Kakhara सबैको खबर सम्पूर्ण खबर
खलंगा बजार व्यवस्थापन : सात  दिन भित्र नापी तथा मालपोतको जग्गामा रहेका टहरासहित सडक छेउछाउका संरचना हटाइने 
खलंगा बजार ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा यातायात तथा बजार व्यवस्थापन सम्बन्धी बैठक सम्पन्न भएको छ । आज प्रशासनमा बसेको बैठकले विभिन्न ५ वटा महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले सरकारी एवं सार्वजनिक जग्गामा बनेका घर टहरा हटाउने निर्णय गरेको छ । जनगुनासो सम्बोधन, सडक दुर्घटना न्यूनीकरण र कानुनको प्रभावकारी कार्यान्वयनका लागि समेत पहल कदमि चाल्ने निर्णय गरेको छ । 

बैठकले खलङ्गा बजार क्षेत्रका सडक छेउछाउमा नाप नक्सा विपरीत सडकको दायाँ बायाँ किनारामा अस्थायी रूपमा निर्माण भएका संरचनाहरू (सहिद मैदानस्थित मालपोत र नापी कार्यालयका नाममा रहेका जग्गा समेतमा) हटाउने  निर्णय गरेको छ । यस अघि मुसिकोट नगरपालिकाले वैशाख ५ गते १५ दिनको सूचना निकालेर संरचना हटाउन भनेको थियो । 

उक्त सूचनाको बेवास्ता गरी ती संरचनाहरू हटाएको छैन । ती नहटाएका संरचनाहरू ७ दिनको सूचना मार्फत जानकारी दिई हटाउन लगाउने निर्णय गरिएको छ । सोही समय सीमा भित्र संरचना नहटाए जिल्ला प्रहरी कार्यालयको समन्वय एवम् सहकार्यमा मुसिकोट नगरपालिकाले हटाउने निर्णय गरिएको छ । साथै अन्य स्थानीय तहलाई पनि आ–आफ्नो क्षेत्रमा सडक विस्तार एवम् बजार व्यवस्थापन र विपद् व्यवस्थापनको पूर्व तयारी र प्रतिकार्यमा खट्न स्थानीय सुरक्षाकर्मीको समन्वयमा अग्रसरता लिन अनुरोध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जानकारी दिनुभयो  ।

 उहाँका अनुसार  त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित कार्यदलले गत कात्तिकमा भएको निर्णयबाट मूल समितिमा प्राप्त जिल्लास्थित सडक मार्गहरूको अटो तथा ट्याक्सीका हकमा सम्बन्धित स्थानीय तहले भाडा दर कार्यान्वयनमा ल्याउन अनुरोध गर्ने,  सीमा क्षेत्रमा अटो तथा ट्याक्सीको भाडा दर सम्बन्धित स्थानीय तहको आपसी समन्वय एवम् सहकार्यमा निर्धारण गर्ने, कार्यदलबाट प्रस्तावित अन्य भाडा दरलाई अनुमोदन  गरेर साउन १ बाट प्रभावकारी कार्यान्वयन गर्ने गराउने,  सम्पूर्ण सवारी साधनहरूले अनिवार्य रूपमा परिमार्जित भाडा दर सबैले देख्ने  गरी सवारी साधनभित्र टाँस गर्ने समेत निर्णय भएको छ  । 

त्यस्तै  जिल्लाका यातायात व्यवसायीहरूले मनोमानी रूपमा भाडा असुल गरेको भन्ने जनगुनासो प्राप्त भएकोले सोको अनुगमन गरी त्यस्ता गतिविधि भए÷गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने  गर्ने समेत निर्णय भएको प्रजिअ जिसीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update