरेका छन् । तर सानो मैदानका कारण अभ्यासका क्रममा खेलाडीका बिचमा एक अर्कासँग मनमुटाबको समेत अवस्था रहेको छ । यो मैदानमा राष्ट्रिय स्तरका भलिबल खेल सञ्चालन भइसकेका छन् । भने अन्य ठुला प्रतियोगिताहरू पनि भएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update