
संसारको हरेक प्राणी, चाहे सचेत होस् वा अचेत, कर्ममा लिप्त छ। तर मानव मात्र यस्तो चेतनशील प्राणी हो जसलाई आफ्ना कर्मबारे विचार गर्ने, सुधार गर्ने र त्यसको फल बुझ्ने क्षमता प्राप्त भएको छ। हामी बोल्छौँ, सोच्दछौँ, व्यवहार गर्दछौँ, अनि आशा गर्छौँ-तर प्रायः हामी भूल गर्छौँ कि यी सबै कर्म हुन् र तिनको गहिरो आध्यात्मिक आयाम हुन्छ ।
हरेक व्यक्तिको जीवन प्रारम्भ भएपछि कर्म सँगसँगै गाँसिएर आउने गर्दछ । कर्म भन्ने शब्दले काम, कार्यलाई जनाउँछ । मानव जीवनको मुख्य आधार नै कर्म भएकोले हरेक व्यक्तिले हरेक समय कुनै न कुनै कर्म गरिरहेकै हुन्छ सोचेर, बोलेर वा गरेर । कर्म केवल शारीरिक क्रिया होइन यो त मन, बुद्धि र संस्कारको अन्तस्करणको प्रेरणादायी यात्राको समाधि हो । हिन्दु दर्शन, विशेषतः भगवत् गीता, उपनिषद् र वेदान्तमा कर्म र यसको फलप्रति एक विशेष दृष्टिकोण छ, जुन मानव अस्तित्वको मूलभूत सत्यतिर हामीलाई डोर्याउँछ।
कर्मका प्रकारहरू
कर्म भनेको यस्तो कुनै पनि क्रिया हो जुन व्यक्तिले आफ्नो शरीर, मन, वाणी वा बुद्धिमार्फत गर्छ, जसको परिणाम सकारात्मक वा नकारात्मक रूपमा ऊ आफैँले वा अरूले अनुभव गर्छ। यसलाई तीन भागमा विभाजन गर्न सकिन्छ:
1. मानसिक कर्म – सोच, भावना, सङ्कल्प, निर्णय आदि।
2. वाचिक कर्म – शब्द वा वाणीद्वारा गरिएको कार्य, जस्तै बोल्नु, आशीर्वाद दिनु वा गाली गर्नु।
3. कायिक कर्म – शरीरद्वारा गरिने क्रियाकलापहरू, जस्तै काम गर्नु, सेवा गर्नु, हिंसा गर्नु आदि।
मन आउने हरेक विचार,सङ्कल्प जस्तो हुन्छ, हाम्रो कर्म अनि त्यसैअनुसार आचरणको विकास हुने गर्दछ । कर्मले हरेक व्यक्तिको व्यवहारिकतासँग मेल खाने गर्दछ । त्यसैले कर्मले हरेक व्यक्तिको चरित्रलाई पनि गहिरो नजरले हेरिरहेको हुन्छ ।
कर्म र फलको आध्यात्मिक दृष्टिकोण
कर्म र फल यी दुई शब्द एक आपसका परिपूरक हुन जसको दृष्टिकोणमा मिहिनेत र परिश्रम अनि त्यसपछिको फललाई इङ्गित गर्ने गर्दछ ।
आध्यात्मिक दृष्टिकोणमा आत्माले शरीरको माध्यमबाट निरन्तर कर्म गरिरहन्छ। हरेक कर्म आत्मामा "संस्कार" (record) भएर बस्छ। ती कर्मले भविष्यमा फल ल्याउँछन् । "जस्तो हामीले कर्मको बिउलाई रोपिदिन्छौँ , त्यस्तै किसिमको फसल हाम्रो व्यवहारिकतामा रुपी रुखलाई ढाक्ने काम गरेको हुन्छ । "शुद्ध सङ्कल्प, शुद्ध कर्म र शुद्ध फल " । कुनै पनि कुराको नतिजा देखिन कर्म गर्नु नै पर्ने हुन्छ चाहे त्यो मानसिक,वाचिक वा व्यवहारिक होस् । त्यस कारण कर्मको मुख्य आधारशिला भनेको पहिलो तत्त्व भन्नू नै मन रुपी घोडा र बुद्धि रुपी लगाम हो ।
गीता अनुसार कर्म के हो ?
सर्व शास्त्र शिरोमणि श्रीमद्भागवत गीतामा "कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।"
गीतामा अर्जुनलाई गीता ज्ञान दाता भगवानुवाचले कर्मको बारेमा प्राथमिकता दिन तर फलप्रति आसक्त मात्रै नहौं भनेर सम्झाएको पाइन्छ । यदि हरेक व्यक्तिले कर्म अर्थात् वर्तमान राम्रो भयो भने फल अर्थात् भविष्य पनि सुनिश्चित नै छ । जस्तो हामीले आलु रोप्दा स्याहारसुसार गर्यौँ भने मात्रै नै धेरै आलु फलाउन सक्छौँ यदि स्याहारसुसार कमी भयो भने त्यसमा रोग लाग्न थाल्छ । त्यसैले हामीले कर्मरूपी गुणलाई राम्रो बनायौँ भने निखारता प्रदान गर्यौँ भने हाम्रो त्यसको फल पनि गुणस्तरीय रूपमा देखा पर्न सक्छ ।
कर्मलाई हामीले प्राथमिकतामा राख्न सकियौँ भने मात्र हो हाम्रो फल पनि राम्रो नै हुन्छ । कर्मले कहिल्यै नास हुँदैन, फल दिन्छ — आज, भोलि, या अर्को जन्ममा । । कर्म व्यवहारमा रहेर भगवानलाई याद गर्नु पनि मुख्य कर्म योगको सन्देश हो, जुन कुरा गीता माता उल्लेख गरिएको छ । हामी धेरै जनाको बानी कर्म गरिरहँदा फलप्रति मात्र चासो दिने गर्छौँ, कसरी कर्मलाई बलियो बनाउने सोच्दैन । त्यस कारण कर्म व्यवहारको ज्ञान नै मानवको सहज एवं उत्कृष्ट आधारशिला हो ।
कर्मको सिद्धान्तले हामीलाई चेतना, उत्तरदायित्व, र आत्म विकासको बाटोमा डोर्याउँछ । यो नियमले देखाउँछ कि हामी हाम्रो भाग्यका स्रष्टा हौँ, हाम्रो कर्म अनुसार जीवन बनाउने वा बिगार्ने सामर्थ्य हामीसँगै छ । हामीले अहिले जस्तो कर्म गर्छौँ, त्यसको फल केही समय भएपछि अवश्य मिल्नेछ गीताको मुख्य सन्देश भनेको नै कर्म नै हो जस्तो कर्म त्यस्तै फल । त्यसैले, सजग बनौँ, शुभ कर्म गरौँ, र जीवनलाई आध्यात्मिक रूपमा सार्थक बनाऔँ ।
लेखक: निश्चल ज्ञवाली
सैनामैना, रुपन्देही ।