
रुकुम पश्चिममा श्रीमानबाट श्रीमतीको हत्या हुँदा बिचल्लीमा परेका बालबालिकाका लागि सहयोग जुट्ने क्रम जारी छ । बुवाबाटै आमाको हत्या भएपछि बिचल्लीमा परेका बालबालिकाका लागि देश तथा विदेशबाट सहयोग जुटिरहेको छ । व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग सङ्कलन भइरहेको छ ।
चौरजहारी नगरपालिका वडा नम्बर ३ टाटागाँउका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नै श्रीमती ३० बर्सिया देवीका बुढाथोकीको गत मङ्गलवार हत्या गरेपछि २ छोरी र एक छोराको बिचल्ली परेको छ । चौरजहारी नगरपालिकाको पहलमा जेठी छोरी रेजिना बुढाको नाममा नेपाल बैंकमा खाता खोलिएको छ । उक्त खातामा सहयोग सङ्कलन भइरहेको छ ।
उक्त खातामा चौरजहारी नगरपालिकाका कर्मचारीबाट ५० हजार २ सय ७६ रुपैयाँ जम्मा गरिएको छ । त्यस्तै नगरपालिकाले क्रिया खर्च तथा खाद्यान्न समेत सहयोग गरेको छ । त्यस्तै आइतबार नेकपा माओवादी केन्द्र चौरजहारी नगरपालिकाले ५० हजार सहयोग गरेको छ । अमेरिकाबाट पनि सहयोग भइरहेको छ । चौरजहारी निवासी हाल अमेरिकामा रहनुभएका ज्ञानु गौतमले ४१ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ ।
छुट्टाछुट्टै सहयोग सङ्कलन भन्दा पनि सम्बन्धित खातामा मात्र सहयोग गर्न चौरजहारी नगरपालिकाले अपिल गरेको छ ।