
स्थानीय तहहरुले आज नीति, कार्यक्रम तथा बजेट ल्याउँदै छन् । संवैधानिक व्यवस्था अनुसार असार १० गते भित्र पालिकाहरुले नीति कार्यक्रम र बजेट ल्याउनुपर्ने हुन्छ । केही पालिकाहरुले आफ्नो अनुकुलतामा यसअघि नै नीति कार्यक्रम र बजेट सभामा पेस गरिरिसकेका छन् ।
बाँकी पालिकाले आज गाउँ तथा नगर सभामा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पेस गर्न लागेका हुन् । रुकुम पश्चिमका ६ पालिका मध्ये चौरजहारी नगरपालिकाले नीति, कार्यक्रम र बजेट नगर सभाबाट पास गरिसकेको छ ।
सानीभेरी गाउँपालिकाले शनिबारको गाउँसभामा नीति तथा कार्यक्रम पेस गरेको छ भने बजेट आज ल्याउने तयारी गरेको छ । त्रिवेणी गाउँपालिकाले सोमबार नीति कार्यक्रम ल्याएको छ भने आज बजेट गाउँसभामा पेश गर्ने जनाएको छ ।
बाँफिकोट गाउँपालिका र आठबीसकोट नगरपालिकाले पनि आजै नीति कार्यक्रम र बजेट ल्याउने जानकारी गराएका छन् । यसरी सभामा पेश भएको नीति तथा कार्यक्रम र बजेट नगर तथा गाउँ सभामा प्रयाप्त छलफल गरी असार मसान्तसम्म पास गर्नुपर्ने हुन्छ ।
यसरी पास भएको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट साउन १ गतेबाट कार्यान्वयनमा आउने छ ।