
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ को आयोजनामा खुला वडाध्यक्ष कप पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । यही जेठ ९ र १० गते मुसिकोट खलङ्गाको बराहटाकुरा कवर्डहलमा प्रतियोगिता हुने भएको हो । वडाले ब्याडमिन्टन खेलको विकासका लागि प्रतियोगिता आयोजना गर्दे आएको छ ।
प्रतियोगिताको विजेता जोडीले १७ हजार नगद, कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडा सचिव कमल पुनले जानकारी दिनुभयो । उहाँका अनुसार उपविजेता जोडीले नगद ८ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना दुई जोडीले समान २ हजार ५ सय सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । दर्ता शुल्क १ हजार ताेकिएकाे छ ।
गत वर्ष जस्तै यो वर्ष पनि प्रतियोगिता आयोजना गरिएको वडाले जनाएको छ । वडा कार्यालयका अनुसार प्रतियोगितामा सहभागिताका लागि जेठ ८ गते साँझ ५ बजेसम्म टिम दर्ता गर्न सकिने छ ।