
म जनयुद्धपछि जन्मिएको पुस्ता हुँ, तर म जनयुद्धको आवाजमा हुर्किएको छु । म त्यो पुस्ताको प्रतिनिधि हुँ, जसले जनयुद्धको प्रत्यक्ष अनुभव त पाएन, तर त्यसले ल्याएको परिवर्तनको स्वाद चाखिरहेको छ । म त्यो चेतनाको हिस्सा हुँ, जुन माओवादी आन्दोलनले समाजमा रोपिदियो । म माओवादी यसकारण भएँ कि माओवादी आन्दोलनले सदियौँदेखि दबिएका समुदायहरूलाई स्वर दियो । कसरी महिला, दलित, जनजाति, मधेसीह, मुस्लिम, अपाङ्ग लगायत पहिचान विहीनहरूले माओवादीको ब्यानरमा एकजुट भएर आफूलाई अभिव्यक्त गर्न पाए ।
मैले बुझें, जनयुद्ध केवल बन्दुकको कथा होइन, त्यो त विचार, समानताको खोजी र शोषणविरुद्धको विद्रोह थियो । जनयुद्धले खोलिदिएको बाटोले नै आज हामी समावेशी, समानुपातिक र धर्मनिरपेक्ष नेपालको गर्व गर्न सक्छौँ । आज संविधानले महिलाको समान सहभागिता सुनिश्चित गरेको छ, दलितलाई कानुनी अधिकार प्राप्त भएका छन्, मधेसी र जनजातिको भाषा र संस्कृति सम्मानित छन्, अपाङ्गता भएका व्यक्तिहरूको पहुँच विस्तार भइरहेको छ । यी सबै उपलब्धि माओवादी आन्दोलनले रोपेको बीउ हुन्, जुन आज गमलामा फूलिरहेका छन्।
मैले यो समाजमा आफूजस्ता युवाहरूलाई स्वतन्त्र बोल्ने, सोच्ने, लेख्ने र अगाडि बढ्ने वातावरण पाएको छु। म एकजना किसानको छोरो हुँ, तर आज म नेतृत्व गर्ने सपना देख्न सक्छु। यही सम्भावना माओवादी आन्दोलनले सिर्जना ग¥यो । म धर्मनिरपेक्ष नेपालको नागरिक हुँ। म कुनै धर्म विशेषको कारण राज्यको नजरमा दोस्रो दर्जाको छैन। म आफ्नै पहिचानमा गर्व गर्न सक्छु। यही अधिकारको जग माओवादी आन्दोलनले राखेको हो ।मैले सुनेको छु कतिपयले माओवादी आन्दोलनलाई केवल हिंसाको रूपमा चित्रण गर्छन्। तर म जान्दछु, त्यो हिंसाभित्र थिचिएका आवाजहरूको चिच्याहट थियो। त्यो विद्रोह आवाजविहीनहरूको चर्को चिच्याहट थियो, जसले व्यवस्था नै बदलिदियो । अनि जनयुद्धकै जगमा टेकेर मूलकमा थुप्रै परिवर्तन आए । माओवादीले सरकारको नेतृत्व गर्दा जलविद्युत उत्पादनमा जोड दिई, चरणबद्ध रूपमा लोडसेडिङ घटाउँदै उज्यालो नेपाल बनायो। भ्रष्टाचारविरुद्ध कडा अभियान सञ्चालन गरियो। सार्वजनिक सेवा क्षेत्रका अनियमितता हटाउने प्रयास गर्दा जनतामा भरोसा बढ्न थाल्यो । शिक्षा क्षेत्रमा सुधार देखियो शैक्षिक सत्र सुरु हुनु अगावै पुस्तक गाउँ–गाउँ पुर्याइयो। त्यसैगरी, खानेपानी, सडक, स्वास्थ्य र शिक्षा सुधार लगायतका जनमुखी योजना ल्याइए, जसले गरीब तथा दुर्गम क्षेत्रका जनतालाई प्राथमिकतामा राख्यो । समग्रमा, माओवादी सरकारका प्रयासहरूले देशमा संरचनात्मक रूपान्तरण र आधारभूत सेवाको पहुँचमा सुधार ल्याएको छ ।
यस कारण म माओवादी हुनुमा गर्व गर्छु ।
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता ल्यायो ।
दलित, महिला, जनजातिलाई अगाडि ल्यायो।
जनताले लेखेको संविधान बनायो ।
भ्रष्टाचारविरुद्धको अभियान चलायो ।
लोडसेडिङ अन्त्यमा भूमिका खेलेयो ।
वर्गीय समानताको पक्षमा उभिएयो ।
शोषण र अन्यायको विरुद्ध आवाज माओवादीले उठायो ।
डाँगी रुकुम पश्चिमको चौरजहारी नगरपालिका निवासी हुनुहुन्छ ।