रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ लिस्ने भिरमा भएको जिप दुर्घटनाका मृतकका परिवारलाई आठबिसकोट नगरपालिकाले राहत दिने भएको छ । आज बसेको १ सय ११ औँ नगरकार्यपालिका बैठकले दुर्घटनामा ज्यान गुमाएकाका प्ररिवारलाई प्रति परिवार २५ हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
आफूहरुको प्रस्तावमा नगर कार्यपालिका बैठकले प्रति मृतक परिवार २५ हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको आठबिसकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष केशरमान विकले जानकारी दिनुभयो । त्यस्तै बैठकले भूकम्पको पुनर्निर्माणमा जाने र मर्मतका सम्झौता तथा निर्माण प्रक्रिया सुरु गर्ने समेत निर्णय गरेको उहाँले बताउनुभयो ।
गत कार्तिक ७ गते रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदी जादै गरेको जिप दुर्घटना हुँदा वडा नम्बर १, २ र ३ का ८ जनाको मृत्यु भएको थियो । जिप दुर्घटनामा वडा नम्बर १ का ३ जना १६ वर्षीय टेकजंग बुढा, १५ बर्सिया दिलमाया बुढा र १५ बर्सिया कल्पना नेपालको मृत्यु भएको थियो ।
त्यस्तै वडा नम्बर २ का ४ जना २८ बर्सिया सविता विक, १७ बर्सिया मनिका ओली, १८ बर्सिया शर्मिला बिक र २२ वर्षीय गोपाल ओली तथा वडा नम्बर ३ की ३० बर्सिया कमला ओलीको मृत्यु भएको थियो ।
जिप दुर्घटनामा १७ बर्सिया सिर्जना बुढा, १५ बर्सिया सपना नेपाल, १८ बर्सिया जुना बुढा, १७ बर्सिया सङ्गीता बुढा, १९ बर्सिया शान्ति बुढा, १७ बर्सिया अञ्जना यरी, २० बर्सिया महिमा ओली, १७ बर्सिया मनीषा थापा, १५ बर्सिया सबिता बिक र ३४ वर्षीय चालक टोपजंग बुढा घाइते भएका थिए ।





