Kakhara सबैको खबर सम्पूर्ण खबर
पालिका कपको उपाधि सानीभेरीलाई

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ को ट्याखाेलामा आयोजित प्रथम पालिका कप क्रिकेट प्रतियोगिताको उपाधि सानीभेरी गाउँपालिकाले जितेको छ । आज भएको फाइनलमा मुसिकोट नगरपालिकालाई ८ विकेटले पराजित गर्दै सानीभेरीले जितेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको मुसिकोटले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर ५८ रन बनाएको थियो । मुसिकोटका लागि विक्रम ओलीले २५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । मुसिकोटलाई सस्तैमा समेट्न सानीभेरीका बिराज ओलीले २ र भुवन भण्डारी तथा किरण रानाले १-१ विकेट लिए ।

५९ रनको लक्ष पछ्याएको सानीभेरीले ९ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्याे । उसका लागि सूर्य विकले सर्वाधिक २५ र डिल्ली भण्डारीले ११ रनको योगदान गरे । मुसिकोटका अर्जुन बिस्ट र रामकृष्ण परियारले १-१ विकेट लिए ।

सानीभेरी अपराजित रहँदै च्याम्पियन बनेको हो । सानीभेरी मुसिकोट, त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकालाई पराजित गर्दै समूह विजेताका रूपमा फाइनल प्रवेश गरेको थियो भने मुसिकोट समूह चरणमा चौरजहारी र त्रिवेणीलाई पराजित गर्दै समूह उपविजेताका रूपमा फाइनल पुगेको थियो ।

विजेता सानीभेरीले नगद ३० हजार ट्रफि र प्रमाणपत्र पाउँदा उप विजेता मुसिकोटले नगद २० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको आयोजक जिल्ला क्रिकेट संघ रुकुम पश्चिमका सदस्य कुलप्रसाद ओलीले जानकारी दिनुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सानीभेरीका भुवन भण्डारी घोषित भए । उनले साइकल उपहार पाए । त्यस्तै मुसिकोटका विक्रम ओली उत्कृष्ट ब्याट्सम्यान, सानीभेरीका किरण राना उत्कृष्ट बलर र मुसिकोट शुभम् बुढा उत्कृष्ट फिल्डर बने । सर्वोत्कृष्ट सहित व्यक्तिगत इभेन्टमा उत्कृष्ट सबैले मेडल, प्रमाणपत्र र उपहार प्राप्त गरेको ओलीले बताउनुभयो ।

यो खेलबाट जिल्लाको टिम छनोट गरिने ओलीले बताउनुभयो । उहाँका अनुसार टिम केही दिनमा घोषणा गरिने छ । उक्त टिमले राष्ट्रिय प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय छनोटमा भाग लिने छ ।

जिल्लामा पहिलो पटक १६ वर्ष मुनिको प्रतियोगिता आयोजना भएको हो । जिल्लाको क्रिकेट विकासका लागि जिल्ला क्रिकेट संघ र देव्यानी स्पाेर्टस मुसिकोट ५ बागबजार मिलेर प्रतियोगिता आयोजना गरेका हुन् ।

जिल्ला क्रिकेट संघका कोषाध्यक्ष नरबहादुर ओलीको अध्यक्षतामा भएको समापन कार्यक्रममा जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको प्रमुख र प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्ट, सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका लेखा अधिकृत याम बहादुर केसी, बाँफिकाेट गाउँपालिका जिन्सी शाखा प्रमुख लेखराज धिताल, कर्णाली प्रादेशिक क्रिकेट संघका सदस्य कुलप्रसाद ओली र बालकुमार नकाल लगायतको पनि आतिथ्यता रहेको छ ।

कार्यक्रमको सञ्चालन संघका सचिव मनिष खड्काले गर्नुभएको थियो । 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update